Butwal Today

उद्देश्यपरक भ्रमणको महत्त्वपूर्ण उपलब्धि 

५ असार २०८३, शुक्रबार
अ+
अ-

गताङ्कको बाँकी 
महन्तज्यूले केही समय पहिले बुटवलमा रहेको मुक्तिनाथ धाममा आएको स्मरण समेत सो अवसरमा गर्नुभएको थियो । त्यसपछि राम जानकी मन्दिर प्राङ्गणमा सामूहिक फोटो लिई भोजनका लागि भोजनालयतिर लाग्यौँ ।

तत पश्चात् हामी जनकपुरधाम उद्योग वाणिज्य सङ्घ सचिवालय गई स्वागत तथा अन्तरक्रिया कार्यक्रममा सहभागी भयौँ । भौतिक संरचनाका दृष्टिकोणले जनकपुरधाम उद्योग वाणिज्य सङ्घ निकै सम्पन्न लाग्यौ । नेउवा महासङ्घको हालसालै सम्पन्न ६० औँ साधारण सभा तथा निर्वाचनको सूक्ष्म समीक्षा समेत औपचारिक अनौपचारिक हिसाबले गरियो ।

पछिल्लो समयमा सीमावर्ती बजारमा भन्सारको कडाइ र चोरी पैठारी नियन्त्रणमा सुरक्षाकर्मी परिचालनले गर्दा आन्तरिक व्यापार बढेको महसुस भएको अनुभव जनकपुरका साथीहरूले सुनाउनु भयो । साँझको गन्तव्य धरान भएको र लाहानमा समेत पस्नुपर्ने भएकोले हामीलाई समयको ठूलो दबाब थियो तथापि नेउवा महासंघ मधेश प्रदेशको कार्यालय नजिकै रहेको र अध्यक्ष विजय साहजीले प्रतीक्षा गरेको जानकारी पाएपछि हतार हतार हामी केही साथी त्यता लाग्यौँ ।

उहाँसँगको संक्षिप्त भेटघाट र खादा ग्रहण पश्चात् हामी सिराहा उद्योग वाणिज्य सङ्घ लाहानतर्फ लाग्यौ । मिर्चैया, गोलबजार हुँदै ६।३० बजे सिराहा उद्योग वाणिज्य सङ्घ लाहान पुगियो । अध्यक्ष प्रदिप गुप्ता लगायतका साथीहरू हाम्रो प्रतिक्षामा सचिवालयमा पर्खिरहनु भएको थियो ।

नेपाल उद्योग वाणिज्य महासङ्घको ६० औँ साधारण सभा तथा निर्वाचन कार्यक्रमको पूर्व सन्ध्यामा भएको नीतिगत संवादको स्मरण गर्दै जिल्ला नगर उद्योग वाणिज्य संघहरूका साझा समस्या र नेउवा महासंघले निर्वाह गर्नुपर्ने भूमिकाको चर्चा गरियो ।

नेउवा महासंघमा सिराहा उद्योग वाणिज्य संघका तर्फबाट निर्वाचित कार्यकारिणी सदस्य बिकास शारदा नेपाल बाहिर हुनु भएकोले उहाँसंग भने भेट हुन सकेन । करिव ७।३० बजे तिर हामी त्यस दिनको अन्तिम गन्तव्य धरानका लागि हिड्यौँ ।

हिडेको करिव २० मिनेट पछि हाम्रो भ्रमण टोलीको सदस्य पौडेललाई सहनै मुस्किल हुने गरि टाउको दुख्न शुरु भएपछि अलि अस्वभाविक चिड्चिडाहट आएको कुरा उहाँसंगै बसेकी कमलाजीले गरे पछि हाम्रो टोली भित्रका औषधी उत्पादक तथा अस्पताल संचालक समेत रहनु भएका सुरज भट्टराइले यो त माइग्रेन (हेडेक) को लक्षण हो भनेर उहाँसंग भएको ग्रीन्याप पाँचसय एमजीको औषधि दिनु भयो ।

