© 2026
नेपाली भाषा साहित्यको क्षेत्रमा आदिकवि भानुभक्त आचार्यले पु¥याएको योगदान सायदै बिर्सन सकिएला । खास गरी नेपाली भाषाको विकासमा उनको योगदान अतुलनीय छ । आज आदिकवि भानुभक्त आचार्यको २१३ औं जन्म जयन्ती पनि हो ।
उनको जन्मोत्सवको अवसरमा उनको जति नै प्रशंसा र चर्चा गरेपनि त्यो कम हुन्छ । नेपाली साहित्य सर्जकहरूले आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी भानु जयन्ती मनाउँदै छन् ।
नेपाली भाषामार्फत राष्ट्रिय एकता कायम गर्न भानुभक्तले गर्नुभएको योगदान अविस्मरणीय छ । सभ्य समाज निर्माणका लागि उहाँले दिनुभएको सन्देश पनि उत्तिकै महत्त्वपूर्ण रहेको छ । भाषिक एकतामार्फत भानुभक्तले गर्नुभएको योगदानलाई जीवन्त राख्नुपर्ने आवश्यकता छ ।
जन्म जयन्ती मनाउँदै गर्दा भानुभक्तको योगदानलाई चिरस्थायी बनाउँदै उनको जन्मस्थान चुँदी रम्घालाई साहित्यिक पर्यटकीय स्थलका रूपमा विकास गर्न ढिलाई गरिनुहुँदैन । भानुभक्तले नेपाली साहित्यकाशलाई थुप्रै कृति सुम्पेर गएका छन् । भानुले संस्कृत भाषामा लेखिएको रामायणलाई भावानुवादसहित नेपाली भाषामा प्रस्तुत गरेका थिए । यो उनको नेपाली भाषालाई दिएको ठुलो योगदान हो ।
उनले लेखेको रामायण अहिले पनि नेपालीको घरघरमा लयका साथ पाठ गर्ने गरिन्छ । यद्यपि रामायण पाठ गर्ने चलन हराउँदै सामाजिक सञ्जालमा रमाउने चलन बढिरहेको छ । यो राम्रो होइन । जेहोस पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेका थिए ।
विसं. १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मिएपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती उपदेश दिएकाले उनी रामायणलाई नेपाली भाषामा अनुवाद गर्न प्रेरित भएका थिए । त्यसो त उनको लोकप्रिय कृति ‘बधुशिक्षा’ हो । यो उनको प्रसिद्ध कृति हो । यसैगरी उनका ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत कृति चर्चित छन् ।
कुमारी चोकको हिसाब मिलाउन नसकेर झ्यालखानामा परेका आदिकवि भानुभक्तले सरकारी कार्यालयमा हुने ढिलासुस्ती र ‘भोलिवाद’ को कट्टर विरोधी भएर कवितामा भोलिको विरोध गर्दै लेखेका थिए– ‘भोलिभोलि भन्दैमा सब घर बितिगो बक्सियोस् आज झोली’ ।
यो कविता आजपनि उत्तिकै सान्दर्भिक छ । किनभने नेपालीको बानी र स्वभावमा अझैपनि भोलीबाद कायमै छ । भानुको योगदान नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा उनको ऐतिहासिक योगदान रहेको कुरा नेपाली साहित्य क्षेत्रले कहिल्यैपनि बिर्सन सक्दैन ।
तर, केही असन्तुष्ट समुदायले आदिकविलाई निश्चित जाति र समुदायको कवि भनेर धेरै प्रहार गरे । तर, कालान्तरमा उनीहरूले पनि भानुभक्त आचार्य कुनै एक धर्म र जातको भन्दा नेपालको भाषा साहित्यको सिर्जनामा तल्लिन साधक भन्दै सम्मान गरे । भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा काम गर्नेहरूले आज विभिन्न कार्यक्रम गरी भानुजयन्ती मनाउँदै छन् ।
भानुभक्तभन्दा अघि नै नेपाली भाषामा कविता लेख्ने कवि भएपनि उनको जस्तो सिर्जना नभएकोले उनलाई नेपाली साहित्यको आदिकवि भन्ने गरिएको छ । रामायणजस्तो ग्रन्थलाई नेपाली लोकलयमा भावानुवाद गरी भाषिक एकताको महत्त्वपूर्ण योगदान गरेकाले भानुभक्तलाई आदिकबिको उपाधी दिइएको हो । वास्वतमा भन्ने हो भने रामायण ग्रन्थले भाषिक क्षेत्रमा नयाँ युग निर्माण गरेको कुरा निर्विवाद छ ।
भानुभक्तले नेपाली भाषालाई काव्य भाषाका रूपमा समुन्नत तुल्याई नेपाली भाषा, साहित्य एवम् संस्कृतिको सम्वद्र्धनका निम्ति अतुलनीय योगदान पु¥याएका थिए । उनलाई नेपाली साहित्यका प्राथमिक कालका प्रतिनिधि कविका रूपमा पनि चिनिन्छ । नेपालीलाई एकसूत्रमा बाँध्ने भाषा नै हो । भानुभक्तलाई सम्झिनु भनेको नेपाली भाषालाई मात्र सम्झिनु हो भन्ने होइन । उनी एउटा राष्ट्रिय चेतना हुन् । नेपालको साहित्याकासको कहिल्यै ननिभ्ने दियो हुन् ।