Butwal Today

रामग्रामले कक्षा ११ र १२ का छात्रालाई निःशुल्क पढाउने

८ भाद्र २०८३, सोमबार
अ+
अ-

सुनवल । नवलपरासीको रामग्राम नगरपालिकाले सरकारी विद्यालयमा कक्षा ११ र १२ अध्ययनरत छात्राहरूलाई निःशुल्क अध्ययनका लागि १८ लाख ८५ हजार रुपैयाँ विद्यालयलाई शुल्क बापत उपलब्ध गराएको छ ।

नगरपालिकाले छात्राहरूलाई उच्च शिक्षातर्फ आकर्षित गर्ने तथा आर्थिक अभावका कारण पढाइ छाड्नुपर्ने अवस्था न्यूनीकरण गर्ने उद्देश्यले नगरभित्र कक्षा १२ सम्म सञ्चालन भएका चार वटा विद्यालयका ३ सय ७७ छात्रालाई उक्त रकम उपलब्ध गराएको हो ।

नगरपालिकाको शिक्षा शाखाका अनुसार उक्त रकम सम्बन्धित विद्यालयमा निकासा गरी छात्राहरूको शैक्षिक शुल्कमा खर्च गर्न विद्यालयहरूलाई पत्राचार गरिएको छ ।

आदर्श माध्यमिक विद्यालय परासीका १ सय ६८, पवन माध्यमिक विद्यालय परासीका १ सय ४६, जनता माध्यमिक विद्यालय डैनहवाका ३५ र जनता माध्यमिक विद्यालय शुक्रौलीका २८ जना छात्राले यो अवसर पाएका छन् ।

रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले आर्थिक अवस्था कमजोर भएका परिवारका किशोरीहरूलाई पढाइ निरन्तरता दिन स्थानीय सरकारले सहयोग गरेको बताए । उनका अनुसार अझै पनि आर्थिक अभाव लगायतका कारण छात्राहरू उच्च शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्था रहेकाले विद्यालय तहको अध्ययनलाई निरन्तरता दिन नगरपालिकाले यस्तो कार्यक्रम अघि बढाएको हो । “छात्राहरूलाई पढाइमा निरन्तरता दिन सहयोग पुगोस् र आर्थिक कारणले विद्यालय आउन समस्या नहोस् भन्ने उद्देश्यले नगरपालिकाले यो सहयोग गरेको हो,” नगरप्रमुख यादवले भने, “यसबाट छात्राहरूलाई मात्र होइन, उनीहरूको परिवारमा समेत पढाइप्रति उत्साह बढ्ने अपेक्षा गरेका छौँ ।”

रामग्राम नगरपालिकामा माध्यमिक तहसम्म सञ्चालन हुने १० वटा विद्यालय छन् । तीमध्ये चार वटा विद्यालयमा कक्षा १२ सम्मको अध्ययन अध्यापन हुँदै आएको छ । आदर्श माविका व्यवस्थापन समिति अध्यक्ष लक्ष्मण यादवले गरिब विपन्न परिवारका बालबालिकालाई यो कार्यक्रमले सहयोग पुगेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?