करिव आधा घण्टा सम्म जमुनालाई कमलाले काखमा र रेनुले हेडमसाज गरेपछि औषधि, काख र मसाजले होला अलि रिलिफ भएको संकेत गर्नुभयो र हामी सबैले लामो सास फे¥यौ । सबै साथीहरू दिनभरको यात्राको थकान हुदाहुदै पनि जमुनाको टाउको दुखाइ कम भएसंगै राहतको महसुस भएको थियो ।

रात बढ्दै थियो मरमजियाका असली, सक्कली, पुरानो समेतका विशेषण जोडिएका बाजेका पेडाका उज्याला पसलहरू गाडी भित्रबाटै नियाल्दै हामी कोशीको पुलतर्फ लाग्यौँ । बिचबिचमा धरानबाट गोपाल दाइले कहाँ आइपुग्नु भयो भन्दै सोधपुछ गरिनै रहनु भएको थियो । करिव १०।३० बजे तिर हामी धरान पुग्यौँ । सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष एवम नेउवा महासंघका कार्यकारिणी सदस्य आदरणीय गोपाल दाई पेट्रोल पम्पमा हामीलाई पर्खेर बसिरहनु भएको रहेछ ।

त्यसपछि हामीलाई खाना खाने र सुत्ने ब्यवस्थापन गरिएको होटल धरान किचनतर्फ दाइकै स्कटिङ्ममा पुगियो । आ–आफ्ना रुचि अनुसारको भोजन गरि सकेपछी भोलि विहान ८।०० बजे उद्योग वाणिज्य संघमा भेट हुने गरि चारजना महिला सदस्य र नरिश्वरजी, टंक दाइ र म त्यही होटलमा बस्यौ अरू सबै साथीहरू सुनसरी उद्योग वाणिज्य संघले संचालन गरेको अतिथि गृहमा जानुभयो ।

तेश्रो दिन 
बिहान ७ बजे तिर उठेर नित्यकर्म गरि हामी सातजना ८ बजे सङ्घ सचिवालय जाने तयारी गर्दै अतिथी गृहमा बसेका साथीहरूलाई फोन गर्दै गर्दा त उहाँहरू १४ जनाको टोलि भने बुढा सुब्बा दर्शन गरेर फर्किसक्नु भएको रहेछ । गोपाल दाइले हामीलाई लिन आफ्नो गाडी पठाउनु भयो । पहिले चारजना बहिनीहरू जानु भो । पछि अर्को खेपमा हामी तीन भाई गयौँ ।

नेपाल उद्योग वाणिज्य महासङ्घको संस्थापक भएर पनि महासंघमा पहिलोपटक त्यो पनि संस्थापकको कोटामा कार्यकारिणी सदस्य निर्वाचित भएकोमा सुनसरी उद्योग वाणिज्य संघमा छुट्टै खालको उत्साह अनुभूति गर्न सकिन्थ्यो ।

त्यो परिणामका लागि बुटवल उद्योग वाणिज्य संघको तर्फबाट सहयोग भएको विश्वासले पनि हामीप्रति सिंगो धरान सकारात्मक भएको महसुस भ्रमणमा सहभागी मैले गरेको थिए । हार्दिकतापूर्ण स्वागत, सम्मान र आतिथ्यता ग्रहण गरि दिगो र विश्वासिलो सम्बन्ध स्थापित गरि निजी क्षेत्र मैत्री नीतिगत पैरवीमा सहकार्यको प्रतिवद्धता गरेर आदरणीय बिमला भाउजू, रोशनलाल सावन समेत सुनसरी उद्योग वाणिज्य सङ्घ परिवारसंग बिदा भई बिराटनगर तर्फ लाग्यौँ ।

