Butwal Today

रुपन्देही क्रिकेट सङ्घको नवनिर्वाचित कार्यसमितिको शपथग्रहण

६ असार २०८३, शनिबार
अ+
अ-

सिद्धार्थनगर । रुपन्देही क्रिकेट सङ्घको नवनिर्वाचित कार्यसमितिको शपथग्रहण तथा पदस्थापन कार्यक्रम शनिबार भैरहवामा सम्पन्न भएको छ।

सङ्घको ३०औँ वार्षिक साधारणसभा तथा पाँचौँ अधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरूले कार्यक्रममा शपथ ग्रहण गर्दै पदभार सम्हालेका हुन्।

कार्यक्रमको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेयले खेलकुद र पर्यटन एक अर्काका परिपूरक क्षेत्र भएको उल्लेख गर्दै खेल गतिविधि विस्तारमार्फत पर्यटन प्रवर्द्धन गर्न सकिने बताए ।

उनले रुपन्देहीको क्रिकेट विकासका लागि प्रदेश सरकारले १ करोड २४ लाख रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए। उक्त बजेट क्रिकेट मैदान स्तरोन्नति, महिला क्रिकेट विकास तथा विभिन्न प्रतियोगिता सञ्चालनमा खर्च गरिने उनले बताए।

नवनिर्वाचित अध्यक्ष हरिबहादुर थापाले सङ्घलाई पारदर्शी, जिम्मेवार र जबाफदेही संस्थाका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। उनले महिला क्रिकेटको विकास, खेलाडीको तथ्याङ्क व्यवस्थापन तथा क्रिकेटसँग सम्बन्धित संस्थाबिच सहकार्य विस्तारलाई प्राथमिकतामा राखिने बताए।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँनले भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाउन आवश्यक पहल गर्नुपर्ने धारणा राखे। कार्यक्रममा लुम्बिनी प्रदेश क्रिकेट संघ, उद्योग–वाणिज्य तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूले क्रिकेट विकासका लागि समन्वय र लगानी आवश्यक रहेको बताएका थिए।

सो अवसरमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य तथा अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचनलाई सम्मान गरिएको थियो। सङ्घको पाँचौँ अधिवेशनका मुख्य निर्वाचन अधिकृत कुलमणि ज्ञवालीले नवनिर्वाचित १५ सदस्यीय कार्यसमितिलाई शपथ गराएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?