Butwal Today

आधुनिक स्वास्थ्य सेवामा लुम्बिनी सिटीको फड्को

२१ जेष्ठ २०८३, बिहीबार
अ+
अ-

बुटवल ।  रुपन्देहीको बुटवलमा अवस्थित लुम्बिनी सिटी अस्पताल एन्ड मेडिकल साइन्स प्रालिले आधुनिक प्रविधि, विशेषज्ञ जनशक्ति र बिरामी मैत्री सेवामार्फत लुम्बिनी प्रदेशकै विश्वासिलो स्वास्थ्य संस्थाको रूपमा आफ्नो पहिचान स्थापित गर्दै गएको छ ।

२०६९ सालमा स्थापना भएको अस्पतालले गुणस्तरीय, सुरक्षित तथा सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ सेवा विस्तार गर्दै आएको छ ।

हाल ५० शैयाको सुविधा सम्पन्न अस्पतालका रूपमा सञ्चालनमा रहेको यस संस्थाले लुम्बिनी प्रदेश तथा आसपासका जिल्लाका नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । अस्पतालमा व्यवस्थित वार्ड, आकस्मिक सेवा, विशेषज्ञ परामर्श कक्ष, अत्याधुनिक प्रयोगशाला, फार्मेसी तथा अन्य आधारभूत स्वास्थ्य सेवाहरू उपलब्ध छन् ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लोकनाथ भुसालका अनुसार स्वास्थ्य क्षेत्रमा भइरहेको तीव्र विकासलाई आत्मसात् गर्दै आधुनिक प्रविधि, दक्ष जनशक्ति तथा व्यवस्थित पूर्वाधारमार्फत दीर्घकालीन स्वास्थ्य सेवा प्रणाली विकास गर्ने लक्ष्य अस्पतालले लिएको छ । बिरामीको स्वास्थ्य, सुरक्षा र विश्वासलाई केन्द्रमा राखेर अस्पतालले उपचार सेवा सञ्चालन गरिरहेको उनले बताए ।

अस्पतालमा विभिन्न विषयका एमडी तथा डीएम तहका विशेषज्ञ चिकित्सक कार्यरत छन् । साथै तालिम प्राप्त नर्स, स्वास्थ्य सहायक तथा अन्य स्वास्थ्यकर्मी मार्फत प्रभावकारी सेवा प्रदान हुँदै आएको छ । अस्पतालले कर्मचारीको क्षमता अभिवृद्धिका लागि नियमित तालिम, आपत्कालीन व्यवस्थापन अभ्यास तथा सेवा गुणस्तर सुधार कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

आर्थिक वर्ष २०८२/८३ को वैशाखसम्म अस्पतालले १४ हजार ७ सय ७३ जना बिरामीलाई स्वास्थ्य सेवा प्रदान गरेको जनाएको छ । विभागगत विवरण अनुसार मेडिसिन विभागमा सबैभन्दा बढी ५ हजार ५ सय ३३ जना बिरामीले सेवा लिएका छन् ।

त्यसपछि अर्थोपेडिक विभागमा २ हजार ७ सय ५१, सर्जिकलमा १ हजार ४ सय ४८, स्त्री तथा प्रसूति रोग विभागमा १ हजार १ सय ९२ तथा नाक, कान तथा घाँटी (ईएनटी) विभागमा १ हजार १ सय ४१ जना बिरामीले उपचार गराएका छन् ।

यसै अवधिमा बाल रोग विभागमा ६ सय २३, न्यूरोसर्जरीमा ७ सय ५९, मानसिक रोग विभागमा ५ सय १९, छाला रोगमा ३ सय १९ तथा डेन्टल विभागमा ४३ जना बिरामीले सेवा लिएको अस्पतालले जनाएको छ ।

उक्त अवधिमा अस्पतालले २ हजार १ सय ३४ वटा शल्यक्रिया सम्पन्न गरेको छ । तीमध्ये १ हजार ४ सय मेजर तथा ७ सय ३४ माइनर शल्यक्रिया रहेका छन् ।

अर्थोपेडिक तर्फ ८ सय ७३, सर्जिकलतर्फ ५ सय ७८, स्त्री तथा प्रसूति रोगतर्फ २ सय ५२, ईएनटीतर्फ २ सय ३, न्यूरोसर्जरी तर्फ १ सय ८० तथा डेन्टलतर्फ ५३ वटा शल्यक्रिया सम्पन्न भएका छन् । यसले अस्पतालको शल्यक्रिया सेवाप्रतिको बढ्दो विश्वासलाई प्रतिबिम्बित गरेको छ ।

लुम्बिनी सिटी अस्पतालले विभिन्न विशेषज्ञ सेवा सञ्चालन गर्दै आएको छ । यहाँ २४सै घण्टा विशेषज्ञ चिकित्सक सहित आकस्मिक सेवा, बहिरङ्ग सेवा तथा बिरामी भर्ना सेवा उपलब्ध छ । जनरल तथा ल्याप्रोस्कोपिक शल्यक्रिया, पित्तथैली, पिसाबथैली, मिर्गौला, हर्निया, हाइड्रोसिल तथा पाइल्सको आधुनिक प्रविधिबाट उपचार गरिन्छ ।

