© 2026
गुल्मी । वन्यजन्तुबाट पशुधनमा क्षति व्यहोरेर लामो समयदेखि राहतको पर्खाइमा रहेका गुल्मीका किसानले तीन वर्षपछि क्षतिपूर्तिबापत राहत रकम पाएका छन् ।
डिभिजन वन कार्यालय गुल्मीले ७४ जना पीडित किसानलाई कुल नौ लाख ६४ हजार नौ सय रुपैयाँ राहत उपलब्ध गराएको छ ।
कार्यालयका सूचना अधिकारी तथा वरिष्ठ वन अधिकृत मदन सापकोटाका अनुसार पशुधनमा क्षति पुगेका ७३ जना र वन्यजन्तुको आक्रमणबाट घाइते भएका एक जनासहित ७४ जनालाई राहत रकम वितरण गरिएको हो ।
डिभिजन वन कार्यालयका अनुसार २०८० साउनदेखि २०८२ कात्तिकसम्म वन्यजन्तुबाट भएको क्षतिको विवरण सङ्कलन गरिएको थियो । उक्त अवधिमा वन्यजन्तुको आक्रमणबाट जिल्लामा ९६ वटा बाख्रा, १५ वटा पाडा र एउटा कुखुरामा क्षति पुगेको थियो । वन्यजन्तुले पशुधन तथा बालीनालीमा क्षति पु¥याए पनि लामो समयसम्म राहत रकम नपाउँदा किसानहरूले पटक पटक डिभिजन वन कार्यालयको ध्यानाकर्षण गराउँदै आएका थिए ।
वन्यजन्तुबाट पशुधनमा क्षति भएपछि राहतका लागि निवेदन दिएको लामो समयपछि भए पनि राहत रकम पाएको जिल्लाको मदाने गाउँपालिका–४ का किसान लालबहादुर घर्तीले बताए । “निवेदन दिएको दुई वर्ष हुँदा पनि राहत नआएपछि आशा मर्दै गएको थियो,” उनले भने, “ढिलो गरी भए पनि आएछ, खुसी लाग्यो ।”
पछिल्लो समयमा जिल्लाका ग्रामीण क्षेत्रमा चितुवा, बाँदर, बँदेललगायतका वन्यजन्तुले पशुधन तथा बालीनालीमा क्षति पु¥याउने क्रम बढ्दै गएको छ । जिल्लामा सबैभन्दा धेरै चितुवाको आक्रमणबाट किसानले क्षति व्यहोर्दै आएका छन् ।
डिभिजन वन कार्यालय गुल्मीका वरिष्ठ वन अधिकृत सापकोटाका अनुसार पशुधनको क्षतिबापतको राहत रकम उपलब्ध गराइए पनि वन्यजन्तुबाट बालीनालीमा पुगेको क्षतिको राहत रकम भने हालसम्म उपलब्ध हुन सकेको छैन । उन ले २०८० सालदेखि नै बालीनाली क्षतिको राहतका लागि निवेदन आए पनि रकम निकासा हुन नसकेको बताए ।
वन्यजन्तुबाट पीडित किसानले राहत रकम प्राप्त गर्नका लागि दिएको निवेदनका आधारमा जिल्लामा रहेको मूल्याङ्कन समितिमार्फत प्रदेश वन निर्देशनालयमा सिफारिस पठाउने प्रावधान रहेको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ ।