Butwal Today

सय दिने सरकार, विपक्षी र समाचार

२२ असार २०८३, सोमबार
अ+
अ-

बालेन नेतृत्वको सरकारले सय दिन पु¥यायो । त्यसले के ग¥यो र गरेन भनेर विरोध र समर्थन गर्नेको बाढी छ सञ्चारमाध्यम र सञ्जालमा ।

सय दिने सरकारको समीक्षा पुराना दलका नेता र उनीहरूका पत्रकार, वुद्धिजीवी, प्राध्यापक, वकिल, प्रशासक र योजनाविदले गर्नैपर्दैन, किनकि त्यो निष्पक्ष हुँदैन । अनि रास्वपा र बालेन समर्थकले गर्नु झन् न्यायोचित र शोभनीय मानिदैन ।

स्वतन्त्र, स्वविवेकी र दलीय दाग नलागेको जो सुकैले गरेपनि सत्यको नजिक हुन सक्नेछ त्यो । बुझ्नुपर्ने विषय यत्ति हो । सचेत जनताले जानेका छन् आफैले । बुझाउन पर्दैन कसैले । पुराना पार्टी र नेताले जनतालाई सधैं झुक्याउँथे र धोका दिने गर्थे ।

गत फागुनको चुनावमा जनताले पनि धोका दिएर झुक्याएर बदला लिए मजैले । त्यसपछि किंकर्तव्यबिमूढ भएका छन् पुराना दल र उनीहरूद्वारा पालित पोषित शक्ति र व्यक्तिहरू ।

उनीहरूका अलाप, विलाप र प्रलाप देखेर र सुनेर लेखे होलान् चर्चित विश्लेषक विष्णु सापकोटाले यसरीः ‘जेन–जी विद्रोहदेखि आमनिर्वाचनसम्मको छोटो अवधिमा नेपाली राजनीतिको आधारभूत संरचना गहिरोसँग परिवर्तन भएको छ ।

यसको सैद्धान्तिकीकरण नहुनुका कारण समाजमा वैचारिक उकुसमुकुस देखिएको छ र पुराना दलका समर्थकहरू सोच्नका लागि नयाँ ‘टूल’ नपाएर अन्योलमा छन् । ३५ वर्षदेखि ‘आखिर जे गरे पनि हामी नै त हौं नि’ भनेर आफुहरूमध्ये एक वा अर्कोलाई नै निर्विकल्प राज्य संस्थापन भन्ने ठानेका पुराना दलहरूले ‘होइन, यो के भएको हो ?’ भनेर जे भइसकेको छ, त्यो ग्रहण गर्ने व्याकरण भेट्टाउनै सकेका छैनन् ।

नेपालका पुराना पुस्ताका धेरै मानिसले सोच्नका लागि माक्र्सवाद एउटा सर्वसुलभ ‘टुल’ हो, प्रजातान्त्रिक समाजवाद अर्को, अनि पहिचानवाद अर्को । कांग्रेस, एमाले र माओवादी विस्थापित भएको पचाउन नसकेको नागरिक समाजको एउटा कटिवद्ध समूह भने जेन–जी विद्रोहदेखि फागुनको निर्वाचन सवै नै कुनै एउटा षडयन्त्र अन्तर्गत भएको हो भन्ने ध्याउन्नबाट बाहिर ननिस्कीकनै आफ्नो बँचे–खुचेको सामाजिक स्वीकार्यता पनि सकाउन लागेका छन् ।

तिनीहरूले सोच्ने–बोल्ने–लेख्ने भाषा र समाजले बोल्ने भाषा फरक भइसकेको उनीहरूलाई बोध नै छैन ।’ चारवर्षे फुच्चे बालकले जेष्ठ र श्रेष्ठ मानिएका, अभ्यास र अनुभवले खारिएर पाका र परिपक्व भनिएका चर्चित पुराना राजनीतिक दललाई चुनौती दिएको मात्रै हैन, चुनावमा पराजित गरेर तोरीकाफुल देखाइदिएपछि किम्कर्तव्य विमूढ हुनु स्वभाविकै हो ।

त्यसैले कांग्रेस, कम्युनिष्ट र मधेशवादी दलहरू सरकारको विरोध गर्दै आफै पुनः सुसंगठित भएर सवल हुने प्रयासमा छन् । दुवैतिर दाऊ लगाउँन पर्दा भाऊ पाएका छैनन् । पार्टी पार्टीजस्ता नभएर गुट, उप–गुट, ग्याङ् र गिरोहजस्ता बनेका छन् । नपत्याए देउवा (खडका) पक्षले थापा पक्षलाई र थापापक्षले देउवापक्षलाई लगाएका आरोप सुन्नुस् र आफै बुझ्नुस् ।

पुराना दलहरू नयाँ आवरणमा आए पनि अब अस्तित्व रक्षा मात्र हुने छ । जनसेवा, उन्नति र प्रगति आदि केही हुने हैन, गर्ने सामथ्र्य पनि छैन । यति कुरा बुझेका छन् जनताले । तर बदनाम नेतृत्वले अझै पुरानो कारोबार बन्द गर्न चाहेका छैनन् ।

