© 2026
देशको मेरुदण्ड शिक्षालाई मान्ने गरिन्छ । किनकि यसबाट सबैतिर प्रभाव पर्दछ । शिक्षाको प्रभावले गर्दा सर्वत्र सपार्न वा बिगार्न सकिन्छ । बिगार्न पनि शिक्षा चाहिन्छ । कसैलाई यो कुरा आश्चर्य लाग्न सक्छ । तर वास्तविक कुरा यही हो ।
जति निर्माणमा शिक्षाको काम हुन्छ त्यत्तिकै बिगार्न पनि शिक्षा चाहिन्छ । आज विश्वमा हतियारको होडबाजी भइरहेको छ । त्यो हतियारले निर्माण गरेको कतै छैन । जहाँ पनि बिगार वा ध्वंस गरेको छ । त्यो ध्वंस गर्ने कार्यलाई अगाडि बढाउन वा हतियार निर्माणदेखि चलाउन पनि त शिक्षा चाहिन्छ । ध्वंस पछि निर्माण गर्नुपर्ने हुन्छ त्यति वेला पनि शिक्षा चाहिन्छ ।
सामान्य दैनिक कार्य सञ्चालन गर्नका लागि पनि शिक्षाको आवश्यकता पर्दछ । दक्ष जनशक्तिदेखि स्वास्थ्य तथा हवाई क्षेत्रमा समेत शिक्षा चाहिन्छ । सामान्य बाली उत्पादनदेखि ठुला फर्म सञ्चालनसम्म शिक्षाबाट सम्भव हुन्छ । यस कारण शिक्षा देशको मेरुदण्ड हो भनिएको हो । यसलाई सिथिल बनाउने हो भने सबै क्षेत्र अस्तव्यस्त वा सिथिल हुनजाने पक्का छ ।
हामीले सबैभन्दा पहिले हाम्रो नीति कस्तो बनाउने ? के के कुरामा हामीलाई दक्ष जनशक्ति चाहिन्छ र कुन क्षेत्रमा लागेपछि स्वरोजगार बन्न र बनाउन सकिन्छ ? भन्नेवारेमा राज्यले मेहनतकासाथ नीति तयार गर्नुपर्दछ । यो भन्दा पहिले हाल लागू गरिएको शिक्षा नीतिका बारेमा विश्लेषण हुन जरुरी छ । हाम्रो मुलुकको शिक्षाले हालसम्म के उपलब्धि दिएको छ ? हाम्रो शिक्षा पद्धति र हाम्रो कार्यशैलीले शिक्षाको लक्ष हासिल हुन सकेको छ या छैन ? यसका बारेमा व्यापक वहस र छलफल हुन आवश्यक छ ।
यसरी यस विषयमा वहस तथा छलफल भयो भने मात्र आगामी दिनमा गरिने कार्यको बारेमा कार्य योजना तयार गर्न सकिन्छ । नेपालमा औपचारिक शिक्षा आरम्भ भएदेखि हामीले शिक्षालाई प्रयोगको रूपमा मात्र लिन सकेका छौं । कतिपय कुराहरू विदेशी सहयोग विना चल्न नसक्ने समेत भएको छ । कतिपय अवस्थामा त शिक्षक दरवन्दी पनि विदेशीको मुख ताक्नु पर्ने अवस्थामा थिए ।
परनिर्भर मुखी शिक्षाले दिने सन्देश के हो ? हामीले प्रयोगको रूपमा चलाएको शिक्षाले उत्पादन गरेका जनशक्तिले अव धान्न सक्छ कि सक्दैन ? वर्तमान अवस्थामा उब्जिएको महत्त्वपूर्ण प्रश्न यही हो ।
अन्य मुलुकको तुलनामा हाम्रो मुलुकको शिक्षा प्रतिस्पर्धा गर्न लायक छ कि छैन ? अन्य मुलुकका विद्यार्थीले उत्तीर्ण गरेको तहले दिएको क्षमता र हाम्रो मुलुकको विद्यार्थीले उत्तीर्ण गरेको तह सोही क्षमताको छ या कमजोर छ ? तहगत उद्देश्यले हासिल गराउन भनिएका कुराहरू हामीले हासिल गराउन सकेका छौं या छैनौ ? यसका वारमा राम्रो विश्लेषण हुनुपर्दछ ।
शिक्षा हासिल गर्ने तरिका फरक भए पनि तहगत उद्देश्यले विद्यार्थीको उचाइ बढाउने कुरा एकै हुनुपर्दछ । उदाहरणको लागि नेपालको कक्षा ७ उत्तीर्ण विद्यार्थीले अन्य मुलुकको विद्यार्थीले सोही परीक्षा पास गरेर आर्जन गरेको उपलब्धि वरावर हाम्रो विद्यार्थीको उपलब्धि छ कि छैन ? यो पनि एउटा मापनको विधि हो ।
हामी पञ्चायतकालमा शिक्षा आर्जन गरेको र पञ्चायतकालमा शिक्षण गर्ने तरिका र बहुदलीय व्यवस्था र लोकतन्त्र आगमपछि लागू गरिएको पाठ्यक्रम नियालेको व्यक्ति भएकाले विगत पञ्चायतकाल देखिको चित्र अहिले पनि नाचिरहको छ । त्यतिवेलाका पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षणविधि, तहगत उद्देश्य र मूल्यांकनका विधिहरूमा कति फरक छन् ? भनेर कसैले प्रश्न गरेमा सहजै भन्न सकिन्छ जमिन र आकासको फरक जत्ति छ भनेर । तर यति भए के शिक्षाको गुणस्तर कायम भयो त ? प्रश्न अर्को आउन सक्छ ।
