© 2026
चन्द्रौटा । गरिमा चौधरीको हत्या भएको घटनाले देशभर आक्रोश बढिरहेका बेला कपिलवस्तुमा न्यायको माग गर्दै दीप प्रज्वलन गरिएको छ ।
बाराको सिमरामा तीन वर्षीया चौधरीको हत्याविरुद्ध दीप प्रज्वलनमा बालिका गरिमाप्रति श्रद्धाञ्जली अर्पण गर्दै हत्यामा संलग्न दोषीलाई तत्काल पक्राउ गरी कडा कानुनी कारबाही गर्न माग गरिएको हो ।
कार्यक्रममा सहभागीहरूले बालबालिकामाथि हुने हिंसा र जघन्य अपराध रोक्न राज्यले सुरक्षा संयन्त्रलाई प्रभावकारी बनाउनुपर्ने बताए थिए । ‘गरिमाका लागि न्याय’ को मागसहित गरिएको दीप प्रज्वलनले बालबालिकाको सुरक्षाप्रति राज्यलाई थप संवेदनशील बन्न दबाबसमेत दिएको छ ।
थारु कल्याण कारिणी सभा शिवराज नगर कार्यसमिति, थारु सङ्ग्रहालय संरक्षण समिति उमरी, शिवराज नगर बरघर समिति, शिवराज थारु शिक्षक समिति र उमरी गाउँ समाजको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो ।
आइतबार साँझ उमरीमा बालिका हत्याको घटनाप्रति दुःख व्यक्त गर्दै दोषीलाई तत्काल पक्राउ गरी कडा कानुनी कारबाही गर्न माग गरेका प्रकाश चौधरीले बताए ।