Butwal Today

मलको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन

२१ जेष्ठ २०८३, बिहीबार
अ+
अ-

नवलपरासी । लुम्बिनी प्रदेश सभा सदस्य(प्रदेश सांसद) वैजनाथ जैसवालले प्रधानमन्त्रीसँग कृषकका लागि पर्याप्त मलको व्यवस्थापन गर्न माग गर्दै नवलपरासीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) मार्फत ज्ञापन पत्र बुझाएका छन् ।

कृषकको समस्याबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै सांसद जैसवालले कृषकहरूलाई आवश्यक रासायनिक मल यथाशीघ्र उपलब्ध गराउन र नवलपरासी स्थित कृषि सामग्री कम्पनीमा मौजदात रहेको मल वितरण गराउन माग गरेका हुन् ।

कम्पनीको गोदाममा अहिले पनि ७ सय मेट्रिक टन रासायनिक मल तत्काल किसानहरूलाई वितरण गर्ने व्यवस्था मिलाउन आग्रह गर्दै उनले प्रजिअ दिपकराज नेपाललाई भएको मल वितरणका लागि पहल गर्न आग्रह गरेका थिए ।

कृषि उत्पादनको महत्त्वपूर्ण समयमा मल अभावका कारण किसानहरू समस्यामा परेको उल्लेख गर्दै सांसद जैसवाल समयमै मल वितरण भएमा कृषकहरूलाई राहत पुग्ने र कृषि उत्पादन वृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।

साथै, यस विषयमा आवश्यक पहल गरी किसानहरूको समस्या समाधान गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए । कृषि सामग्री कम्पनी परासी शाखाले अहिले किसानलाई मलखाद उपलब्ध नगराउने र भण्डारणमै राख्ने गरी कम्पनीको केन्द्रीय कार्यालयले निर्देशन दिएको जनाएको छ ।

ज्ञापन पत्र बुझ्दै प्रजिअ नेपालले प्रधानमन्त्री कार्यालय पठाउने ज्ञापन पत्र तत्काल पठाइदिने कार्य गर्दै उनले कृषि सामग्री कम्पनीको परासी शाखा कार्यालय प्रमुख तारा प्रसाद खनाललाई फोन सम्पर्क गरेर मल किन वितरण नभएको जानकारी लिएका थिए ।

मलको आपूर्ति चीन वा भारतसँग नजिक भएर जि टु जी खरिद गर्ने सम्भावना हुन सक्छ, जसमा भारतबाट खरिद गर्दा ढुवानीले सहज हुन्छ, तर भारतमै अहिले मलखाद अभाव हुने हो कि भन्ने आशङ्का पनि छ । इन्धनसँगै अब रासायनिक मल खाद्यको उत्तिकै चुनौती बढ्दै गएको उनको भनाई थियो ।

कार्यालय प्रमुख खनालका अनुसार कृषि चुन र पोटास वितरण अहिले पनि खुल्ला नै छ, युरिया र डिएपी वितरण रोकिएको हो । उनका अनुसार हाल जिल्लाका किसान लागि आर्थिक बर्ष २०८२।०८३ का लागि युरिया ५ सय मे.ट.,डिएपी २ सय मे.ट.,पोटास ३ सय मे.ट. र कृषि चुन ३० मे.ट. मौज्दात छन् ।

कृषि ज्ञान केन्द्रका अनुसार जिल्लाका किसानलाई १८ हजार मे.ट.मल खाद्यको आवश्यकता औल्याउछ , तर आपुर्ति भने एक तिहाई पनि हुँदैन । त्यसमा पनि अहिले इन्धन र मलखादको आपूर्तिमा देखिने समस्याले कृषक अब आफ्नै पारम्परिक आर्गेनिक मलको प्रयोग र आकासे जलको सिचाइमा भर पर्ने अवस्था देखिएको छ ।

जिल्लामा २० हजार ४ सय ८० हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ । जिल्लाको घरधुरी र जनसङ्ख्याको अनुपातमा प्रति १ हजार ४ सय १२ घरधुरीमा एक जना कृषि प्राविधिकहरू रहेको अवस्था छ । जिल्लाका जग्गाको तथ्याङ्क विवरण अनुसार जिल्ला भित्र अहिले ३९ हजार ४ सय ७ हेक्टर खेतीयोग्य जमिन रहेको छ । तर खेती गरिएको जमिन ३७ हजार १ सय २२ हेक्टर देखाइएको छ ।

जिल्लाको भु उपयोगितको आधारमा कुल ७ सय ४८.३८ वर्ग किलोमिटर भूभाग रहेकोमा कृषि गर्न सक्ने ४२ हजार ९ सय ५६ हेक्टर भु भाग छ । वन क्षेत्र २१ हजार ८ सय ५९ हेक्टर, झाडी क्षेत्र ३७ हेक्टर र अन्य ९ हजार ९ सय ८५ हेक्टर रहेको छ ।

कृषि योग्य भुमि मध्ये ३ हजार ५ सय ४९ हेक्टर जग्गाको प्रयोग नै भएको छैन । १८ हजार सिचाईको आधारमा कुल २० हजार २ सय ८ हेक्टर सिचिँत क्षेत्रफल छ । जुन कुल जग्गाको ५१.२८ प्रतिसत जग्गामा मात्र सिचाई पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?