© 2026
अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नम्बर २ स्थित बल्कोटमा रहेको ऐतिहासिक पौवा अहिले पनि रहस्यमय, विचित्र र किम्बदन्तीले भरिएको स्थलका रूपमा परिचित छ ।
काठमा कुँदिएका यौन अङ्ग, यौन क्रियाकलाप तथा शारीरिक सम्बन्धका प्रतीकात्मक आकृतिहरूले सजिएको उक्त पौवा केवल वास्तुकलाको नमुना मात्र होइन, राणाकालीन इतिहास बोकेको एउटा जीवित दस्ताबेज पनि हो ।
स्थानीयवासीको अनुसार यति अनौठो शैलीमा पौवा निर्माण गर्ने कालीगढको हात नै पछि राणाकालमा काटिएको थियो । यही कथाले ‘विचित्रको बल्कोट पौवा’ लाई अझ रहस्यमय बनाएको छ ।
सन्धिखर्क–बल्कोट–तम्घास सडक खण्डको छेउमै अवस्थित यो पौवा प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । राजनीतिक भेटघाट, स्थानीय कार्यक्रम तथा विभिन्न जमघटका लागि प्रयोग हुँदै आए पनि यसको ऐतिहासिक महत्त्व र संरक्षणतर्फ भने पर्याप्त ध्यान पुग्न सकेको छैन ।
स्थानीय बुढापाकाका अनुसार यो स्थान तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणासँग प्रत्यक्ष जोडिएको स्थल हो । यही कारणले पनि यसको ऐतिहासिक महत्त्व अझ विशेष मानिन्छ ।
छत्रदेव गाउँपालिका वडा नं. २ का पूर्व वडाध्यक्ष राजेश पन्थीका अनुसार विक्रम संवत् १९०४ सालमा कर्णेल सनदसिंह टण्डनको नेतृत्वमा पौवा तथा मन्दिर निर्माण सुरु गरिएको थियो । निर्माण कार्य पूरा हुन करिब १० वर्ष लागेको बताइन्छ ।
पौवा परिसरभित्र शिवालय मठ, विभिन्न देवीदेवताका मन्दिर तथा विश्राम स्थल निर्माण गरिएको छ । काठमा कुँदिएका कला, संरचनाको बनावट र त्यस बेलाको शिल्पकला हेर्दा अहिले पनि मानिस अचम्मित हुने गरेका छन् ।
स्थानीय इतिहास र जनविश्वासअनुसार जङ्गबहादुर राणाको जन्मसँग यो क्षेत्रको गहिरो सम्बन्ध छ । जंगबहादुरका पिता बालनरसिंह राणा तत्कालीन सैनिक अधिकारी थिए । उनी बारुदखाना प्युठानका प्रमुखका रूपमा कार्यरत थिए ।
१८६९ सालतिर जुम्लाको सिंजा क्षेत्रमा गुठीको विवाद चर्किएपछि त्यसको समाधानका लागि उनलाई जुम्ला पठाइएको थियो । उनी आफ्नी श्रीमतीलाई समेत साथमा लिएर जुम्ला पुगेका थिए ।
त्यही क्रममा उनकी श्रीमती गर्भवती भइन् । त्यस समयमा गर्भवती महिलालाई माइती पठाउने चलन थियो । उनी तत्कालीन शक्तिशाली प्रधानमन्त्री भीमसेन थापाकी बहिनी थिइन् ।
जुम्लाबाट माइती गोरखा फर्कने क्रममा उनीहरू अर्घाखाँचीको वाङ्लास्थित लामपाटी क्षेत्रमा पुगे । स्थानीय संस्कृतीविद नारायण भट्टराईका अनुसार विक्रम संवत् १८७४ सालमा सात महिनामै एक शिशुको जन्म भयो त्यो शिशु नै पछि नेपालका शक्तिशाली शासक बनेका जङ्गबहादुर राणा थिए भन्ने स्थानीय विश्वास छ ।
त्यतिबेला लामपाटी क्षेत्र घना जंगलले ढाकिएको थियो । नजिकैका पाण्डे थरका कृषकहरूले सुत्केरीको स्याहारसुसार गरेका थिए । पछि बल्कोटको पौवा रहेको स्थानमा सुत्केरी आमा र नवजात शिशुलाई राखिएको थियो ।
स्थानीय संस्कृति प्रेमी नारायण भट्टराईका अनुसार खनाल थरका ब्राह्मणहरूले त्यहीँ बालकको न्वारन गराई ‘वीरनरसिंह’ नाम राखेका थिए । पछि उनको स्वभाव अत्यन्त जंगी र साहसी भएकाले ‘जङ्गबहादुर’ नाम रहन गएको स्थानीय कथन छ ।
जंगबहादुरको जन्मस्थानबारे इतिहासकारहरूबिच मतभेद रहँदै आएको छ । कतिपयले उनको जन्म गोरखामा भएको उल्लेख गरेका छन् भने केहीले काठमाडौंको थापाथलीलाई जन्मस्थान मान्छन् । तर स्थानीय इतिहासविद् तथा संस्कृति प्रेमीहरू भने लामपाटीमै जन्म भएको दाबी गर्छन् । उनीहरूका अनुसार त्यसैले नै इतिहासमा जंगबहादुरको जन्मस्थानबारे एकमत हुन नसकेको हो ।