बिराटनगरमा पहिलो भेटघाट मोरङ उद्योग संगठन तय भएको थियो । सोही बमोजिम हामी बिहानको ११।३० बजे मोरङ उद्योग संगठनको सचिवालय पुग्यौँ । नेपाल उद्योग वाणिज्य महासंघ भित्रको एउटा सशक्त जिल्ला नगर उद्योग वाणिज्य सङ्घ जो फरक नाम र कार्य क्षेत्रले चिरपरिचित छ । यसको कार्य क्षेत्र मोरङ र सुनसरी जिल्ला रहेको छ भने सबै जसो जिल्ला नगरका अगाडि वा पछाडी उद्योग वाणिज्य हुने गरेकोमा यसको पछाडी संगठन मात्र रहेको छ ।

जसरी नाम र कार्य क्षेत्रमा फरकपन देखियो संस्थाको सचिवालय ब्यवस्थापन, सदस्यता शुल्क, सदस्यता नविकरणका प्रावधान पनि केही न केही फरक अनुभुति गरियो । स्थानिय उत्पादनको प्रदर्शनी र सदस्य वा गैर सदस्यका लागि प्रबिधि मैत्री सुचना प्रणाली जस्ता नविनतम अभ्यासले हामीले बुटवलमा पनि केही नयाँपन दिने प्रतिवद्धता सबैका आएको हुनुपर्दछ ।

नेउवा महासंघका धेरै पूर्व पदाधिकारी जसले मोरङ उद्योग संगठनको नेतृत्व गरेको देख्दा गर्व गर्न लायक देखिन्थ्यो । माथि उल्लेखित पृष्ठभूमिमा मोरङ उद्योग संगठनका अध्यक्ष नन्दकिशोर राठीले सालिनताका साथ गर्नु भएको हार्दिकतापूर्ण स्वागत, सम्मान र सत्कारले हामी सबैलाई गौरवान्वित तुल्याएको थियो । करिव दुई घण्टाको औपचारिक अनौपचारिक कार्यक्रम पश्चात् बिहानको खाना खाएर सचिवालयको अवलोकन गर्दै हामी अर्को गन्तव्यतिर लाग्यौँ ।

तेश्रो दिनको दोश्रो गन्तव्य थियो नेउवा महासङ्घको सस्थापक मध्येको प्रभावशाली सस्था मोरङ व्यापार सङ्घ । पछिल्लो समय मोरङ व्यापार संघको नाम परिवर्तन भएर मोरङ उद्योग व्यापार सङ्घ भएको रहेछ । नेपालको औद्योगिक बिकास जे जति भएको छ त्यसको जग भनेकै बिराटनगर र त्यसको सेरोफेरोको उद्यमशीलता नै हो ।

बि.सं. २००७ भन्दा अघि नै उद्योग र ब्यवसायिक प्रतिष्ठानहरूको स्थापना र संचालनको पृष्ठभूमिमा उद्योगी र ब्यवसायीको साझा र छाता सस्थाको गौरवशाली इतिहास भएको मोरङ उद्योग व्यापार संघको सचिवालयमा करिव १।३० बजे पुग्यौँ । अध्यक्ष अनुपम राठी बिराटनगर बाहिर रहनु भएकोले संघका वरिष्ठ उपाध्यक्ष एवम कार्यवाहक अध्यक्ष अनिल साहजीले सचिवालयको अवलोकन गराइ औपचारिक रूपमा स्वागत तथा अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको रहेछ ।

सचिवालय अवलोकनको क्रममा २०५७ सालमा उद्योग वाणिज्य सङ्घ, बुटवलको तर्फबाट प्रदान गरिएको मायाको चिनो समेत देखियो र करिव २५ वर्ष पछिको औपचारिक भेटघाट भयो कि त भनी मनमनै अग्रजहरूलाइ स्मरण गरेँ ।

