© 2026
स्थापना, योगदान र भावी योजना
आधुनिक जीवनशैली, खानपानमा आएको तीव्र परिवर्तन र बढ्दो वातावरणीय प्रदूषणका कारण आज मानव समाजमा जटिल स्वास्थ्य समस्याहरू दिनप्रतिदिन थपिँदै गइरहेका छन् ।
यस्तो परिस्थितिमा समयमै रोगको सही पहिचान हुनु र उचित विशेषज्ञ उपचार पाउनु आम नागरिकका लागि ठुलो चुनौतीको विषय बन्ने गरेको छ । यही गम्भीर चुनौतीलाई चिर्दै र मोफसलका बिरामीहरूलाई जटिल उपचारका लागिसमेत काठमाडौँ वा छिमेकी मुलुक भारतका विभिन्न अस्पतालहरूमा धाउनुपर्ने बाध्यात्मक अवस्थाको पूर्ण अन्त्य गर्ने उद्देश्यका साथ पाँच वर्षअघि रुपन्देहीको बुटवलमा नेशनल मल्टिस्पेशालिटी क्लिनिकको सुरुवात भएको थियो ।
गुणस्तरीय र विशेषज्ञ स्वास्थ्य सेवालाई एउटै छानामुनि उपलब्ध गराउने सङ्कल्पका साथ स्थापित यस क्लिनिकले आज छोटो अवधिमै लुम्बिनी प्रदेशकै स्वास्थ्य क्षेत्रमा एक बलियो भरोसाको केन्द्रका रूपमा आफ्नो पहिचान स्थापित गरिसकेको छ ।
सुरुवाती चरणमा मिर्गौला रोग सम्बन्धी सेवा प्रदान गर्दै आएको यस क्लिनिकले हाल विभिन्न विशेषज्ञ चिकित्सकीय सेवाहरू सफलतापूर्वक सञ्चालन गरिरहेको छ । हाल क्लिनिकमा कार्डियोलोजी, न्यूरोलोजी, ग्यास्ट्रोएन्टेरोलोजी, सर्जरी, रगत रोग, स्त्री तथा प्रसूति रोग, मिर्गौला रोग लगायतका विशेषज्ञ सेवाहरू नियमित रूपमा उपलब्ध छन् ।
साथै फार्मेसी, अत्याधुनिक प्रयोगशाला तथा विभिन्न निदानात्मक तथा उपचारात्मक सेवाहरू पनि प्रदान गरिँदै आएको छ । सेवा लिनका लागि यो क्लिनिकमा रुपन्देही, नवलपरासी , कपिलवस्तु, गुल्मी, अर्घाखाँची, पाल्पा, रोल्पा, दाङ सहित लुम्बिनी प्रदेश भरीका बिरामीहरू उपचारका लागि आउने गर्दछन् । यहाँ भरपर्दो उपचार गुणस्तरीय सेवाका कारण पाँच वर्षमा धेरै बिरामीले सेवा लिएका छन् ।
निदानात्मक तथा उपचारात्मक सेवामा योगदान
नेशनल मल्टिस्पेशालिटी क्लिनिकले पेट, कलेजो तथा आन्द्रा सम्बन्धी रोगहरूको निदान तथा उपचारका लागि इन्डोस्कोपी र कोलोनोस्कोपी सेवा करिब पाँच वर्षदेखि नियमित रूपमा सञ्चालन गर्दै आएको छ ।
विशेष गरी कलेजो रोगका बिरामीहरूमा देखिने इसोफेजियल भेरिसिस (घाँटीको नसाबाट हुने रक्तस्राव) नियन्त्रण गर्न गरिने “भेरिसियल ब्यान्डिङ” सेवा यस क्षेत्रमा नियमित रूपमा उपलब्ध गराउने अग्रणी संस्था मध्ये क्लिनिक एक हो । यस सेवाका कारण यस क्षेत्रका धेरै बिरामीहरूले समयमै उपचार प्राप्त गरेका छन् ।
यस सेवाको गुणस्तर र प्रभावकारिताका कारण क्षेत्रका ठुला अस्पतालहरूबाट समेत जटिल बिरामीहरूलाई रेफर गरिने गरेको थियो । यसरी क्लिनिकले पश्चिम नेपालका बिरामीहरूलाई अत्यन्तै महत्त्वपूर्ण र जीवन रक्षक सेवा प्रदान गर्दै आएको छ ।
सामाजिक उत्तरदायित्व
नेशनल मल्टिस्पेशालिटी क्लिनिकले स्वास्थ्य सेवा मात्र नभई सामाजिक उत्तरदायित्वलाई पनि आफ्नो प्रमुख दायित्वको रूपमा लिएको छ । क्लिनिकले विभिन्न समयमा निःशुल्क स्वास्थ्य शिविर, निःशुल्क थाइराइड परीक्षण, रगतमा चिनी (सुगर) परीक्षण तथा मिर्गौलाको कार्यक्षमता मूल्याङ्कनका लागि क्रिएटिनिन परीक्षण सञ्चालन गरेको छ ।
यस्ता कार्यक्रमहरू क्लिनिक परिसरमा मात्र नभई विभिन्न सामाजिक संस्थाहरू तथा रोट्र्याक्ट क्लवहरूसँगको सहकार्यमा पनि सञ्चालन गरिएका छन् । समाजप्रतिको उत्तरदायित्व बोधका कारणले पनि यो क्लिनिकलाई धेरैले आफनोपनको रूपमा ग्रहण गरिरहेको संस्थामा संचालक लक्ष्मण घिमिरेले बताए ।