नारायण भट्टराईका अनुसार इतिहासकार प्राध्यापक दिनेशराज पन्त र युवराज शमशेर जबराले समेत जङ्गबहादुर लामपाटीमा जन्मिएको, बल्कोटमा न्वारन गरिएको र पछि सोही स्थानमा विचित्रको पौवा निर्माण गरिएको तथ्य उल्लेख गरेका छन् ।
तत्कालीन राजा श्री ५ सुरेन्द्र शाहको पालामा यस पौवासम्बन्धी चार वटा लालमोहर जारी भएको बताइन्छ । ती लालमोहर र इतिहासकारहरूको अध्ययनलाई “अर्घाखाँची सम्पर्क सदनको चिनारी–२०७२” मा समेत समावेश गरिएको स्थानीयको भनाइ छ ।
छत्रदेव गाउँपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठका अनुसार आफू जन्मिएको लामपाटी क्षेत्रमा बगैँचा र पौवा निर्माण गर्ने तथा न्वारन गरिएको बल्कोटमा विचित्रको पौवा बनाउने इच्छा जंगबहादुरकै थियो । उनकै पहलमा कर्नेल सनदसिंह टण्डनले यो संरचना निर्माण गराएको स्थानीय इतिहासले देखाएको छ ।
पौवा तथा मन्दिर निर्माणपछि यसको सञ्चालन र व्यवस्थापनका लागि सयौँ बिघा जमिन गुठीमा राखिएको थियो । त्यतिबेला यहाँ दैनिक पूजा, आरती, बाजागाजा, फूलपाती, लिपपोत तथा मन्दिर संरक्षणका लागि छुट्टै जनशक्ति खटाइन्थ्यो । स्थानीय पिताम्बर खनालका अनुसार केही वर्षअघिसम्म पनि यहाँ बिहान–बेलुका बाजा बजाउने परम्परा कायम थियो । अहिले पूजा–आराधना भने भइरहेको छ ।
इतिहासमा कर्णेल सनदसिंह टण्डनले बल्कोटको पौवासँगै मथुराको पौवा, पाल्पा–गुल्मी सीमास्थित मनवाक पौवा, ऋणीको बगैँचा, पाल्पाको अर्गली बगैँचा, जोर्तको पौवा तथा बाटोमा रहेका गौमुखी धाराहरू समेत निर्माण गरेको उल्लेख पाइन्छ । यसले तत्कालीन समयमा धार्मिक तथा यात्रु विश्राम स्थल निर्माणमा टण्डनको महत्त्वपूर्ण भूमिका रहेको देखाउँछ ।
विचित्रको बल्कोट पौवा, मन्दिर र गुठी संरक्षण तथा प्रचारप्रसार गर्ने उद्देश्यले २०६६ सालमा डा. गोविन्द टण्डनको नेतृत्वमा महायज्ञ आयोजना गरिएको थियो । पण्डित दिनबन्धु पोखरेलको प्रवचन रहेको उक्त महायज्ञपछि केही समय यो क्षेत्र चर्चामा आए पनि दीर्घकालीन रूपमा प्रचार हुन सकेन । स्थानीय युवाहरूका अनुसार इतिहास बोकेको यति महत्त्वपूर्ण क्षेत्र भए पनि राज्य, सरोकारवाला निकाय तथा पर्यटन क्षेत्रले अपेक्षित चासो नदिँदा यो ओझेलमै परेको हो ।
स्थानीयवासीहरू अहिले पनि बल्कोटको पौवालाई धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाको रूपमा संरक्षण गर्नुपर्ने बताउँछन् । उनीहरूका अनुसार पौवामा रहेका काठका कलात्मक आकृतिहरू तत्कालीन समाज, संस्कृति र जीवनशैली बुझ्ने महत्त्वपूर्ण माध्यम हुन् ।
कतिपयले ती आकृतिलाई कामशास्त्रीय कलाको नमुना मान्छन् भने कतिपयले तान्त्रिक परम्परासँग जोडेर हेर्ने गरेका छन् ।
तर समयसँगै पौवाका काठहरू जीर्ण बन्दै गएका छन् । कतिपय कलाकृति हराउने अवस्थामा पुगेका छन् भने संरचनाको संरक्षण अभावले भविष्यमा ठूलो क्षति पुग्न सक्ने खतरा देखिएको छ ।
स्थानीय तह, पुरातत्व विभाग तथा पर्यटनसँग सम्बन्धित निकायले समयमै ध्यान नदिए इतिहासको महत्त्वपूर्ण धरोहर नै हराउन सक्ने चिन्ता स्थानीयको छ ।
सडकसँगै जोडिएको र सहज पहुँचमा रहेको यो क्षेत्रलाई व्यवस्थित रूपमा संरक्षण र प्रचारप्रसार गर्न सके धार्मिक तथा ऐतिहासिक पर्यटनको आकर्षक गन्तव्य बन्न सक्ने सम्भावना प्रशस्त छ । स्थानीयवासीहरू बल्कोटको पौवालाई राष्ट्रिय सम्पदाको रूपमा चिनाउन राज्यले विशेष पहल गर्नुपर्ने माग गरिरहेका छन् ।
इतिहास, किम्बदन्ती, कला र राणाकालीन स्मृतिलाई एकैसाथ बोकेको बल्कोटको विचित्रको पौवा अहिले संरक्षणको पर्खाइमा छ । समयमै यसको महत्त्व बुझ्न सकिएन भने, कालीगढको हात काटिएको कथासँगै जोडिएको यो ऐतिहासिक धरोहर पनि केवल किंवदन्तीमै सीमित हुने खतरा बढ्दो छ ।