© 2026
गत चैत १३ गते रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले प्रधानमन्त्री पदको शपथ लिएको असार २० गते शनिवार सय दिन हुँदै छ । प्रधानमन्त्रीको शपथपछि सरकारले एक सय दिनमा गर्ने सुशासनको मार्गचित्र प्रस्तुत ग¥यो ।
प्रधानमन्त्री बालेनले सय दिनलाई सुनौलो बनाउने भन्दै संसद् नगएरै काममा दत्तचित्त भएको जवाफ दिइरहे । अन्ततः सरकारको सय दिन नयाँ जोगीलाई खरानी भएको छ । सरकारले सय दिनमा गरेको कामको कुनै उल्लेख्य अनुभूति जनताले महसुस गरेका छैनन् ।
उल्टै बालेन सरकारकै कारण सुकुम्वासीले आत्महत्या गर्न विवश भए । अन्ततः सरकारले गरेको सय दिनको काम आम जनताका लागि हात्ती आयो फुस्सा भनेजस्तै भएको छ । रास्वपाको सरकार बनेपछि आम नेपाली जनतामा परिवर्तनको अनुभूति हुनेछ भन्ने विश्वास गरिएको थियो ।
उल्टै बालेन सरकारले स्वास्थ्य र शिक्षामा कर लगाएर आफ्नो असली हैसियत छरपस्ट गरिदिएको छ । ५० युनिटमाथि बिजुली उपभोग गर्ने उपभोक्तालाई भ्याट लगाएर सरकारको असली रवैया प्रमाणित गरिदिएको छ ।
विगतका सरकार र नेताहरूले कसको सरकार गिराउने, कसको नेतृत्वमा सरकार बनाउने, को मन्त्री बन्ने, कसलाई हटाउने, सेवा र सुविधा वृद्धि कसरी गर्ने, आफ्ना मान्छेलाई विभिन्न ठाउँमा कसरी नियुक्त गर्ने ? आदि इत्यादिमा ध्यान दिन्थे ।
अहिलेको बालेन सरकारले सुकुम्वासीलाई कसरी उठिबास लगाउने, उपभोक्तालाई कसरी करको भारी थोपर्ने जस्ता काममा ‘दिल’ र दिमाग लगाएको छ । एक सय दिनको बिचमा बालेन सरकारका लागि सत्ताका रोचक अनेकौँ किस्सा भए होलान् ।
देश बनाउने टिम भन्दै तस्बिर सार्वजनिक गर्ने बालेनले प्रधानमन्त्रीको कुर्सीमा पु¥याउने प्रमुख पात्र रविको योगदानलाई यसरी विर्सिएलान भन्ने कसैले कल्पना पनि गरेको थिएन् । जेहोस प्रधानमन्त्री बालेन नेतृत्वको सरकारको सय दिन पूरा भएको छ । त्यसअघिका प्रधानमन्त्रीले पनि यसैगरी सय दिनको कामको फेहरिस्त प्रस्तुत गर्थे । तर, बालेन सरकार त्यसमा उदासीन बनेको छ ।
सरकारको यो सय दिनमा विकास निर्माणको काम शून्य भएको छ । पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तरगत पूर्व र पश्चिम जोडने मुख्य राजमार्गको घमाहा पुल भत्किएको दुई महिना पूरा भएको छ तर सरकारको ध्यान कता छ ? भौतिक पूर्वाधार विकास मन्त्री सुनिल लम्साल आफै आएर पुलको निरिक्षण गरेका थिए तर खोई पुलको हालत उही छ । यात्रुहरू घुमाउरो बाटो जोखिमका साथ यात्रा गर्न विवश छन् ।
उता सरकारको चालु खर्च बढेको बढ्यै छ । आर्थिक परिसूचकले आशाको सञ्चार गर्न सकेको छैन । कुन आधारमा सरकारको सय दिनलाई उपलब्धिमूलक ठान्ने ? सरकारको सय दिन केवल शब्दमा उपलब्धिमूलक भएको छ । कार्यान्वयनको वा सुधारको पक्षमा उपलब्धिमूलक रहेन भन्दा अन्यथा हुँदैन ।
रास्वपा सरकारले मुलुकको विकास, समृद्धि र सुशासनमा ध्यान दिएको दावी गरेको छ । सरकारले काम गरेपनि नगरेपनि जनताले दुई तिहाई नजिकको बहुमत दिएकोले सरकार पाँच बर्ष टिक्ने कुरामा सन्देह छैन तर जनतालाई रुवाएर, सुकुम्वासीलाई विस्थापित गरेर अनि उपभोक्ताको ढाड सेकेर सरकारको अस्तित्व पुष्टी हुँदैन ।
सरकारले सय दिनको काम देखाईरहँदा तथ्याँकमा हेर्ने हो भने सरकार असफल भएको छ । सरकारको काम प्रचारमुखी मात्रै छ । सरकारको सय दिन अन्योल र अस्थीरताले भरिएको छ । सरकार काममा होइन प्रचारमामात्रै देखिएको छ ।
जनताले अनुभूति गर्नेगरि सरकार प्रस्तुत हुन नसकेको गुनासो बढ्दै गएको छ । सामाजिक सञ्जालमा सरकार देखिएर मात्रै हुँदैन, साँचो अर्थमा जनताले राहतको महसुस गर्न पाएका छैनन् । विगतका सरकार र बालेन नेतृत्वको सरकारबीच तात्विक फरक जनताले महसुस गर्न सकेका छैनन् । बरु जनतामा उकुसमुकुस र त्रासको वातावरण सिर्जना भएको छ ।