गुणस्तर कामय भएको छैन र यो ढाँचाबाट गुणस्तरीयता कायम पनि हुन सक्दैन भन्न सकिन्छ । विगतदेखि केही सुधारको आकार लिए पनि हाम्रो सिकाइ उपलब्धि गुणस्तरीय शिक्षाको छैन । वास्तवमा शिक्षाको क्षेत्रमा काम गर्ने र यसका जानकारहरूले यही जवाफ दिने छन् । किनकि यो भन्दा अर्को जवाफ दिने ठाउँ पनि छैन । हामीले उत्पादन गरेको विद्यार्थीले स्वरोजगार बन्न त के बन्छन् भन्ने सन्देश पनि पाएका छैनन् । यो सन्देश सबै भन्दा पहिले दिन आवश्यक छ । शिक्षामा गुणस्तरीता वा गुणस्तरीय शिक्षा भन्ने कुरा त्यति वेला मात्र हुने छ जतिवेला हाम्रो शिक्षाले स्वरोजगार बन्न सघाउने छ । हामी अहिले जुन शिक्षा हासिल गरिरहेको छौं यो त खाली परनिर्भर मुखी बन्ने मात्र हो । आज आएर शिक्षा हासिल गरेका युवाहरू आफ्नो कामगर्न आफै लजाउँछन् । सकेसम्म काम गर्न नपरोस भन्ने चाहन्छन् ।
काम भनेको आफ्नो बावु आमाको मात्र हो उनीहरूको ठेक्कामा यो काम हुने गरेको छ भन्ने बुझेका छन् । वास्तवमा शिक्षाले लाजलाई टाढा भगाउनु पर्दछ । आफ्नो कार्य आफै गर्नु पर्दछ भन्ने कुरा विदेशीहरूले राम्ररी बुझेका छन् यसर्थ उनीहरूले थोरै भए पनि स्वरोजगारको मार्ग समाएका छन् । हामीकहाँ शिक्षामा गुणस्तरीता भन्ने कुरा सपनामा (कल्पनामा) मात्र सिमित छ । त्यसलाई व्यवहारबाट चिन्न बुझ्न र जान्न सकेका छैनौं । पञ्चायत काल र त्यो भन्दा पछि पनि गुणस्तरीयतालाई खासै ध्यान दिएको जस्तो लाग्दैन ।
विगतका सरकारले शिक्षाको क्षेत्रमा फड्कोमार्न नसकेको अति सत्य हो । हुन त उनीहरूले विभिन्न वहानावाजी वनाएर शिक्षाको गुणस्तरीता कायम गरेका छन् भन्न सक्छन् तर यो सत्य होइन । हामीले अति मेहनताका साथ अध्यापन गर्दा पनि गुणस्तरीताको शिक्षाको लक्ष्यमा पुग्न सकिएको छैन । पञ्चायतकालमा सबै कुरा एसियाली मापदण्ड भन्ने गरिन्थ्यो ।
आधारभूत आवश्यकता र एसियाली मापदण्डमा लैजाने कुरा सबै पञ्चहरूबाट आउने शब्द हो । त्यो शब्दको उच्चारण कहिले दुरूपयोग गरेको जस्तो पनि लाग्दथ्यो । कसैले कहिल्यै एसियाली मापदण्डमा लगेको पनि देखिएन र मुलुक त्यो मापदण्डमा गएको पनि थाहा भएन । बहुदलीय व्यवस्था आएपछि पाठ्यक्रममा केही सुधार भएको चाहिं पक्का हो तर त्यो गुणस्तरीयता नाप्ने खालको पनि भएन र एसियाली मापदण्ड भन्ने कुरा भित्रपनि परेन । केही समय त शिक्षालय आफ्ना हुक्के, चम्चे र आसेपासेहरूलाई भर्ति गरेर शिक्षा ध्वंस पार्ने काम भयो भन्दा अन्यथा हुनेछैन ।
केही सयम त शिक्षकहरूका संस्थाको आधारबाट उनीहरूलाई सरुवा र घटुवा गर्ने काम पनि भयो । हिंजो त्यो ताण्डव नृत्य देखाउनेहरूसंग आज कुनै जवाफ छैन । किन त्यसरी सरुवा र घटुवाको चक्र चलाइयो । हरेक सरकारले शिक्षा राजनीतिबाट टाढा हुनु पर्दछ भनरे खुब व्याख्या गरे तर अन्तमा गएर उनीहरूले नै वर्तमान अवस्थाका बारेमा आफूलाई चोखो राख्न सकेनन् ।
केही समय त प्रजातन्त्रवादीहरूले स्वाभिमानी शिक्षकहरू माथि अपायक सरुवा, घटुवा र खोसुवाको डण्डा चलाएका हुन् । त्यसले शिक्षा क्षेत्र झन तहसनहस पार्न सक्यो । पुराना दलहरूलाई विस्थापित गरेर वर्तमानमा राष्ट्रिय स्वतन्त्र पार्टीको बहुमतको नयाँ सरकार आएको छ । यसले शिक्षाक्षेत्रमा फड्को मार्ने भनेको छ । कसरी फड्को मार्छ केही रूप र आकार देखाइसकेको छ ।
यो सरकारका धेरै दरिला खुट्टी त देखिदैनन् । यसले आउँदा दिनहरूमा शिक्षा क्षेत्रमा आमूल परिवर्तन ल्याउन सक्यो भने टाढैबाट भए पनि जिन्दावाद भनौंला । स्यालौट गरौंला । अहिले यो व्यवस्था टिकाउन सरकारले ध्यान दिंदै शिक्षामा आमूल परिवर्तनको खाका कोर्न सफल रहोस । नतिजाले यी कुराहरू देखाउनेछन् ।