अस्पतालमा अत्याधुनिक सी–आर्म मेसिन मार्फत हाडजोर्नी, नसा तथा बाथरोग सम्बन्धी उपचार तथा शल्यक्रिया सेवा सञ्चालनमा छ । वरिष्ठ फिजिसियनद्वारा छाती, दम, मधुमेह तथा उच्च रक्तचापका बिरामीको उपचार गरिन्छ भने नाक, कान तथा घाँटी रोग सम्बन्धी आधुनिक दुरबिन प्रविधिबाट शल्यक्रिया सेवा उपलब्ध छ ।

त्यसैगरी महिला तथा प्रसूति रोगसम्बन्धी सम्पूर्ण उपचार, निसन्तान दम्पतीका लागि टेस्ट ट्युब बेबी (आईभीएफ) सेवा, बाल रोग उपचार तथा अत्याधुनिक भेन्टिलेटर सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ । अति सिकिस्त बिरामीका लागि आइसियु सेवा, मानसिक रोग उपचार, न्यूरोसर्जरी, प्लास्टिक सर्जरी तथा छाला तथा यौनरोग सम्बन्धी उपचार सेवा पनि उपलब्ध छन् ।

अस्पतालमा दैनिक भिडियो एक्स–रे, सिटी स्क्यान, डिजिटल एक्स–रे, प्रयोगशाला तथा फार्मेसी सेवा सञ्चालनमा छन् ।

मुटुरोग विशेषज्ञद्वारा इकोकार्डियोग्राफी सेवा, पेट तथा कलेजो रोग विशेषज्ञद्वारा इन्डोस्कोपी, कोलोनोस्कोपी तथा ईआरसीपी प्रविधिबाट उपचार सेवा प्रदान गरिन्छ । आधुनिक उपकरण मार्फत फिजियोथेरापी सेवा पनि नियमित सञ्चालनमा रहेको छ । साथै ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिका लागि विशेष छुटको व्यवस्था गरिएको छ ।

अस्पतालले आगामी दिनमा अत्याधुनिक स्वास्थ्य उपकरण तथा डिजिटल स्वास्थ्य प्रणाली विस्तार गर्ने योजना बनाएको छ । डिजिटल एक्स–रे, आधुनिक ल्याब प्रणाली, क्रिटिकल केयर उपकरण, डिजिटल हेल्थ रेकर्ड तथा अनलाइन रिपोर्टिङ प्रणालीलाई थप सुदृढ बनाउने तयारी भइरहेको अध्यक्ष भुसालले बताए । उनका अनुसार प्रविधिमैत्री स्वास्थ्य सेवा मार्फत छिटो, सुरक्षित, सुलभ र प्रभावकारी उपचार उपलब्ध गराउनु अस्पतालको मुख्य लक्ष्य हो ।

लुम्बिनी सिटी अस्पतालले “पेसेन्ट फस्र्ट” अवधारणालाई प्राथमिकतामा राखेर सेवा सञ्चालन गर्दै आएको छ । बिरामी तथा आफन्तसँग सम्मानजनक व्यवहार, समयमै उपचार, सही स्वास्थ्य परामर्श र विश्वासिलो सेवा प्रदान गर्नु अस्पतालको पहिलो प्राथमिकता रहेको अस्पताल व्यवस्थापनको भनाइ छ । उपचार सेवा मात्र नभई बिरामीको मानसिक सन्तुष्टि र स्वास्थ्य सुरक्षालाई समेत विशेष महत्व दिइएको छ ।

सामाजिक उत्तरदायित्वलाई संस्थागत दायित्वका रूपमा लिएको अस्पतालले निःशुल्क स्वास्थ्य शिविर, ग्रामीण स्वास्थ्य परीक्षण कार्यक्रम, स्वास्थ्य सचेतना अभियान, रक्तदान कार्यक्रम, महिला तथा बाल स्वास्थ्य कार्यक्रम, विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम तथा विपन्न बिरामी सहायता कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस्ता कार्यक्रमले स्वास्थ्य सेवाबाट टाढा रहेका समुदायलाई सेवा पहुँच विस्तार गर्न सहयोग पुगेको अस्पतालको दाबी छ ।

हाल अस्पतालमा करिब २०० कर्मचारी तथा ३२ जना वरिष्ठ विशेषज्ञ चिकित्सक कार्यरत छन् । तर नेपालमा स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्तिको अभाव, स्वास्थ्यकर्मीको विदेश पलायन, अत्याधुनिक उपकरणको उच्च लागत तथा विशेषज्ञ जनशक्ति व्यवस्थापन स्वास्थ्य क्षेत्रका प्रमुख चुनौतीका रूपमा रहेको अध्यक्ष भुसाल बताउँछन् ।

यी चुनौतीबीच अस्पतालले बुटवलको चाँदबारी क्षेत्रमा करिब एक अर्ब रुपैयाँ लगानीमा अत्याधुनिक नयाँ भवन निर्माणको तयारी गरिरहेको छ । नयाँ भवनमा थप शैया विस्तार, आधुनिक आइसियु तथा एनआईसीयू, अत्याधुनिक अपरेसन थिएटर, विशेषज्ञ विभाग, पर्याप्त पार्किङ तथा बिरामी मैत्री संरचना निर्माण गरिने योजना छ ।

अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य सेवा प्रदान गर्ने दीर्घकालीन लक्ष्य सहित लुम्बिनी सिटी अस्पतालले आधुनिक प्रविधि, विशेषज्ञ जनशक्ति, पूर्वाधार विस्तार तथा बिरामी केन्द्रित सेवामार्फत लुम्बिनी प्रदेशकै अग्रणी स्वास्थ्य संस्था बन्ने लक्ष्यसहित आफ्नो यात्रा अघि बढाइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?