© 2026
प्रधानमन्त्री ज्यू, कृपया आफ्नो वरिपरि केवल प्रशंसा गर्ने मानिसहरू मात्र नराख्नुहोस् । नेतृत्वको सबैभन्दा ठुलो शत्रु आलोचना होइन, चाप्लुसी हो । इतिहासमा धेरै सक्षम नेताहरू आफ्ना विरोधीका कारण होइन, आफ्नै वरिपरि सत्य बोल्न डराउने मानिसहरूको भीडका कारण असफल भएका छन् ।
तपाईँको वरिपरि त्यस्ता व्यक्तिहरू रहून्, जसले आवश्यक पर्दा तपाईँको निर्णयमाथि प्रश्न उठाउन सकुन्, तथ्यका आधारमा असहमति जनाउन सकुन् र तपाईँलाई वास्तविकता सम्झाउन सकुन् । सत्य बोल्ने सहयोगीहरू कहिलेकाहीँ असहज लाग्न सक्छन्, तर उनीहरू नै नेतृत्वका लागि सबैभन्दा ठुलो सम्पत्ति हुन्छन् ।
सम्माननीय प्रधानमन्त्री ज्यू ,
यो पत्र कुनै राजनीतिक दलको सदस्य, कुनै लाभको अपेक्षा राख्ने व्यक्ति वा कुनै विरोधीका रूपमा लेखिएको होइन । यो एउटा सामान्य नेपाली नागरिक, एउटा इन्जिनियर र यो देशमै आफ्नो भविष्य देख्न चाहने लाखौँ युवामध्ये एकको मनबाट निस्किएको खुलापत्र हो ।
यसमा प्रशंसा पनि छ, अपेक्षा पनि छ, र त्यत्तिकै गहिरो चिन्ता पनि छ । किनभने तपाईं आज केवल नेपालको प्रधानमन्त्री मात्र बन्नुभएको छैन, तपाईं एउटा पुस्ताको विश्वासको प्रतीक बन्नुभएको छ । विगतका धेरै वर्षहरूमा नेपाली युवाले राजनीति देखे, सरकार फेरिएको देखे, गठबन्धन बनेको र भत्किएको देखे, वाचा गरिएका तर पूरा नभएका प्रतिबद्धताहरू देखे ।
परिणामस्वरूप धेरै युवाले राजनीतिबाट विश्वास गुमाए, देशबाट आशा गुमाए र आफ्नो भविष्य विदेशमा खोज्न थाले । यस्ता निराशाका बीच तपाईँको उदयले एउटा फरक सम्भावना देखायो । धेरै युवाले पहिलोपटक ‘सायद अब राजनीति फरक हुन सक्छ’, ‘सायद योग्यताले पनि नेतृत्व गर्न सक्छ’, “सायद इमानदारी र कामले पनि जनमत जित्न सक्छ’ भन्ने विश्वास गर्न थाले ।
तपाईँको नेतृत्वमा उनीहरूले एउटा व्यक्तिलाई मात्र होइन, एउटा नयाँ राजनीतिक संस्कृतिको सम्भावना देखे । यही कारणले तपाईँको जिम्मेवारी अरू प्रधानमन्त्रीहरूको भन्दा फरक छ । तपाईँलाई जनताले केवल सरकार चलाउनका लागि रोजेका होइनन् ।
उनीहरूले तपाईंमा एउटा नयाँ सुरुवातको आशा राखेका छन् । त्यसैले तपाईँको प्रत्येक निर्णय, प्रत्येक नियुक्ति, प्रत्येक प्राथमिकता, प्रत्येक सफलता र प्रत्येक कमजोरीलाई सामान्य राजनीतिक घटनाका रूपमा मात्र हेरिने छैन । ती सबैलाई एउटा पुस्ताले आफ्नो विश्वासको परीक्षणका रूपमा हेर्नेछ ।
प्रधानमन्त्री ज्यू, म तपाईं असफल हुनुहुन्छ भन्ने कल्पना गर्न चाहन्न । बरु तपाईं सफल हुनुभएको हेर्न चाहन्छु । तर लोकतन्त्रमा कुनैपनि नेतृत्व सफल वा असफल हुन सक्छ भन्ने यथार्थलाई पनि नकार्न सकिँदैन ।
मेरो वास्तविक चिन्ता तपाईँको व्यक्तिगत भविष्य होइन । मेरो चिन्ता त्यो मनोविज्ञान हो, जुन तपाईँको नेतृत्वसँग जोडिएको छ । यदि तपाईंले जनताले राखेको अपेक्षा पूरा गर्न सक्नुभएन भने त्यसलाई धेरैले केवल एउटा प्रधानमन्त्रीको असफलताका रूपमा मात्र व्याख्या गर्ने छैनन् ।
