© 2026
विगत दुई महिना बढी समयदेखि घमाहा पुल भासिँदा बुटवल गोरुसिङ्गे सडक खण्डमा यात्रा गर्ने यात्रुले सास्ती पाउँदै आएका छन् ।
सरकारको लापरबाहीका कारण यति लामो समय हुँदा पनि सम्बन्धित सरोकारवाला निकायले पुल मर्मतमा ध्यान नदिँदा दैनिक हजारौँ यात्रु घुमाउरो कष्टकर यात्रा गर्न बाध्य छन् । बुटवलदेखि १५ किलोमिटर पश्चिममा रहेको घमाहा पुल भासिएपछि असहज बनेको यातायात सहज बनाउनेतर्फ कुनै ध्यान गएको छैन ।
सङ्घीय सरकारका भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले भासिएको पुलको स्थलगत निरीक्षण गर्दै छिटै बनाउने आश्वासन दिए पनि उनको आश्वासन हावामा उडेको छ । घमाहा पुल भासिएपछि नजिकैबाट बनाइएको सडक डाईभर्सन पनि केही दिनअघि रातीमा परेको भारी बर्षाले बगाएपछि यात्रा कष्टकर बन्दै गएको छ ।
डाईभर्सन बगाएपछि उक्त सडक खण्डमा चल्ने सयौं सवारीका साधन बैकल्पिक सडक प्रयोग गर्न बाध्य भएका छन् । तर, भासिएको पुल मर्मत गर्नेतर्फ निर्माण आयोजना बेखबर छ । पुल भासिएपछि प्रयोगमा आएको बैकल्पिक सडकमा पनि रात दिन चल्ने साना र ठूला सवारी साधनका कारण स्थानीय पर्सवाल, मुर्गिया, गंगानगर र बुद्धनगरका वासिन्दाले धुँवा र धुलोले सास्ती पाउँदै आएका छन् ।
बैकल्पिक सडकमा पनि ठूला सवारीको साधनका कारण घण्टौं जाम हुने गरेकोले स्थानीय सैनामैनाबासीले छिटो भासिएको पुल मर्मत गर्न माग गरेपनि दुई महिनादेखि पुलको अवस्था जस्ताको तस्तै छ । जुन जोगी आएपनि कानै चिरेको भन्ने उखान चरितार्थ भएको छ । यो पुल भासिएको घटनाले नेपालमा पूर्वाधार निर्माणका क्रममा कतिसम्म कमजोरी गरिने रहेछ भन्ने उदाहरण हो ।
त्यसैगरी बुटवलदेखि पूर्व नारायणगढ र पश्चिम चनौटासम्म वनेका पुल ६२ बर्ष पुराना भैसकेका छन् । प्रयोगका हिसावले ती पुलले जोखिम निम्त्याउँदै आएका छन् । अर्कोतर्फ निर्माणका क्रममा रहेका नयाँ पुल सञ्चालनमा आईनसक्दा पुराना पुलले भारबहन गर्न नसकेको अवस्था छ । बर्षौ पुराना पुलले ठूलो समस्या निम्त्याउने गरेको छ । पुलजस्तो अति सम्वेदनशील विषयमा लापरवाही हुनु चरम पराकाष्ठा हो ।
अर्कोतिर अधिक भारबहन क्षमता नभएका ती पुललाई जीर्ण वनाउने काम सरकारले नै गरिरहेको छ । निर्माण भएका कतिपय पुल गुणस्तरहीन सामाग्रीको प्रयोग र प्राविधिक हेलचेक्र्याई भएको देखिएको छ । यो सरकारी सम्पत्तिमाथिको चरम दोहन र दुरूपयोग हो ।
सामान्य कमजोरी जहाँ पनि हुन्छ । त्यसलाई सच्याउन सकिन्छ । तर पुलजस्तो अति सम्वेदनशील निर्माणको विषयमा भएको लापरवाही क्षम्य हुन सक्दैन । मानवीय जोखिम निम्त्याउने यस्ता कर्म गर्नेमाथि हदैसम्मको कारवाही जरूरी छ । अहिले बर्षाको मौसम छ ।
बनाइएको डाईभर्सनले जोखिम बढाईरहेका छन । अर्कोतर्फ पुराना पुलको पनि उचित संरक्षणको अभावमा ढल्ने अवस्थामा पुगेका छन् । त्यसको उदाहरण घमाहा सहितका केही पुल हुन । रूपन्देहीकै उदाहरणमा बुटवलको तिनाउ पुल पनि मर्मत सम्भार र टालटुल गरि चलेको छ । करिव ४० बर्ष अघि निर्माण भएको तिनाउ पुलको विकल्पमा नयाँ सिग्नेचर पुल बनाउने कुरा अघि बढेको छ तर नेपालमा योजना बन्ने, कार्यान्वयन नहुने अवस्था छ ।
उता भैरहवा लुम्विनी क्षेत्रका पुलको अवस्था पनि कमजोर छ । त्यहाँ एउटाभन्दा अर्को सवारी दोहोरो पास हुने अवस्था छैन । आजभन्दा ५० बर्षअघि निर्माण भएका पुलहरूको अवस्था जीर्ण बन्दै गएको छ । अव तीनले भारबहन गर्न सक्ने अवस्था पनि छैन् ।
त्यही कारण लोड बोकेका ट्रक गुड्दा पुल नै हल्लिने र कमजोर बन्ने अबस्था आएको छ । मर्मत गर्नुपर्ने अवस्थाका पुलहरू मर्मत गर्ने र भत्काउनु पर्ने अवस्थाका पुल भत्काएर नयाँ निर्माण गर्नुपर्ने अव जरुरी छ । तर, घमाहा पुल मर्मतमा सरकारको तत्काल ध्यान जाओस् ।