Butwal Today

रास्वपाः उदय र अस्त !

१७ असार २०८३, बुधबार
अ+
अ-

गत साता राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन चितवनमा चलिरहेका बेला रमेश विष्टले पोष्ट गरेको व्यङ्ग्य चित्रले राम्रै मनोरञ्जन दिएछ ।

सो व्यङ्ग्य चित्रमा महाधिवेशनको मञ्चबाट सहभागी प्रतिनिधिहरूलाई उद्घोषकले भन्दै छन् – ‘काङ्ग्रेसबाट आएकाहरूले घरीघरी जय नेपाल नभन्नु होला । कम्युनिष्टबाट आएकाहरूले लालसलाम नभन्नु होला ।’ व्यङ्ग्य चित्र भएपनि त्यसले दिएको सन्देश, गरेको सङ्केत, यथार्थ र वास्तविक थियो ।

यसैले जानकारी दिन्छ– चारवर्ष अघि रास्वपा किन जन्मेर त्यसले कसरी त्यत्रो अपार सफलता पायो ? तर काँग्रेस र कम्युनिष्टको पुरानो पुस्ताले अझै बुझ्न सकेको देखिदैन् । यसैले चोक चौराहामा बसेर चर्चा गर्ने काँग्रेस र कम्युनिष्टका समर्थक भन्छन् – अझै पनि बुझ्दैनन् र पुरानै पाराले चल्छन् भने राम भन्न सकिन्छ, काँध थाप्न सकिँदैन, गइँदैन ।’ नेपाल सरकारका पूर्व सचिव भिम उपाध्याय लेख्छन्– रास्वपा पुराना दलहरूका कार्यकर्ताहरूको सम्मिश्रण हो । अहिले सांसद भएका १८३ मध्ये १४८ जना अन्य दलबाट आएका देखिन्छन् ।

७३ जना काङ्ग्रेसबाट, ५४ जना एमालेबाट, १८ जना माओवादीबाट र ३ जना राप्रपाबाट । कुनैपनि पुरानो दलमा नदेखिएका र स्पष्ट विगत नखुलेका धादिङकी आशिका तामाङ लगायतका ३४ जना मात्र छन् ।’ यसरी संख्या नै तोकेर हावामा लेखेका नहोलान् उपाध्यायले । अब पुराना दलले मनमनै गमेर, आत्मसमीक्षा गरेर, विगत हेरेर, आफ्नो नाम लिएर तुलसीको पात, जनै, जौ, तील, कुश र गंगाजल समातेर आफ्नो नाम सम्झेर मम भने हुन्न र ?

जब रास्वपाका जिल्ला अधिवेशनहरू चल्दै थिए, त्यतिबेला सहभागी केही पूर्व काँग्रेस र कम्युनिष्टसँग जिज्ञासा राख्दा पङतीकारले पाएको जवाफ हो यो – एमालेबाट गएका ३५ प्रतिशत, काङ्ग्रेसबाट २५ प्रतिशत, माओवादी र मधेशवादीबाट १५/१५ प्रतिशत र राप्रपाबाट १० प्रतिशत प्रतिनिधित्व रहेको ।’ समग्र समथर (तराई मधेशको) भू–भागमा अवस्था यस्तै रहेको बताइन्थ्यो ।

भिम उपाध्यायले सदनमा भएको उपस्थितिलाई हेरेर केलाएकोमा कांग्रेसको बढी देखिएछ । मुख्य विषयचाहिँ के हो भने रास्वपा कुनै अन्तरिक्षबाट झरेको, अर्कै विचारधारा बोकेको, अर्कैले बैशाखी टेकाएर उभ्याएको, अदृश्य शक्तिकेन्द्रले जन्माएको पार्टीचाहिँ होइन । त्यसैले अति बढी खेदो खन्ने र अति बढी प्रशंसा कसैले गर्न पर्दैन । जुन दलबाट जति प्रतिशतको प्रतिनिधित्व छ, देखिन्छ, विचार पनि त्यतिनै प्रतिशत मिश्रण गरेर, घोलेर बनाइएको छ । काँग्रेस, कम्युनिष्ट, राप्रपा र मधेशवादीबाट अलग देखाउन ।

सवैलाई थाहा छ– पञ्चायतले काँग्रेस कम्युनिष्टलाई लखेट्दा आफै लखेटिएको, विस्थापित भएको । काँग्रेस एमाले मिलेर तत्कालीन माओवादीका नेताका टाउकाको मोल तोकेर प्रचण्ड र बाबुरामहरूलाई हिरो बनाइएको । त्यसैले गर्दा हो अढाइसय वर्ष पुरानो राजतन्त्र विस्थापित भएर नेपालमा गणतन्त्र आएको ।

