Butwal Today

डेंगु नियन्त्रण प्रभावित हुने चिन्ता 

३० असार २०८३, मंगलवार
अ+
अ-

यतिबेला डेंगु नियन्त्रणका लागि खोज र नष्ट गर अभियान संचालन हुनुपर्ने हो तर पालिकाहरू बेखबर जस्तै बन्दा डेंगु नियन्त्रणको योजना प्रभावित हुने चिन्ता उत्पन्न भएको छ । यो बर्ष डेंगुबाट ६ महिनामा दुई जनाको मृत्यु भएको छ । १२ सयभन्दा बढी सङ्क्रमित भएका छन् ।

जोखिम पूर्व नियन्त्रणको तयारी सुरु हुनुपर्नेमा यति बेलासम्म चुपचाप हुनु डेंगु जोखिमलाई आमन्त्रित गर्नु हो भन्दा अत्युक्ति हुँदैन । तसर्थ डेंगु नियन्त्रणका लागि अभियान सुरु गर्ने बेला भैसकेको छ । अव पालिकाहरू चुप लागेर होइन, खोज र नष्ट अभियानसँगै समुदायमा सरसफाईको अभियान सञ्चालन गर्न प्रेरित गर्नुपर्ने बेला भैसकेको छ ।

स्वास्थ्य मन्त्रालयले ७५३ वटै पालिकालाई पत्र लेख्दै डेंगी महामारीको जोखिम रहेको भन्दै तीन महिनासम्म जनचेतना तथा ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न अनुरोध गरेको छ । स्वास्थ्य अधिकारीहरूका अनुसार वर्षायाम सुरु भएसँगै डेंगीसहित अन्य किटजन्य रोगको जोखिम बढेको छ । डेंगु नियन्त्रणको अभियान तराईका जिल्लामा मात्रै होइन, पहाड र हिमालका जिल्लामा पनि सुरु गर्नुपर्ने आवश्यकता महसुस भैसकेको छ ।

लामखुट्टेको टोकाईबाट हुने डेंगु तराईका जिल्लामा मात्रै होइन पछिल्लोसमय पहाडी र हिमाली जिल्लामा पनि जोखिमकै रूपमा देखिएको छ । तराईमा यो प्रकोपकै रूपमा देखापर्ने गर्दछ । अहिले बर्षाको मौसम सुरु भैसकेकोले सरकारी तथा नीजि अस्पतालमा डेंगुका विरामी उपचारका लागि आउनेक्रम सुरु भएको छ । नेपालका तराईका जिल्लाहरूमा डेंगुको संक्रमण यसरी नै बढ्दै जाने हो भने यसले भयावह अवस्था सिर्जना गराउन सक्छ । यद्यपि एक तथ्याँकका अनुसार रूपन्देहीमा डेंगुको संक्रमण घट्दो अवस्थामा छ ।

तरपनि यो विषयमा संघीय सरकार, प्रदेश र स्थानीय पालिकाहरूको गंभीर ध्यान जानु जरुरी छ । त्यसो त रूपन्देही, चितवन, पश्चिम नवलपरासी र कपिलवस्तु जिल्ला डेंगु रोगको संभावित जोखिमयुक्त जिल्ला हुन । लामखुट्टेले टोकेपछि सर्ने यो रोग नियन्त्रणका लागि सम्वन्धित जिल्लाका स्वास्थ्य संस्थाहरूको ध्यानाकर्षण हुनु जरुरी देखिएको छ । स्वास्थ्य मन्त्रालयले डेंगु नियन्त्रण र सचेतनाका कार्यक्रम सञ्चालन गर्न अनुरोध समेत गरिसकेको अवस्थामा पालिकाहरू अहिलेसम्म मौन हुनु चिन्ताको कुरा हो ।

डेंगु ज्वरो एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने सरुवा रोग हो । एडिस लामखुट्टेले दिनमा मात्र टोक्ने भएकाले डेंगु सङ्क्रमणबाट आफू र आफ्ना परिवारलाई जोगाउन लामखुट्टेको टोकाइबाट बच्न, सुत्दा झुलको प्रयोग गर्न, लामखुट्टेको टोकाइबाट बचाउने धुप तथा झोलको प्रयोग गर्न, घरको वरपर पानी जम्न नदिने, पूरै बाहुला भएको अथवा लामो बाहुला भएका कपडा लगाउन र डेँगुका कुनैपनि लक्षण देखिएमा उपचारका लागि स्वास्थ्य संस्थामा जानको लागि स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

हरेक बर्ष जस्तै यो बर्षपनि पालिकाहरूले समयमै यो अभियान सुरु गर्नु जरुरी छ । यद्यपि अभियान सुरुवात गर्न ढिलो भैसकेको छ । खोज र नष्ट गर अभियानसँगै स्थानीय समुदायमा डेंगुले गर्ने स्वास्थ्य जोखिमका बिषयमा पनि सचेतनाका कार्यक्रम लैजानु जरुरी छ ।

डेंगु नियन्त्रण वास्तवमा राष्ट्रिय चुनौति बन्दै आएको अवस्था र यो देशका ७७ मध्ये ७६ वटा जिल्लामा देखिनु भनेको यसको जोखिम कति छ भन्ने संकेत गर्दछ । यसमा सिंगो सरकार र नागरिक समाजको ध्यानाकर्षण हुनु जरुरी देखिएको छ । लामखुट्टेको बासस्थान रहेको गमला, थोत्रा टायर, थोत्रा प्लास्टिक तथा टिनका डव्वा, अलकत्राका ड्रमहरूमा जम्मा हुने फोहोरो पानी समयमै फाल्ने व्यवस्था गर्नु जरुरी छ ।

यिनै स्थानमा लामखुट्टेले फूलपार्ने सम्भावना बढी हुन्छ । त्यसैले डेंगुले मानिसको ज्यान समेत लिन सक्ने भएकाले डेंगु नियन्त्रणका लागि अव पालिकाहरूले अभियान सुरु गरुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?