धेरैले स्वतन्त्र नेतृत्व असफल भयो, नयाँ पुस्ता असफल भयो, इमानदार राजनीति सम्भव रहेन, प्रणाली बदल्न खोज्ने प्रयास व्यर्थ रहेछ भन्ने निष्कर्ष निकाल्न सक्छन् । त्यो निष्कर्ष न्यायपूर्ण हो वा होइन, त्यो अलग बहस हुन सक्छ । तर समाजले कहिलेकाहीँ तथ्यभन्दा भावनाका आधारमा निर्णय गर्छ भन्ने यथार्थलाई बेवास्ता गर्न सकिँदैन ।
नेपालको समाजको एउटा स्वभाव छ । हामी कसैलाई असाधारण उचाइमा पु¥याउन धेरै समय लगाउँदैनौं । हामी आफ्ना नेताहरूलाई आशाको केन्द्र बनाउँछौं, उनीहरूबाट असम्भवजस्तो परिणाम पनि अपेक्षा गर्छौं तर त्यही समाज निराश हुन थालेपछि त्यत्तिकै छिटो कठोर आलोचक पनि बन्छ ।
हामी कुनै व्यक्तिलाई देवत्व प्रदान गर्न पनि हतार गर्छौं र निराशा भएपछि त्यही व्यक्तिलाई सबै समस्याको कारण ठहर गर्न पनि समय लगाउँदैनौं । त्यसैले तपाईंले जनताको मायालाई सम्मान गर्नुपर्छ, तर त्यसलाई स्थायी उपलब्धि ठानेर ढुक्क हुनु हुँदैन । विश्वास कमाउन वर्षौं लाग्न सक्छ, तर गुमाउन कहिलेकाहीँ केही निर्णय मात्र पर्याप्त हुन्छन् ।
शक्ति आफैंमा खराब होइन तर शक्ति प्राप्त गरेपछि मानिस र वास्तविकताबीच दूरी बढ्न थाल्नु सबैभन्दा ठुलो जोखिम हो । विस्तारै बैठकहरूले जनतासँगको संवादलाई विस्थापित गर्छन् । फाइलहरूले जीवनका वास्तविक कथा लुकाइदिन्छन् ।
प्रतिवेदनहरूले तथ्य त दिन्छन्, तर पीडाको अनुभूति दिँदैनन् । सुरक्षा घेराले सहज पहुँचलाई सीमित बनाउँछ । सचिवालय, सल्लाहकार र प्रशासनिक संयन्त्रले तपाईँलाई देशको एउटा चित्र देखाउँछन् तर त्यो चित्र सधैं पूर्ण हुँदैन ।
त्यसैले कृपया सिंहदरबारको झ्यालबाट मात्र नेपाल नहेर्नुहोस् । नेपाल गाउँका धुलाम्मे सडकमा छ, अस्पतालको लाममा छ, विद्यालयको कक्षामा छ, रोजगारी खोजिरहेको युवाको अनुहारमा छ, खेतीको लागत नउठेको किसानको चिन्तामा छ, उद्यम सुरु गर्न संघर्ष गरिरहेको युवाको योजनामा छ । देशको वास्तविक अवस्था बुझ्न कहिलेकाहीँ कुनै औपचारिक कार्यक्रममा होइन, अचानक गरिएको एउटा भ्रमण पर्याप्त हुन्छ । एउटा सरकारी विद्यालयमा बसेर विद्यार्थीसँग कुरा गर्नुहोस् ।
एउटा जिल्ला अस्पतालमा बिरामीको पालो कुर्दै बसेका नागरिकसँग संवाद गर्नुहोस् । विदेश जाने तयारी गरिरहेको युवालाई सोध्नुहोस्, “तिमी किन जान चाहन्छौ ? किसानसँग सोध्नुहोस्– तपाईँको सबैभन्दा ठुलो समस्या के हो ? कहिलेकाहीँ यस्ता प्रश्नहरूले मन्त्रालयका सयौं प्रतिवेदनभन्दा धेरै सत्य बताउँछन् ।
हामी तपाईँलाई पूर्ण नेता हुन भन्न खोजिरहेका छैनौं । हामीलाई थाहा छ, कुनै पनि प्रधानमन्त्रीसँग जादुको छडी हुँदैन । सबै समस्या पाँच वर्षमा समाधान गर्न सम्भव हुँदैन । तर, हामी तपाईंमा एउटा गुण निरन्तर देख्न चाहन्छौं, जनताको कुरा सुन्ने विनम्रता, गल्ती स्वीकार गर्ने साहस र आवश्यक परे निर्णय सुधार्ने परिपक्वता । नागरिकले गल्तीभन्दा बढी अहंकारलाई अस्वीकार गर्छन् ।
