Butwal Today

कपिलवस्तुका प्रतिभामाथि फ्रेन्चाइज टोलीको भरोसा

२५ असार २०८३, बिहीबार
अ+
अ-

कपिलवस्तु । नेपालको प्रतिष्ठित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि भएको मिनी अक्सनमा कपिलवस्तुका चार जना खेलाडी विभिन्न टोलीमा अनुबन्धित भएका छन् ।

यससँगै जिल्लाको क्रिकेटले राष्ट्रिय स्तरमा थप पहिचान बनाएको छ । सोमबार सम्पन्न मिनी अक्सनबाट कपिलवस्तुका चार खेलाडी तीन फरक फ्रेन्चाइज टोलीमा आबद्ध भएका हुन् । तेस्रो संस्करणको एनपीएल आगामी दसैँपछि आयोजना हुने तयारी छ ।

यस पटकको अक्सनमा देशभरबाट ३४७ खेलाडीले नाम दर्ता गराएका थिए । तीमध्ये १५५ जना खेलाडी विभिन्न आठ फ्रेन्चाइज टोलीमा छनोट भएका छन् । छनोट हुने खेलाडीमध्ये कपिलवस्तुका चार जनाले स्थान बनाउन सफल भएका हुन् ।

कपिलवस्तुको मायादेवी गाउँपालिकाका बसिर अहमद लगातार तेस्रो पटक विराटनगर सिङ्कबाट अनुबन्धित भएका छन् । अघिल्ला दुई संस्करणमा पनि विराटनगरबाट खेलिसकेका बसिरले यस पटक १० लाख रूपैयाँ पारिश्रमिक पाउने भएका छन् ।

विराटनगरले अनुभवी खेलाडीका रूपमा बसिरमाथि पुनः विश्वास दोहोर्याएको हो । लगातार एउटै टोलीबाट अवसर पाउनु उनको प्रदर्शनप्रतिको भरोसाको संकेत मानिएको छ ।

कपिलवस्तुकै दुई युवा खेलाडी दुर्गेश गुप्ता र आकाश त्रिपाठी लुम्बिनी लायन्समा अनुबन्धित भएका छन् । बाणगंगा नगरपालिकाका गुप्ता र शुद्धोधन गाउँपालिकाका त्रिपाठीले जनही पाँच लाख रूपैयाँ पारिश्रमिक पाउने भएका छन् । लुम्बिनी लायन्सले दुवै खेलाडीलाई मिनी अक्सनमार्फत टोलीमा समावेश गरेको हो ।

बाणगंगा नगरपालिका–५, झण्डाका विपीन आचार्य यस पटक पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन् । यसअघि उनी चितवन राइनोजको टोलीमा आबद्ध थिए । मिनी अक्सनमार्फत दुई लाख रूपैयाँ पारिश्रमिकमा अनुबन्धित भएका विपीनले बाल्यकालदेखि नै क्रिकेटमा रुचि राख्दै आएको बताए । “१२ वर्षको उमेरदेखि क्रिकेट खेल्न थालेको हुँ । अध्ययनका लागि काठमाडौं आएपछि व्यवस्थित प्रशिक्षण र प्रतिस्पर्धात्मक क्रिकेट खेल्ने अवसर पाएँ । अहिले एनपीएलमा फेरि अवसर पाउनु निकै उत्साहजनक लागेको छ,” उनले भने ।

एनपीएलजस्तो राष्ट्रिय प्रतियोगितामा एउटै जिल्लाका चार खेलाडी विभिन्न फ्रेन्चाइज टोलीमा छनोट हुनु कपिलवस्तुको क्रिकेट विकासका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।

विराटनगर सिङ्कबाट अनुबन्धित बसिर अहमदले कपिलवस्तुका चार खेलाडीले एकै पटक एनपीएलमा स्थान बनाउन सफल हुनु जिल्लाकै क्रिकेटका लागि गौरवको विषय भएको बताए । उनले आगामी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै जिल्लाको नाम अझ उँचो बनाउने प्रतिबद्धता व्यक्त गरे ।

कपिलवस्तु क्रिकेट संघका अध्यक्ष प्रकाश गैरेले जिल्लाका चार खेलाडी एनपीएलमा छनोट हुनु स्थानीय क्रिकेटको निरन्तर विकासको परिणाम भएको बताए । उनले भने, “एनपीएलमा चार जना खेलाडी छनोट हुनु हाम्रो लागि निकै खुसीको विषय हो । यसले जिल्लाका अन्य प्रतिभाशाली खेलाडीलाई पनि प्रेरणा दिनेछ । हामी कपिलवस्तुमा क्रिकेटको आधार विस्तार, प्रशिक्षण र प्रतियोगितालाई अझ प्रभावकारी बनाउँदै लैजाने योजनामा छौँ ।”

उनका अनुसार पछिल्ला वर्षहरूमा जिल्लामा क्रिकेटप्रतिको आकर्षण बढ्दै गएको छ । विद्यालयस्तरदेखि क्लबस्तरसम्म नियमित प्रतियोगिता र प्रशिक्षण सञ्चालन हुन थालेपछि नयाँ प्रतिभाहरू राष्ट्रिय स्तरसम्म पुग्न थालेका छन् ।

एनपीएलको तेस्रो संस्करणमा कपिलवस्तुका चार खेलाडीको सहभागिताले जिल्लाको क्रिकेटले राष्ट्रिय मञ्चमा बलियो उपस्थिति जनाएको मात्र होइन, आगामी पुस्ताका खेलाडीका लागि पनि नयाँ सम्भावनाको ढोका खोलेको विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?