© 2026
बुटवल । केही वर्ष अघिसम्म जटिल रोगको उपचारका लागि बुटवल तथा आसपासका जिल्लाका बिरामीहरू काठमाडौँ, चितवन वा भारतसम्म धाउन बाध्य थिए ।
विशेषज्ञ सेवा सहज रूपमा उपलब्ध नहुँदा समय, खर्च र मानसिक तनाव समेत थपिन्थ्यो । तर पछिल्ला वर्षहरूमा बुटवलको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय उपस्थिति जनाउँदै आएको सिद्धबाबा हस्पिटल प्रालिले यस अवस्थालाई परिवर्तन गर्ने प्रयास गरिरहेको छ ।
बुटवलको राजमार्ग चौराहाबाट करिब ५०० मिटर पूर्व, बुटवल मण्डप अगाडि अवस्थित यस अस्पतालको स्थापना २०७५ साल वैशाख १२ गते भएको हो । विशेषज्ञ चिकित्सकहरूद्वारा विशेषज्ञ सेवा प्रदान गर्ने उद्देश्य सहित स्थापना भएको अस्पतालले छोटो समयमै पश्चिम नेपालका बिरामीहरूको भरोसा योग्य स्वास्थ्य संस्थाको रूपमा पहिचान बनाएको छ ।
अस्पतालले सुरुआती चरणमा मुटु, मिर्गौला, फोक्सो, टाउको तथा स्नायु सम्बन्धी रोगहरूको उपचार सेवा सुरु गरेको थियो । समयसँगै सेवा विस्तार गर्दै अहिले मुटु रोग, मिर्गौला रोग, न्युरो सर्जरी, स्पाइन सर्जरी, हाड जोर्नी तथा ट्रमा, स्त्री तथा प्रसूति रोग, युरोलोजी, जनरल सर्जरी, बाल तथा शिशु रोग, रेडियोलोजी, पेट तथा कलेजो रोग लगायतका बहु विशेषज्ञ सेवा सञ्चालनमा छन् ।
अस्पतालले पछिल्लो चार वर्षमा सात हजारभन्दा बढी सफल शल्यक्रिया सम्पन्न गरिसकेको छ । विशेष गरी मुटु, फोक्सो र मिर्गौलाजस्ता जटिल रोगका बिरामीलाई उपचारका लागि काठमाडौँ धाउनुपर्ने बाध्यता कम भएको अस्पतालको भनाइ छ । स्थानीय स्तरमै विशेषज्ञ चिकित्सकबाट उपचार र शल्यक्रिया सेवा उपलब्ध हुन थालेपछि पश्चिम नेपालका हजारौँ बिरामी लाभान्वित भएका छन् ।
सिद्धबाबा हस्पिटलको अर्को महत्त्वपूर्ण विशेषता भनेको निःशुल्क डायलासिस सेवा हो । अस्पतालले विगत तीन वर्षदेखि मिर्गौला रोगीहरूलाई निःशुल्क डायलासिस सेवा प्रदान गर्दै आएको छ । यस सेवाबाट आर्थिक रूपमा कमजोर बिरामीले विशेष राहत महसुस गरेका छन् ।
२५ शैयाबाट सञ्चालन सुरु भएको अस्पतालले हालसम्म एक लाखभन्दा बढी बिरामीलाई सेवा प्रदान गरिसकेको छ भने वार्षिक रूपमा ५० हजारभन्दा बढी सेवाग्राहीले यहाँबाट उपचार सेवा लिने गरेका छन् । बुटवल, भैरहवा, पाल्पा, गुल्मी, अर्घाखाँची, नवलपरासी, कपिलवस्तु, दाङ, रोल्पा, प्यूठान, बाग्लुङ र पर्वत लगायतका जिल्लाबाट बिरामीहरू उपचारका लागि यहाँ आउने गरेका छन् ।
अस्पतालमा ओपीडी, २४सै घण्टा इमर्जेन्सी सेवा, आइसियु, सीसीयू, फार्मेसी, प्याथोलोजी, प्रसूति सेवा तथा पूर्ण वातानुकूलित (एसी) जनरल वार्ड सञ्चालनमा छन् । अत्यधिक गर्मीका बेला पूर्ण एसी सुविधाले बिरामीलाई थप सहजता र राहत प्रदान गरेको अस्पतालले जनाएको छ ।
हाल अस्पतालमा १९ जना विशेषज्ञ चिकित्सक सहित करिब एक सय स्वास्थ्यकर्मी तथा कर्मचारी कार्यरत छन् । विशेषज्ञ चिकित्सकबाट नै विशेषज्ञ सेवा उपलब्ध गराउने अवधारणा अनुसार अस्पतालले सेवा सञ्चालन गर्दै आएको छ । स्वास्थ्य सेवा सबै नागरिकको पहुँचमा पुग्नुपर्छ भन्ने उद्देश्य सहित अस्पतालले विभिन्न सहुलियत कार्यक्रम समेत सञ्चालन गरेको छ ।
नेपाल सरकारले तोके बमोजिम विपन्न वर्गका बिरामी तथा ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क ओपीडी सेवा सहित उपचार शुल्कमा १० प्रतिशत सम्म छुट प्रदान गरिँदै आएको छ ।