त्यसपछि बनेको काँग्रेस एमालेकै सरकारले रवि र बालेनलाई निकृष्ट तरिकाले नलखेटेका भए, खुरुखुरु काम गर्न दिएका भए, न रास्वपा जन्मन्थ्यो, न काँग्रेस र कम्युनिष्टको दुर्दिन सुरु हुन्थ्यो । हुन्नथ्यो । राजनीतिमा सत्ता, शक्ति, नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको बन्ध्याकरण गर्न खोज्दा आफै विस्थापित हुन पुगेका हुन् । रवि र बालेनले पनि पुरानै पाराले शासन चलाए, अहंकार देखाए, सुशासन नदिए, उनीहरूको गति पनि त्यही हुने छ । जस्तो अहिले प्रचण्ड र बाबुरामको भएको छ । ०६३/६४ सालतिर प्रचण्ड र बाबुरामलाई हेर्न मान्छेको जस्तो लर्को लाग्थ्यो, त्यस्तै छ अहिले रवि र बालेनलाई हेर्न चाहनेको । पुराना पार्टी छाडेर उनीहरूका पछि दगुर्नेको ।

म, म र म, नरहे यो देश, पार्टी र राजनीति चल्दैन । प्रकृतिको गति रोकिन्छ भन्ने र ठान्ने पटमूर्खलाई जबसम्म मूल नेतृत्वबाट हटाइदैन, बरु तिमी नभए यो देश, पार्टी र राजनीति सहित प्रकृतिको गति झनै राम्रो तरिकाले अगाडि बढ्छ भनेर बुझाइदैन, तबसम्म हरेक दल र सत्तामा झगडा जारी रहन्छ । काँग्रेस र कम्युनिष्ट, राप्रपा र मधेशवादीमा देखिएको झगडा वा लफडा त्यही हो ।

त्यही रोग नसरोस् र त्यस्तै भोग्न नपरोस् भन्ने चाहेका हुन् रवि र बालेनले पनि । तर सम्भव छैन त्यो, नेपाली राजनीतिको रैथाने रोग हुनाले । अराजकता, अधैर्यता र असहिष्णुताको उर्बर आधार दलीय राजनीतिलाई बनाउनाले । सुरुदेखि नै सपार्न भन्दा बिगार्न र भत्काउन मात्र सिकाउनाले । नेपाली कांग्रेसमा पनि डा. मीनेन्द्र रिजाल र गोविन्दराज पोख्रेल जस्ता नेता छन् ।

जो अध्ययन र प्रमाण बिना भावनामा बगेर बोल्दैनन् । एमालेमा त अमृत बोहोरा, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे र सुहाङ् नेम्बाङ् जस्ता नेताको अभाव छैन । तर त्यस्ता इमान्दारलाई भ्रष्ट र दुष्ट तत्वले पटक्कै अघि सार्दैन ।

पुराना दलहरू सत्ता केन्द्रित हुँदा स्वदेशी तथा विदेशी माफिया र विचौलियाका मतियार र हतियार बनाइए । त्यसैको प्रतिरोध गर्न परेको हो युवा पुस्ताले र जन्माइएको हो रास्वपा । पाएको हो अत्यधिक बहुमत पनि । त्यसैले सदन र सरकार युवाहरूकै पकडमा छ । तर सत्ताका अन्य संयन्त्रहरू पुरानै परपीडक र परजीवी पल्टनको पकडमा हुनाले असहज छ । तथापि, जे हुँदैछ, राम्रै नतिजा देखिदैछ ।

भ्रष्ट र दुष्ट समूहको सातो जाँदैछ । बालेन नेतृत्वको सरकार बन्दा बित्तिकै थाहा भयो– त्रिविविका सयौं प्राध्यापकले ठगेको । करिब ५० जनाले त साढे एघार करोड रकम फर्काएका छन् । फर्काउलान् अरूले पनि । विद्युत प्रयोग गरेर महशुल नतिर्ने उद्योगपतिले तिर्न थालेका छन् ।

सातसय जति कर्मचारी रहेछन् त्यस्तै । हजारौं होलान् शिक्षक । नक्कली शैक्षिक प्रमाणपत्र देखाएर पार्टीको पहुच देखाएर पदोन्नति पाएर जागीर खानेको पनि खैरियत हुने भएन । यस्ता देश ध्वस्त पार्ने धमिराहरू जताततै राखिएका रहेछन् । तिनीहरूका पोल खुलेपछि आत्तिएका छन् । उनीहरूले बालेन नेतृत्वको सरकारलाई विरोध गर्नु सोह्रैआना जायज हो । धेरै नबोल्ने, बोल्दा वित्तिकै गल्ती गर्ने भनेर चर्चा र आलोचनाका पात्र बनाइएका प्रधानमन्त्री बालेन शाह आफ्नो पार्टीको प्रथम महाधिवेशनमा ९ मिनट बोले ।

सदनमा उठेका प्रश्नको जवाफ समेत दिए । सीमा सम्बन्धी विषयमा सदनमा बोलेर विवादित बनेझै महाधिवेशनको उद्घाटन सत्रमा अख्तियारको विषयमा बोलेर आलोचित भए । पूर्वतयारी र सम्भावित होसियारी नअपनाइकन बोल्दा भएको गल्ती होला त्यो । अभ्यास गर्दै, अनुभव बटुल्दै जाँदा, आलोचना सुन्दै अगाडि बढ्दै गर्दा परिपक्व होलान् । भएनन् र अहंकार देखाउँदै गए भने जसरी उदाएका थिए उसैगरी अस्ताउलान् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?