Butwal Today

तेस्रो नगर स्तरीय स्मृति कप टी–ट्वान्टीको उपाधि वडा नम्बर २ लाई

१२ असार २०८३, शुक्रबार
अ+
अ-

कपिलवस्तु ।

दिवङ्गत क्रिकेट खेलाडी र पदाधिकारीहरूको सम्झनामा कपिलवस्तु क्रिकेट सङ्घको आयोजनामा तौलिहवामा सम्पन्न तेस्रो नगर स्तरीय स्मृति कप क्रिकेट प्रतियोगिताको उपाधि कपिलवस्तु नगरपालिका वडा नम्बर २ ले जितेको छ ।

कपिलवस्तु क्रिकेट सङ्घको आयोजनामा असार ६ गते देखी १२ गते सम्म स्मृति कप सञ्चालन गरिएको हो । फाइनलमा कपिलवस्तु नगरपालिका वडा नम्बर १२ लाई १५ रनले हराउँदै कपिलवस्तु नगरपालिका वडा नम्बर २ ले स्मृति कप जितेको हो ।

निर्धारित १५ ओभरको खेलमा पहिले ब्याटिङ गरेको वडा नम्बर २ ले नौ विकेटको क्षतिमा ९६ रन बनाएको थियो । वडा नम्बर २ का खेलाडी पवन कुमार गुप्ताले ४४ बल खेल्दै ६ चौका र ३ छक्काको मद्दतले सर्वाधिक ५१ रन जोडेका थिए ।

बलिङतर्फ वडा नम्बर १२ का इरफान अलीले ३ ओभरमा २१ रन दिएर ३ विकेट लिए । दोस्रो ईनिङ्गको खेलमा वडा नम्बर १२ का खेलाडीले १२ ओभरमा अलआउट हुँदै ८१ रन जोडेका थिए । वडा नम्बर १२ का खेलाडी करम हुसेनले १४ बलमा सर्वाधिक २१ रन जोडेका थिए ।

बलिङतर्फ वडा नम्बर २ का कुशल थापा मगरले ३ ओभरमा १३ रन दिएर ५ विकेट लिएर स्मृति कप जितको सुनिश्चितता गरेका थिए ।

फाइनल खेलको म्यान अफ म्याच कुशल थापा मगर भएका थिए । प्रतियोगिताको म्यान अफ द सिरिज भएका वडा नम्बर २ का क्याप्टेन शिव कुमार मौर्यलाई नगद ३ हजार, शिल्ड र प्रमाणपत्र दिइएको थियो ।

स्मृति कप विजेता वडा नम्बर २ लाई कपिलवस्तु क्रिकेट सङ्घका अध्यक्ष प्रकाश गैरे, कपिलवस्तु नगरपालिका नगर प्रमुख सुदिप पौडेल, कार्यक्रम संयोजक पदमराज श्रेष्ठ, वडा नम्बर १ का अध्यक्ष मोहम्मद जाहिद खाँ, क्रिकेट सङ्घ सदस्य माया ज्ञवाली र नगरपालिकाका शिक्षा प्रमुख युवराज भुसालले नगद ६० हजार, शिल्ड, मेडल र प्रमाणपत्र हस्तान्तरण गरे ।

त्यसै गरि उपविजेता वडा नम्बर १२ लाई नगद ३० हजार, शिल्ड, मेडल र प्रमाणपत्र दिइएको थियो ।

पछिल्लो समय क्रिकेट खेल प्रतिको युवा खेलाडीको आकर्षण बढ्दै गएको र आगामी दिनका प्रदर्शन अझै उत्कृष्ट रहने नगर प्रमुख सुदिप पौडेलले बताए ।

व्यवसायीक खेलको रूपमा विकास हुँदै गएको क्रिकेट खेललाई प्रोत्साहन गर्न आयोजित स्मृति कपलाई भविष्यमा विस्तारित बनाउने योजना रहेको कपिलवस्तु क्रिकेट सङ्घका अध्यक्ष प्रकाश गैरेले बताए । दिवङ्गत क्रिकेट खेलाडी प्रति समर्पित स्मृत कपको निरन्तरता रहने उनको भनाई थियो ।

प्रतियोगिता दिवङ्गत पूर्व पदाधिकारी बनारसीलाल वर्मा, दिवङ्गत खेलाडीहरू राजेन्द्र प्रताप शाक्य, दीपेन्द्र सिंह रावल, विजय शर्मा, धिरेन्द्र सिंह, कमल राना, रञ्जित अग्रहरी, रत्नेश गुप्ता, खगेन्द्र कार्की र श्रवण गुप्ताको सम्झनामा दोस्रो स्मृति कप आयोजना गरिएको हो ।

प्रतियोगितामा नगरका १२ वडाका १२ टोलीले नकआउटका आधारमा प्रतियोगिता खेलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?