अस्पतालका जनसम्पर्क अधिकारी अर्जुन पाण्डेका अनुसार बिरामीको आर्थिक अवस्था र आवश्यकताको मूल्याङ्कन गरी थप सहुलियत सुविधा उपलब्ध गराउने व्यवस्था पनि रहेको छ । साथै सरकारद्वारा सञ्चालन गरिएका विभिन्न उपचार सहायता कार्यक्रमहरूमा अस्पताल सूचीकृत रहेको छ ।
अस्पतालका निर्देशक डा. यमन प्रधानले स्वास्थ्य सेवाको गुणस्तरमा कुनै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गर्दै भने, “हामीले विशेषज्ञ चिकित्सकहरूलाई एउटै छानामुनि ल्याएर पश्चिम नेपालका नागरिकलाई राजधानी स्तरको सेवा दिने लक्ष्य राखेका छौँ । उपचारका लागि काठमाडौँ वा भारत जानुपर्ने बाध्यता अन्त्य गर्नु हाम्रो मुख्य उद्देश्य हो । आगामी दिनमा थप आधुनिक प्रविधि र सेवा विस्तार गरेर अस्पताललाई अझ सक्षम बनाउने योजना छ ।”
त्यस्तै अस्पतालका अध्यक्ष डा. दिपेश प्रधानले भविष्यमा अत्याधुनिक क्याथ ल्याब सेवा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए । उनले भने, “मुटु रोगको उपचारलाई अझ प्रभावकारी बनाउन क्याथ ल्याब स्थापना गर्ने योजना अघि बढाइएको छ ।
साथै सुविधा सम्पन्न आफ्नै अस्पताल भवन निर्माणको तयारी पनि भइरहेको छ । बिरामीले एकै स्थानमा सम्पूर्ण आधुनिक स्वास्थ्य सेवा पाउन सकुन् भन्ने हाम्रो लक्ष्य हो ।”
हाल अस्पतालसँग आफ्नै भवन नभए पनि आधुनिक प्रविधिसहितको सुविधा सम्पन्न अस्पताल भवन निर्माणको प्रक्रिया अघि बढाइएको छ । सेवा विस्तारसँगै भौतिक पूर्वाधारलाई समेत सुदृढ बनाउने योजना व्यवस्थापनले अघि सारेको छ ।
विशेषज्ञ सेवा, अनुभवी जनशक्ति, हजारौँ सफल शल्यक्रिया, निःशुल्क डायलासिस, सामाजिक उत्तरदायित्वका कार्यक्रम तथा आधुनिक स्वास्थ्य सेवाप्रतिको प्रतिबद्धताका कारण सिद्धबाबा सुपरस्पेशलिष्ट इन्टरनेशनल हस्पिटल आज बुटवल मात्र नभई समग्र पश्चिम नेपालकै भरोसा योग्य स्वास्थ्य संस्थाका रूपमा स्थापित हुँदै गएको छ ।
नेपालमा स्वास्थ्य सेवा अझै पनि सबै नागरिकको सहज पहुँचमा पुग्न नसकेको अवस्थामा सिद्धबाबा सुपरस्पेशलिष्ट इन्टरनेशनल हस्पिटलले उपचार सेवासँगै स्वास्थ्य सचेतना अभिवृद्धिमा समेत योगदान पु¥याउँदै आएको छ ।
अस्पतालले विभिन्न समय र स्थानमा निःशुल्क स्वास्थ्य शिविर, स्वास्थ्य परीक्षण कार्यक्रम तथा जनचेतना मूलक अभियान सञ्चालन गर्दै समुदायसँग प्रत्यक्ष सम्बन्ध स्थापित गरेको छ । यस्ता कार्यक्रम मार्फत ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई प्रारम्भिक स्वास्थ्य परीक्षण तथा विशेषज्ञ चिकित्सकको परामर्श उपलब्ध गराइँदै आएको छ ।
अस्पतालले गुणस्तरीय सेवा, बिरामी मैत्री वातावरण र आधुनिक स्वास्थ्य प्रविधिको प्रयोगलाई प्राथमिकतामा राख्दै उपचार प्रक्रियालाई थप प्रभावकारी बनाएको छ । बिरामी तथा उनका परिवारका सदस्यलाई सहज अनुभूति दिलाउने वातावरण निर्माणमा पनि अस्पतालले विशेष ध्यान दिएको छ । यही कारणले छोटो समयमै अस्पतालप्रति आम नागरिकको विश्वास बढ्दै गएको देखिन्छ ।
पश्चिम नेपालमा स्वास्थ्य सेवाको केन्द्रका रूपमा विकास भइरहेको बुटवलमा सिद्धबाबा हस्पिटलले निजी स्वास्थ्य क्षेत्रको सकारात्मक उदाहरण प्रस्तुत गरेको छ । विशेषज्ञ जनशक्ति, आधुनिक सेवा तथा सामाजिक उत्तरदायित्वलाई सँगसँगै अघि बढाउँदै अस्पतालले स्वास्थ्य क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्ने प्रयास गरिरहेको छ ।
भविष्यमा थप विशेषज्ञ सेवा, अत्याधुनिक उपकरण तथा पूर्वाधार विस्तारसँगै यसले पश्चिम नेपालका नागरिकलाई अझ गुणस्तरीय र सहज स्वास्थ्य सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ ।