© 2026
प्रमुख सञ्चार माध्यमका कार्यालय, प्रमुख प्रतिपक्षी दलका सभापतिको निवास, उद्यमी–व्यवसायीका कार्यस्थल अगाडि सोमबार बिहान नियोजित रूपले शङ्कास्पद गाडीहरू तेर्स्याउने काममा सत्ता पक्षसँग नजिकका व्यक्तिको संलग्नता जोडिएको विषयले गम्भीर आशङ्का पैदा गरेको छ ।
यो घटनामा सरकार पक्ष जोडिएको हो भने त्यो सरासर लोकतन्त्रको घाँटी रेट्ने दुस्प्रयत्न हो । सरकारलाई हेक्का हुनुपर्छ– ज्ञानेन्द्र शाहको निर्मम तानासाही शासनकालमा प्रेसले सेनाको अगाडीबाटै लोकतन्त्रका पक्षमा जनताको बिगुल फुक्ने काम गरेको थियो । त्यो चरम निरंकुशता व्यहोरेर आएको नेपाली प्रेस संघीय लोकतान्त्रिक शासन व्यवस्थामा किञ्चित बिचलित हुँदैन ।
यसको नेपाली प्रेस र लोकतन्त्र पक्षधरले सशक्त प्रतिवाद गर्ने दिन आएको छ । देशले स्थीरता, सुशासन र समृद्धि खोजिरहेको वेला देशमा पुनः राजनीतिक द्वन्द र अस्थीरताका बादलहरू मडारिन थाल्नु चिन्ताको कुरा हो ।
कुनैपनि देशको शासकले आफ्नो निरंकुशता फैलाउन सवैभन्दा पहिला प्रेसमाथि आक्रमण गर्छ, प्रेसको घाँटी निमोठ्ने प्रयत्न गर्छ । के अहिले नेपालमा पनि त्यस्तै निरन्तरताको प्रयास भएको हो ? यदि हो भने त्यो नेपाली प्रेसलाई होइन, यस प्रकारको दुष्प्रयत्न गर्ने शासकले आफ्नै खुट्टमाथि बञ्चरो प्रहार गरेको हो भन्दा अत्युक्ति हुँदैन । शासकले इतिहासबाट पाठ सिक्नुपर्दछ ।
२००७, ०४६ र २०६२/०६३ को जनताको आन्दोलनले स्थापित गरेको लोकतान्त्रिक गणतन्त्र, देशको स्वाधीनता र जनताको सुख समृद्धिको गला रेटने यस प्रकारको कदम कतै सैह्य हुँदैन । नेपाली जनताले त्यो अस्वीकार गरिसकेका छन् ।
सरकारको हिम्मत छ भने मिडियालाई त्रसित बनाउनेमाथि कारबाही गरोस् । गाडी मालिकको पहिचान भैसकेको छ । गाडी मालिक कुन दलसंग नजिक छन, त्यो पनि स्पष्ट भैसकेको छ, गर्न खोजिएको कुरा के हो भन्ने समेत छर्लङ्ग भैसकेको छ । अतः यसमा बिलम्ब नगरि बालेन सरकारले हिम्मत गरोस् । प्रेसलाई तर्साउन खोज्नेलाई कारवाही गर्ने हिम्मत सरकारसंग छ ? प्रश्त उठेको छ ।
जनताले सरकारको प्रतिक्षा गरिरहेका छन । यो घटनाको प्रकाशन तथा प्रसारण संघ लुम्बिनीले पनि भत्र्सना गरेको छ । स्वतन्त्र, निष्पक्ष र जिम्मेवार सञ्चारमाध्यम लोकतन्त्रको आधारस्तम्भ हुन । कुनैपनि बहाना वा असन्तुष्टिको नाममा सञ्चार संस्थाको नियमित कार्यमा अवरोध पु¥याउने, पत्रकार तथा सञ्चारकर्मीलाई मानसिक दबाबमा पार्ने वा सञ्चारमाध्यमलाई त्रसित बनाउने गतिविधि नेपालको संविधानले प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विपरीत भन्दै संघले तत्काल यस पछाडीको घटनामा जोडिएका पात्रमाथि कारवाहीको माग गरेको छ ।
कुनै सञ्चारमाध्यमको समाचार, सम्पादकीय नीति वा प्रकाशन सामग्रीप्रति असहमति भए त्यसको समाधान कानुनी, संवैधानिक तथा लोकतान्त्रिक प्रक्रियाबाट खोजिनुपर्छ । तर, दबाब, घेराउ, अवरोध, धम्की वा त्रास सिर्जना गरी सञ्चार माध्यमलाई प्रभावित पार्ने कार्य सभ्य लोकतान्त्रिक समाजमा स्वीकार्य हुँदैन भन्ने प्रकाशन तथा प्रसारण संघको धारणा आम संचारकर्मीको धारणा पनि हो ।
संघले सम्बन्धित निकायसँग घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न तथा यस्ता घटना पुनः नदोहोरिने गरी सञ्चार संस्थाहरूको सुरक्षा सुनिश्चित गर्न माग गरेको छ । यस प्रकारका घटनाले सञ्चार माध्यमलाई त्रसित बनाउने दुष्प्रयास सफल हुँदैन । नेपाली प्रेस किञ्चित बिचलित छैन र भोलीको दिनमा पनि हुँदैन भन्ने कुरा विगतको इतिहास मूल्याँकन गरे काफी हुन्छ ।
कुनै एउटा मिडिया हाउसको अगाडी भएको भए सायद यो संयोग मानिन्थ्यो तर एकै समयमा उस्तै तरिकाले गरिएको पार्किङले प्रेसलाई बिचलित बनाउने दुष्प्रयत्न मात्रै हो भन्ने कुरा स्पष्ट भैसकेको छ । यो ‘विनासकाले विपरित बुद्धि नहोस्’ । सरकार यदि प्रेस स्वतन्त्रताप्रति प्रतिवद्ध हो भने यो घटनाको तत्काल छानविन गरि दोषीमाथि कडा कारवाही गरोस् । नेपाली जनताले बुझिसकेका छन–आँ गरे अलंकार गरिरहनु पर्दैन । प्रेसमाथि निर्मम हुने प्रयास गरे आफ्नै लागि घातक हुनेछ । तसर्थ सरकार प्रेसलाई जिस्क्याउने काम नगर ।