Butwal Today

गरिमा चौधरीलाई न्याय दिलाऊ

७ भाद्र २०८३, आइतबार
अ+
अ-

बाराकी तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या घटनालाई लिएर देशै भरी प्रदर्शन भइरहेको छ ।

गरिमालाई न्यायको माग गर्दै शान्तिपूर्ण विरोध ¥याली भइरहेको छ । गरिमा बहिनीलाई न्याय दे’, ‘बालेन सरकार न्याय दे’, ‘गृहमन्त्री न्याय दे’, ‘हत्यारालाई कारबाही गर’, ‘राजनीतिक सम्झौता चल्दैन’, ‘पीडित परिवारलाई न्याय दे’, ‘नारीमाथिको अन्याय बन्द गर’ र ‘नारीमाथिको हिंसा सहँदैनौँ’ भन्ने नारा स्वस्फूर्त लाग्दै आएको छ ।

गरिमा चौधरीको हत्यामा संलग्न दोषीलाई कडा कानुनी कारबाही गर्दै पीडित परिवारलाई न्याय दिने विषयमा सरकार गंभीर बनोस् । बारामा उनका आमा–बुवासहित सडकमै धर्ना बसेका कारण केही दिनदेखि सडक लगातार अवरुद्ध भइरहेको छ ।

पीडित परिवारले गृहमन्त्री सुधन गुरुङ र कानुन मन्त्री सोबिता गौतम आएर नेपालको कानुन संशोधन गर्ने प्रतिबद्धता नजनाएसम्म यो प्रदर्शन नरोकिने जनाएका छन् । निश्चित रूपमा गरिमा जस्ता बालिकाहरूले भोलिको दिनमा यस प्रकारका जघन्य अपराधका घटनाबाट मुक्ति पाउनको लागि कडा कानुनको आवश्यकता छ ।

गरिमाको मृत्यु घटनाले सिङ्गो समाजलाई स्तब्ध बनाएको छ । यो घटनाले नेपालीको शिर झुकाएको छ । बलात्कार पश्चात् हत्या गरिएकोले गहिरो छानबिन जरुरी छ । गरिमाको बलात्कारपछिको हत्याले हाम्रो समाज कति विकृत बन्दै गएको छ भन्ने छर्लङ्ग भएको छ ।

नेपालका विभिन्न स्थानमा बारम्बार दोहोरिइरहेका यस प्रकृतिका घटनाले नेपालीको मन विक्षिप्त बनाएको छ । साथै दण्डहीनता यसै गरी मौलाउनुका पछिको कारण खोजी जरुरी छ । यो गम्भीर विषयमा सम्बन्धित निकायले निष्पक्ष ढङ्गले अनुसन्धान गर्नु जरुरी छ । विगतदेखि बर्तमानसम्म यस्ता धेरै घटना भएका छन्, जसले नेपाली समाजलाई स्तब्ध बनाएका छन् ।

गरिमा मृत्यु प्रकरणलाई अझै गम्भीरताका साथ छानबिन गर्नु जरुरी छ । अर्कोतर्फ विगत केही वर्षयताका घटनाक्रमले के देखाएको छ भने महिलामाथि जघन्य प्रकारका अपराध हुन थालेका छन् । त्रासमा पिल्सिएका महिलामाथि घरेलु हिंसाको चरम यातना त छँदै छ त्यसका साथै बलात्कार, अपहरण र हत्याको मारमा उनीहरू परेका छन् ।

नेपाली समाजमा महिलामाथि हुने हिंसाका घटनाले सबैलाई विक्षिप्त तुल्याएको छ । गरिमा हत्या प्रकरण त्यसको एक उदाहरण हो । दण्डहीनताको संस्कृतिले जरो गाड्दै गएको कारणले गर्दा नै जसले जे गरे पनि हुन्छ भन्ने मानसिकता हाबी भएको छ । जसका कारण अपराध दिनानुदिन बढ्दै गइरहेको छ तर त्यसप्रति सम्बन्धित निकायको ध्यान जान सकेको छैन ।

अव सरकारले परिवारको पीडा र पीडित परिवारले राज्यबाट गरेको आशाको गम्भीरता महसुस गरोस् । गरिमा हराएको दिनदेखि नै राज्यको काँध खोजिरहेको परिवार आज पनि न्याय पाइन्छ भन्ने आशामा सरकारलाई गुहारिरहेको छ, पर्खिरहेको छ । अब घटनाको तत्काल निष्पक्ष र प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानुन बमोजिम कडा सजाय दिलाउन सरकार गम्भीरतापूर्वक अघि बढ्नुपर्ने आवश्यक छ ।

साथै, यस्ता घटना दोहोरिन नदिन सुरक्षा संयन्त्रलाई थप प्रभावकारी, संवेदनशील र जबाफदेही बनाउन तत्काल कदम चाल्नुपर्ने जरुरी छ ।  गरिमा घटनाले बालिका तथा किशोरीको सुरक्षाका लागि अझै धेरै काम गर्न बाँकी रहेको हामी सबैलाई स्मरण गराएको छैन र ? हरेक बालिका सुरक्षित, संरक्षित र न्यायप्रति विश्वस्त हुने वातावरण नबन्दासम्म राज्यको जिम्मेवारी पूरा हुन सक्दैन ।

घटनाको निष्पक्ष, शीघ्र र प्रभावकारी अनुसन्धान गरी अपराधमा संलग्न दोषीलाई कुनैपनि दबाब, प्रभाव वा पहुँचका आधारमा उन्मुक्ति नदिन सरकारको ध्यान जाओस् । गरिमामाथिको अपराधले राज्य, समाज र न्याय प्रणालीमाथि नै गम्भीर प्रश्न खडा गरेको छ । अव बालिकाहरूले भयमुक्त वातावरणमा बाँच्न, सुरक्षित हुन र आफ्नो भविष्य निर्माण गर्न पाउने अधिकार सुनिश्चित गर्नु राज्यको दायित्व हो । अतः अव कठोर कानुन निर्माण गरियोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?