Butwal Today

शिक्षा सुधारका मुद्दा र समाधानका उपाय – १

२३ असार २०८३, मंगलवार
अ+
अ-

विषय प्रवेश
नेपालमा सार्वजनिक शिक्षा, खासगरी सामुदायिक विद्यालय शिक्षा, विभिन्न दृष्टिकोणबाट चर्चामा छ । कुनै शिक्षा मन्त्रीको औपचारिक कार्यक्रम वा लोक सेवा आयोगको परीक्षा वा शिक्षक सेवा आयोगको परीक्षा वा कुनै संघसंस्थाका कार्यक्रममा विद्यालय तहको शिक्षाका बारेमा सन्दर्भ जोडिएकै हुन्छ ।

यसक्रममा सामुदायिक विद्यालयका सबल पक्षहरूका तुलनामा दुर्बल वा सुधारात्मक पक्षहरूको मात्रा बढी र सँगसँगै निजी विद्यालय शिक्षासँग तुलना गरी मत बनाउने परम्परा बढेको छ ।

अस्वाभाविक तरिकाले आफ्नो मतलाई पुष्टि गर्ने आधारहरूलाई उचाल्ने र फरक विचारलाई स्थान नदिने पीत पत्रकारिता शैलीको प्रभाव आम सञ्चार, सामाजिक सञ्चार र संस्थागत बहसमा बढेको सन्दर्भमा शिक्षा बहसलाई पनि निष्पक्ष आँखाले हेर्ने वानी बसाउन आवश्इक छ । त्यसैले यहाँ शिक्षासँग सम्बन्धित पछिल्ला केही मुद्दाहरू, कारण र समाधानका लागि गरिएका र गर्न सकिने उपायहरूको टिपोट गरिएको छ ।

मुद्दा १. शैक्षिक गुणस्तर
आधारभूत साक्षरता सिपभन्दा बढी बालबालिको सर्बाङ्गिण विकास, समाबेशी तथा बालकेन्द्रित विधिमार्फत समस्या समाधान, समालोचनात्मक चिन्तनसहित समस्या समाधान गरी प्रतिस्पर्धी जीवन सफलतापूर्वक बिताउन आवश्यक सिप विकास हुनु शिक्षाको गुणस्तर हो । तर ब्यवहारमा विद्यार्थीले प्राप्त गरेको अङ्क वा ग्रेड पोइन्टलाई नै गुणस्तर मान्ने गरिएको छ ।

विद्यालय शिक्षा परीक्षा (एस्इइ) को नतिजालाई गुणस्तरको मुख्य आधार मान्ने गरिएको छ । नेपालमा जम्मा ३५९५१ विद्यालयहरू छन् । ती मध्ये २५६२३ (७१ प्रतिशत) सामुदायिक, ८९११ (२५ प्रतिशत) संस्थागत र १३८७ (४ प्रतिशत) धार्मिक विद्यालयहरू छन् ।

यो संख्या विगत पाँच वर्षमा सामुदायिक विद्यालयहरू घटेको (७८ प्रतिशतबाट ७१ प्रतिशतमा) र संस्थागत र धार्मिक विद्यालयहरू बढेको (१९ प्रतिशतबाट २५ प्रतिशत र ३ प्रतिशतबाट ४ प्रतिशत) देखिन्छ । हाल नेपालभर करीव ७४ लाख विद्यार्थी कक्षा १—१२ मा भर्ना भएका छन् ।

यसमध्ये ४३८३६५५ अर्थात् ६२ प्रतिशत विद्यार्थी सामुदायिक विद्यालयमा भर्ना भएका छन् । आजभन्दा १० वर्ष पहिला करीव ८० प्रतिशत विद्यार्थी सामुदायिक विद्यालयमा अध्ययन गर्दथे । अहिले संस्थागत विद्यालयको योगदान ३८ प्रतिशत विद्यार्थी अध्यापनमा रहेको छ । अर्थात् सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना घटिरहेको छ भने संस्थागत विद्यालयहरूमा भर्ना बढिरहेको देखिन्छ ।