राष्ट्रिय उत्पादनको संरक्षण, खुल्ला सिमाका कारण वैधानिक ब्यापारमा देखिएका समस्या, नेउवा महासङ्घको संरचनाले जिल्ला नगर उद्योग वाणिज्य सङ्घ र तिनका सदस्य ब्यवसायी प्रतिको दायित्व वोध गराउन साझा प्रयत्न गर्ने प्रतिवद्धता गर्दै तेश्रो दिनको दोश्रो भेटघाट सम्पन्न गरि दमक तर्फ प्रस्थान गरौँ ।

पूर्व निर्धारित कार्यक्रम अनुसार नेउवा महासंघका कार्यकारिणी सदस्य तथा मोरङ उद्योग व्यापार संघका निवर्तमान अध्यक्ष नवीन रिजाल उर्लाबारी उद्योग वाणिज्य संघको कार्यक्रममा जानु भएकोले टेलिफोन सम्वाद भए पनि प्रत्यक्ष भेटघाट हुन सकेन । तेश्रो दिनको अन्तिम भेटघाट दमक उद्योग वाणिज्य संघसंग गर्ने पुर्व निधारित कार्यक्रम अनुसार हामी साझ ६:३० बजे दमक उद्योग वाणिज्य संघको सचिवालयमा पुग्यौँ ।

दमक उद्योग वाणिज्य संघको टोली एक वर्ष अघि मात्र अध्ययन अवलोकन भ्रमणको क्रममा बुटवल आउदा भेट भएका साथीहरूको पुनर्मिलन पनि भएकोले यहाँको माहोल भने अलि फरक थियो । संयोगबस दमक उवासंघका अध्यक्ष आदरणीय गोपाल गुरागाईको एक महिने पारिवारिक भ्रमणमा अष्ट्रेलिया तर्फ जान लागेको र कार्यवाहक अध्यक्ष र निवर्तमान अध्यक्ष एवम नेउवा महासंघका कार्यकारिणी सदस्य गोकुल श्रेष्ठज्यूले सबै ब्यवस्थापन गर्ने जानकारी गोपालजीले टेलिफोन मार्फत गराउनु भएको थियो ।

केही पुराना स्मरण, केही नयाँ सम्झना, महासंघ निर्वाचन तयारीका सन्दर्भमा दुईपक्षीय सहयोग र सहकार्य लगायतका विषयमा अन्तरक्रिया, बधाई साटासाट गरि औपचारिक कार्यक्रम समापन गरि हामी बटौलीका सबै, गोकुलजी, भगवानजी र दमकका अन्य पदाधिकारी समेत हामी बस्ने तय भएको थ्री इन होटलमा गयौँ । हामी होटल पुग्दापुग्दै बुटवल उद्योग वाणिज्य संघका संचार समन्वयकर्ता पत्रकार कबिन्द्र नेपाल पनि भ्रमणमा सहभागी हुन काठमाण्डौबाट दमक आईपुग्नु भयो र टेलिफोन मार्फत लोकेशन दिएपछि त्यही आइपुग्नु भयो ।

अब हाम्रो टोलीमा २० जना भयौं । थकाइ मेटाउने र शरीरमा स्फुर्ती ल्याउने पेय पदार्थ सहितको भोजनका साथ संक्षिप्त सांगीतिक माहोलमा १०।३० बजेसम्म रमाई भोली बिहान ८।०० बिर्तामोड पुग्ने गरि ७।०० होटलको लविमा आउन सूचना गरि कोही विवाह खेल (म्यारिज), कोही निद्रा देवीको शरणमा पुगियो ।

मेरो लागि यो होटल बास र बिस्तारामा अनौठो संगोग जुटेछ । महासङ्घको ६० औँ साधारण सभा तथा निर्वाचनको सिलसिलामा पनि अर्जुन श्रेष्ठ दाईसंग ३०५ नम्बर कोठामा जुन बिस्तारामा सुतेको थिएँ त्यसदिन पनि ठ्याक्कै त्यही परेछ ।
क्रमशः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?