गल्ती स्वीकार गर्ने नेतृत्व कमजोर होइन, झन् विश्वासिलो हुन्छ । म एक इन्जिनियर भएकाले एउटा कुरा सधैं सम्झन्छु, कुनैपनि संरचना बाहिरबाट जति आकर्षक देखिएपनि उसको दीर्घायु उसको जगले निर्धारण गर्छ । सरकारको जग पनि त्यही हो । व्यक्तिको लोकप्रियता होइन, संस्थाको मजबुती । भाषण होइन, प्रणाली । आकस्मिक निर्णय होइन, दीर्घकालीन नीति ।
यदि तपाईंले यस्तो शासन प्रणाली निर्माण गर्न सक्नुभयो जहाँ पारदर्शिता, उत्तरदायित्व, योग्यताको सम्मान र कानुनको शासन व्यक्तिभन्दा माथि हुन्छ भने त्यो नै तपाईँको सबैभन्दा ठुलो उपलब्धि हुनेछ । तपाईंपछि आउने सरकारले पनि त्यसै प्रणालीलाई पालना गर्न बाध्य हुने वातावरण निर्माण गर्नु नै वास्तविक परिवर्तन हो । आजका युवाले तपाईँलाई केवल एउटा प्रधानमन्त्रीका रूपमा हेरेका छैनन् ।
उनीहरूले तपाईंमा आफ्नै सम्भावना देखेका छन् । उनीहरूले महसुस गरेका छन् कि राजनीतिमा पनि इन्जिनियर, योजनाकार, व्यवस्थापक, अनुसन्धानकर्ता, शिक्षक र व्यावसायिक पृष्ठभूमिका मानिसहरूले नेतृत्व गर्न सक्छन् ।
यदि यो विश्वास बलियो बन्यो भने भविष्यमा अझ धेरै सक्षम युवाहरू सार्वजनिक जीवनमा आउन प्रेरित हुनेछन् । तर यदि यो विश्वास समयभन्दा पहिले नै कमजोर भयो भने फेरि धेरै प्रतिभाशाली युवाहरूले राजनीतिलाई परिवर्तनको माध्यम होइन, टाढा बस्नुपर्ने क्षेत्रका रूपमा हेर्न सक्छन् । त्यसैले तपाईँको नेतृत्वले आजको सरकार मात्र होइन, भोलिको राजनीतिक संस्कृतिलाई पनि प्रभावित गर्नेछ ।
प्रधानमन्त्रीज्यू, इतिहासले सबैभन्दा धेरै सम्झने नेताहरू ती होइनन्, जसले धेरै भाषण गरे । इतिहासले ती नेताहरूलाई सम्झन्छ, जसले आफ्ना देशका संस्थाहरूलाई बलियो बनाए, नागरिकको विश्वासलाई जोगाए र आफ्नो व्यक्तिगत लोकप्रियताभन्दा राष्ट्रको दीर्घकालीन हितलाई माथि राखे । तपाईंले पनि त्यही बाटो रोज्नुहोस् । लोकप्रिय हुनुभन्दा उपयोगी बन्नुहोस् । प्रशंसित हुनुभन्दा परिणाममुखी बन्नुहोस् ।
भीडले मन पराएको नेताभन्दा नागरिकले भरोसा गरेको प्रधानमन्त्री बन्नुहोस् । अन्त्यमा, म फेरि एकपटक यही भन्न चाहन्छु, हामी तपाईं सफल हुनुभएको हेर्न चाहन्छौं । किनभने तपाईँको सफलता केवल बालेन्द्र शाहको सफलता हुनेछैन । त्यो एउटा पुस्ताको आत्मविश्वासको सफलता हुनेछ । त्यो इमानदार राजनीतिप्रतिको विश्वासको सफलता हुनेछ । त्यो योग्यताले अवसर पाउन सक्छ भन्ने प्रमाण हुनेछ ।
त्यो नेपाल बदलिन सक्छ भन्ने आशाको सफलता हुनेछ । र, यदि कहिल्यै निर्णय गर्न गाह्रो पर्ने दिन आयो भने कृपया एउटा कुरा सम्झनुहोस्, तपाईँलाई प्रधानमन्त्री बनाएको केवल मतपत्रले होइन, आशाले हो । पद संविधानले दिएको हो तर विश्वास जनताले दिएको हो ।
पदको अवधि निश्चित हुन्छ, तर विश्वासले इतिहास लेख्छ । हामी तपाईँको सफलताको कामना गर्छौं । किनभने आज तपाईँको सफलतामा केवल तपाईँको भविष्य जोडिएको छैन, लाखौँ युवाको विश्वास, करोडौं नेपालीको आशा र नेपालको सम्भावनाप्रतिको भरोसा पनि जोडिएको छ । र, नेपाल अझै बदलिन सक्छ भन्ने विश्वास नहराएको एक नागरिक ।