विद्यालयहरू मर्जर हुने क्रम बढिरहेको छ । पछिल्ला नतिजाहरूमा राष्ट्रियस्तरमा समग्रमा सुधार हुदै गएको देखिन्छ । एसइइ २०८० मा ४७.८६ प्रतिशत, २०८१ मा नतिजा सुधार भै ६१.८१ प्रतिशत र २०८२ मा ६५.९८ प्रतिशत विद्यार्थी ग्रेडेड अर्थात् उतीर्ण हुन सफल भएका थिए भने क्रमशः ५२.१४ प्रतिशत, ३८.१९ र ३४.०२ प्रतिशत विद्यार्थीहरू ननग्रेडेड अर्थात् अनुतीर्ण भएका थिए ।

यी नतिजामा सामुदायिक र संस्थागत विद्यालयहरूको स्थितिको विश्लेषण गर्दा संस्थागत विद्यालयहरूमा ८५—९२ प्रतिशत विद्यार्थी उतीर्ण छन् भने सामुदायिक विद्यालयमा ४५—५५ प्रतिशत विद्यार्थी उतीर्ण भएको देखिन्छ । पछिल्ला केही वर्षमा सामुदायिक विद्यालयहरूको पनि नतिजा प्रतिशत र ४.० जिपिए ल्याउने विद्यार्थीको संख्या बढिरहेको छ तर सामुदायिक विद्यालयहरूले राष्ट्रिय र संस्थागत विद्यालयहरूको नतिजालाई भेट्टाउन नसकेको तीतो यथार्थ छ ।

राज्यको ठूलो प्रशासनिक संयन्त्र र करिव ११ प्रतिशत बजेट लगानी भएको सामुदायिक विद्यालयहरू र राज्यको शुण्य लगानीमा चलेका संस्थागत विद्यालयहरूको नतिजा, भर्ना दर र सामाजिक प्रतिष्ठामा ठूलो अन्तरदेखिनुलाई गम्भीरतापूर्वक लिनुपर्ने देखिन्छ । यो स्थिति सिर्जना हुनुका विभिन्न कारणहरू छन् । मुख्य कारणहरूमा प्रणालिगत तथा प्रशासनिक असफलता, शिक्षक र स्रोतको अभाव, विद्यार्थी, समुदाय र संरचनागत अवस्था, र कक्षा शिक्षण प्रमुख रूपमा देखिएका छन् ।

कमजोर नेतृत्व र ब्यवस्थापनका कारण विद्यालयहरू वीना दृष्टिकोण र समाधानरहित अवस्थामा चलिरहेका छन् । राजनीतिक आधारमा नियुक्ति र टिकिरहेका प्रधानाध्यापकहरूले निर्देशित कार्य बाहेक सिर्जनात्मक र उत्प्रेरणामूलक नेतृत्व दिन सकेका छैनन् ।

प्रधानाध्यापक नियुक्तिमा विद्यालय ब्यवस्थापन समितिको नियन्त्रण छ र अधिकांस समिति आफै राजनीतिक भागबण्डा वा मिलेमतोमा नियुक्त भएका छन् । यसले गर्दा शिक्षकहरूले प्रधानाध्यापकलाई सम्मान गर्न सकेका छैनन् । अटेर गर्ने प्रबृत्ति हावी छ ।

यसको प्रभाव कक्षाशिक्षणमा समेत परेको छ । प्रधानाध्यापक विद्यालयको गुणस्तरप्रति भन्दा समिति र शिक्षा शाखाहरूप्रति बढी जवाफदेही हुने र उनीहरूलाई खूशी पार्न ब्यस्त हुने गरेको देखिन्छ । जुन विद्यालयमा प्रधानाध्यापक यो घेराभन्दा बाहिर जान सकेको छ, त्यो विद्यालय सुधार भएको पाइन्छ ।