त्यसै गरी, रेडियो मुक्तिसँगको सहकार्यमा अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजित महिला दौड प्रतियोगितामा प्रायोजन तथा सहकार्य गरी कार्यक्रमलाई सफल बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरिएको थियो । आर्थिक रूपमा कमजोर तथा उपचार खर्च वहन गर्न नसक्ने बिरामीहरूलाई निःशुल्क ओपिडी सेवा, आवश्यक प्रयोगशाला परीक्षण तथा विभिन्न छुट सुविधाहरू प्रदान गरिँदै आएको छ ।
साथै ज्येष्ठ नागरिक,अपाङ्गता भएका व्यक्ति तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई विशेष सहुलियत प्रदान गरी उपचार सेवामा सहज पहुँच सुनिश्चित गरिएको छ । क्लिनिकको विश्वास छ कि प्रत्येक नागरिकले गुणस्तरीय स्वास्थ्य सेवामा समान पहुँच पाउनुपर्छ । यही मान्यतालाई आत्मसात गर्दै आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई निरन्तरता दिइनेछ ।
संस्थागत विकास तथा उपलब्धि
नेशनल मल्टिस्पेशालिटी क्लिनिकले बुटवलमा आधुनिक तथा व्यवस्थित क्लिनिकको अवधारणा स्थापित गर्न महत्त्वपूर्ण योगदान पु¥याएको छ । बिरामी मैत्री वातावरण, सफा तथा व्यवस्थित प्रतीक्षालय, तातो–चिसो खानेपानीको सुविधा, वातानुकूलित (एसी) कक्षहरू तथा आरामदायी परामर्श कक्षहरू मार्फत बिरामीलाई सहज र सम्मानजनक स्वास्थ्य सेवा अनुभव प्रदान गरिएको छ ।
हाल बुटवल र भैरहवामा गरी करिब २७ जना कर्मचारीहरूलाई प्रत्यक्ष रोजगारी प्रदान गरिएको छ । यसले स्वास्थ्य सेवा विस्तारसँगै स्थानीय स्तरमा रोजगार सिर्जनामा पनि महत्त्वपूर्ण योगदान पु¥याएको छ ।
भावी योजना
नेशनल मल्टिस्पेशालिटी क्लिनिकले आगामी दिनमा आफ्नो सेवा तथा पहुँचलाई थप विस्तार गर्ने योजना बनाएको छ । भविष्यमा थप शाखाहरू स्थापना गरी मिर्गौला रोग, मुटु रोग, ग्यास्ट्रोएन्टेरोलोजी, रगत रोग तथा स्त्री तथा प्रसूति रोग सम्बन्धी विशेषज्ञ सेवाहरू अझ व्यापक रूपमा उपलब्ध गराउने लक्ष्य रहेको छ ।
त्यसै गरी कार्डियोलोजी अन्तर्गत इकोकार्डियोग्राफी सेवा सञ्चालन गर्ने योजना रहेको छ । बिरामीको पालो व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन डिजिटल टोकन प्रणाली लागू गरिनेछ, जसले सेवाग्राहीहरूलाई व्यवस्थित तथा समयमै सेवा प्राप्त गर्न सहयोग पु¥याउनेछ ।
भविष्यमा रुमाटोलोजी तथा इन्डोक्राइनोलोजी सेवाहरू समेत विस्तार गरिने योजना रहेको छ । विशेष गरी मधुमेह (सुगर), थाइराइड तथा अन्य हर्मोन सम्बन्धी समस्याहरूको विशेषज्ञ उपचार उपलब्ध गराउन इन्डोक्राइनोलोजिस्ट विशेषज्ञ चिकित्सक मार्फत सेवा सञ्चालन गर्ने तयारी भइरहेको छ ।
पछिल्ला पाँच वर्षमा नेशनल मल्टिस्पेशालिटी क्लिनिकले विशेषज्ञ स्वास्थ्य सेवा, सामाजिक उत्तरदायित्व तथा संस्थागत विकासका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएको छ । गुणस्तरीय, पहुँचयोग्य तथा बिरामी मैत्री स्वास्थ्य सेवा प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई कायम राख्दै क्लिनिकले आगामी दिनहरूमा पनि स्वास्थ्य क्षेत्रमा उत्कृष्टता हासिल गर्ने लक्ष्य सहित अघि बढिरहनेछ ।
संस्थाका सञ्चालक लक्ष्मण घिमिरे समाजप्रतिको यही बलियो उत्तरदायित्व बोधका कारणले नै आज यस क्लिनिकलाई धेरै सर्वसाधारणले व्यावसायिक क्लिनिकका रूपमा भन्दा पनि आफ्नोपन भएको स्वास्थ्य संस्थाका रूपमा सहर्ष ग्रहण गरिरहेको बताउँछन् । उनी भन्छन्, “हामीले स्वास्थ्य सेवालाई विशुद्ध व्यवसाय मात्र ठानेनौँ, समाजका उत्पीडित, गरिब र असहाय नागरिकको दुःखमा मलम लगाउनु पनि हाम्रो उत्तिकै जिम्मेवारी हो भन्ने बुझ्यौँ, त्यसैले आज हामीले कमाइको केही हिस्सा सामाजिक सेवामा निरन्तर खर्चिरहेका छौँ ।”