त्यसैले राजनीति हाट बजारको व्यापार बनेको छ । नमूना होलान् यी कम्युनिष्ट नेताका विचारहरू: ‘कम्युनिष्ट पार्टीहरूका बीचमा एकताका नाममा व्यापार चलिरहेको छ – बामदेव गौतम ।
‘कम्युनिष्ट पार्टीका नेता सत्तामा पुगेर भ्रष्ट भएर बदनाम हुँदैमा माक्र्सवाद र कम्युनिष्टलाई असान्दर्भिक भन्न मिल्दैनः युवराज ज्ञवाली ।
‘नेपालमा कम्युनिष्ट आन्दोलन जीवित छैन, आन्दोलनमा लागेका नेताहरू मात्रै जीवित छौँः जनार्दन शर्मा ।

बाहिरकाले अब केही भन्नै परेन । स्व. मदन भण्डारीको जन्मदिन पारेर एमाले नेतृ विद्या भण्डारीको पहलमा केहीदिन पहिले नेपालका कम्युनिष्ट पार्टीका शीर्ष नेता एवं पूर्वप्रधानमन्त्रीहरूलाई एउटै मञ्चमा उभ्याएर एकताका लागि गरेको आह्वान चर्चामै छ । त्यही चर्चाका क्रममा व्यक्त उल्लेखित विचारले एकता आफै वेपत्ता पो हुने हो कि भन्ने पनि लागेको होला कसैलाई ।

त्यसदिन एकता गर्ने, अहिलै गर्ने, आजै गर्ने र भरे गर्ने भन्नेले रात नवित्दै बोलीफेर्ने क्रम जारी छ । र, भनिदैछ –संयुक्त मोर्चा बनाएर, सहकार्य गर्दै अघि बढेर, तलदेखि माथिसम्मै मिलेर जानसक्ने वातावरण बनेपछि बल्ल एकता गर्ने हो । अहिले हतारमा गरेर पछि फुर्सदमा पछुताउने हैन ।’ नेकपा र एमालेका बीचमा चुनावी गठबन्धन गरेर गएको भए गत निर्वाचनमै यति सिट बढ्दो रहेछ भनेर पनि देखाइएको छ ।

तर जति सँख्या देखाइएको छ, त्यसले पनि उति धेरै फरक पार्ने रहेनछ । तथापि मनोवलचाहिँ अलि बढ्दो हो र प्रतिवाद पनि सोही अनुसार गरिँदो हो । अहिले जसले एकताको राग अलापीरहेका छन्, तिनीहरूले भन्दैछन् – एकता भए संसदको दोश्रो ठूलो दल बनिन्छ । कांग्रेस तेश्रोमा पुग्छ । संवैधानिक परिषदमा प्रमुख विपक्षी दलको नाताले भाग लिएर यो र त्यो गर्न पाइन्छ ।’ जे भैसक्यो र जस्तो भोगिदैछ, त्यतातिर पुनर्विचार र समीक्षा गरेर सुधार्नतिर लाग्न भन्दा पुरानै भागवण्डाकै धन्दाका फन्दामा परेको प्रमाण दिइदैछ ।

यस्तो सोचले कता पुगिएला ? अलि गम्भीर भएर सोच्न पर्ला कि नपर्ला ? कांग्रेस, कम्युनिष्ट, मधेशवादी र राजावादीहरू आपसमा एकता गर्नुपर्ने विषयलाई नराम्रो भन्दैन र मान्दैन कसैले पनि, गरुन् । तर बाधक बनेको पद र व्यक्तित्वको टक्करले हो ।

जति ठक्कर खाएर अक्करमा परे पनि मपाईत्वका प्रकारको प्रस्तुतिमा अहंकारकै डकार सुनिन्छ अझै । जताततै, जहिले पनि उस्तै अहंकारको डकार प्रकट गर्नेहरूले भकारो खाली नगरुञ्जेल आत्मीय एकताको आस नगरे हुन्छ । यति विषय बुझेका छन् छेउ किनारमा बसेर हेर्नेहरू सवैले । समयले दिएको सन्देश र सिकाएको सवक नसिक्ने हो भने दया गर्ने छैनन् भोलि कसैले ।

यही विषय लागू हुने हो रास्वपा र बालेन नेतृत्वको सरकालाई पनि । पुरानै दल, नेता र सरकारको रोग देखिदैछ रास्वपामा पनि । राष्ट्रपति सहित सदनको अपमान र प्रधानमन्त्रीको मौनताभित्र लुकेको अभिमानले । सजाय बढाएर र सास्ती दिएर लोकप्रिय बन्न सकिदैन भनेर नबुझ्नाले । व्यक्तिगत बानी र व्यवहारिक कमजोरीले बालेन आफै बदनाम हुँदै जानाले । सरल, सहज र पारदर्शी नहुनाले ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?