यो सम्बन्धका कारण आर्थिक एवम् प्रशासनिक अपारदर्शिता बढेको, अनियमित तरिकाले आर्थिक कारोबार भै भ्रष्टाचार बढेको, निष्पक्ष हुननसक्दा र नैतिक संकटमा रहेकाले शिक्षक उत्प्रेरणा, कक्षाकोठा सुपरिवेक्षण र अन्य क्रियाकलापमा समेत नेतृत्वको भूमिका घटेको छ । नेतृत्वको निस्क्रियता र निरिहपनाका कारण धेरै नीतिगत एवम् प्रणालीगत ब्यवस्थाहरू कार्यान्वयन हुन सकेका छैनन् ।फलस्वरूप गुणस्तरमा कमी आएको पाइन्छ । सामुदायिक विद्यालयहरूमा देखिने यी कमजोरी संस्थागत विद्यालयमा देखिदैन । प्राज्ञिक, प्रशासनिक र ब्यवस्थापकीय सफलता नभएको नेतृत्व तुरुन्त हट्ने वा विद्यालय नै बेच्नुपर्ने बाध्यता हुन्छ ।

तसर्थ नेतृत्व जहिले पनि विद्यालय सबलीकरणमा लागेको हुन्छ । शिक्षक कमीका कारण शिक्षा गुणस्तरमा प्रत्यक्ष असर परेको पाइन्छ । कुनै विद्यालयमा विद्यार्थीको चाप छ तर आवश्यक संख्यामा शिक्षक छैनन् । विषयगत शिक्षकको अभाव छ । राहत, अनुदान, निजी स्रोत शिक्षक जस्ता अल्पकालीन र तदर्थ जस्ता ब्यवस्थापकीय उपाय अपनाइयो ।

यी उपायहरू तत्कालको समस्या समाधान गर्न उपयुक्त हुन् । तर यहाँ दीर्घकालसम्म त्यही गरियो । करिव चार दशक भैसकेको कक्षा ११—१२ को शिक्षणका लागि दुईवटा मात्र अनुदान शिक्षक दिइएको छ भने अन्य विषय विद्यालयले आन्तरिक तरिकाले चलाएको छ । तल्ला तहका शिक्षकले यी कक्षा चलाउनु पर्दा तल्ला कक्षाहरू प्रभावित भएका छन् भने यी कक्षाका लागि जिम्मेवार शिक्षक छैनन् ।

कक्षा १०सम्म पनि आवश्यक संख्या र विषयगत शिक्षक छैनन् । नि. मा. तहमा ३ जना शिक्षक दिएको छ तर ७ वटा विषयहरू पढाउनुपर्छ । सबैजसो विद्यालयमा निजी स्रोत शिक्षक राख्नुपरेको छ । तसर्थ सामुदायिक विद्यालयहरूलाई पनि सरकारी विद्यालय भन्ने अवस्था छैन ।

७० को दशकमा शिक्षक सेवा आयोगमार्फत शिक्षक पूर्ति गर्न थालियो तर आफन्ती र आफ्नो पार्टीका निजी शिक्षकको जागिर जोगाउनका लागि आवश्यक संख्या घटाएर विज्ञापनका लागि माग गर्ने गरिएकोले कम संख्यामा विज्ञापन हुने र बढी संख्यामा अस्थायी प्रकृतिका शिक्षकहरू थुप्रिने गरेको छ ।

पहिला अंग्रेजी माध्यममा सञ्चालन भएका निजी विद्यालयहरूका कारण दुई धारको शिक्षा भयो भनी समस्या देखाइन्थ्यो । अहिले बोर्डिङ्ग स्कूलको देखासिकीमा अंग्रेजी माध्यममा शिक्षण गर्ने रहर सामुदायिक विद्यालयहरूमा पलाएको छ ।

यसक्रममा निजी स्रोतसाधनको प्रयोग गरेर केही ब्यवस्थित गर्न सफल सामुदायिक विद्यालयहरूमा अंग्रेजी माध्यमका कारण भर्ना बृद्धि र नतिजा सुधारजस्ता फाइदा भएको पनि छ । तर अधिकांश सामुदायिक विद्यालयको अंग्रेजी माध्यम शिक्षण वल्लो घाट न पल्लो तीरजस्तै भएको छ । बालबालिकाहरूले पुस्तकले भनेको बुझेका छैनन् । शिक्षकहरूसमेत खुलेर पढाउन सकेका छैनन् । अंग्रेजी बोल्ने बानी बसेको छैन ।

शिक्षण नेपाली भाषामा हुन्छ । पुस्तक र परीक्षामा अंग्रेजीमा लेखिएको हुन्छ । जबरजस्ती लादिएको अंग्रेजी माध्यमभन्दा नेपाली माध्यमबाट शिक्षण गर्ने हो भने अहिलेको भन्दा राम्रो नतिजा दिनसक्ने धेरै विद्यालयहरू छन् । तर अभिभावकलाई पनि नेपाली माध्यम विद्यालयमा छोराछोरी पढाउँदा इज्जत जाने डर छ । संस्थागत विद्यालयमा छोराछोरी पढाउनु गौरवको विषय बनेको छ । यो भाष्य निर्माण भएको छ ।

विद्यार्थीमा आधारभूत ज्ञान वा जग कमजोर हुनु, शिक्षण शैली परम्परागत हुनु र प्रभावकारी नहुनु, विद्यार्थीमा उत्प्रेरणा, रुचि र आत्मबल जस्ता गुण नहुनु, र कक्षाकोठामा अभ्यासात्मक सिकाइ अवसर नहुनु पनि सिकाइ गुणस्तरका मुख्य कारणका रूपमा रहेका छन् ।

विद्यालयहरूमा प्रधानाध्यापक र शिक्षकहरू विच र शिक्षक शिक्षक विच एक अर्कालाई आरोप प्रत्यारोप गर्ने चलन छ । तल्लो कक्षा र माथिल्लो कक्षाका शिक्षकहरूका विच आरोप लगाउने चलन छ । अघिल्लो कक्षामा सिकिसकेको हुनुपर्ने विषयवस्तु माथिल्लो कक्षामा पनि दोहो¥याएर सिकाउनुपर्ने भएकोले समयमा कोर्स सिध्याउने मात्र होइन अहिलेको कक्षामा समेत सिक्नुपर्ने विषयवस्तु सिकाउन कठिनाई भएको र नसिकेका विद्यार्थीहरू समेत कक्षोन्नति हुनाले समस्या बल्झिरहेको शिक्षकहरू बताउँछन् ।

उदाहरणका लागि सामान्य जोड घटाउ नजान्नेले समीकरण वा अन्य समस्या समाधान गर्ने सम्भावना रहेन । सस्वर बाचनसमेत नजान्नेले बोध वा अभिब्यक्तिकला कसरी देखाउने ? आधारभूत ज्ञान वा सिपको अभावमा कक्षामा पढाइएका विषयवस्तु विद्यार्थीले बुझेका छैनन् । दूर्भाग्य त के छ भने यसरी आधारभूत ज्ञान वा सिप पनि नसिकेका विद्यार्थीका लागि थप सहायताका बारेमा पहल भएकै छैन ।

गुणस्तर समस्याको अर्को कारण शिक्षणसिकाई शैली परम्परागत हुनु हो । अधिकांश शिक्षकहरू पुस्तकमा भएको ज्ञानको ब्याख्या गर्दछन् । पुस्तकका अभ्यासहरूको उत्तरसमेत शिक्षकले लेखाउने र विद्यार्थीको जिम्मेवारी त्यो उत्तर सार्ने, घोक्ने र परीक्षामा लेख्ने मात्र छ ।

कक्षा शिक्षणमा विद्यार्थी सक्रियता, क्रियाशीलता, अन्तरक्रिया, खोजमूलक समस्या समाधान, समालोचनात्मक चिन्तन कार्य अत्यन्तै न्यून मात्रामा भएका छन् । पछिल्ला वर्षमा शहर तथा सुविधा सम्पन्न स्थानका विद्यार्थीहरूले एआइको प्रयोग गरी गृहकार्य बुझाउने गर्दा विद्यार्थीहरूको सिर्जनशीलता मरेको छ ।

स्पुन फिडिङ्ग प्रकारको परम्परागत शिक्षण शैलीका कारण विद्यार्थीमा रचनात्मक कार्यमा कमी, जाँगर हराएको होइन, उत्प्रेरणा, रुचि, आत्मबल जस्ता नरम सिपहरू हराएका कारण थप जटीलता बढेको छ । आलस्य लागेर डेस्कमा मुन्टो सुताएर बसेको विद्यार्थीलाई देखेपछि कक्षाकोठामा प्रवेश गर्दैगरेको शिक्षकको जाँगरसमेत हराउँछ ।
(क्रमशः)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?