Butwal Today

सार्वजनिक स्थलमा फोहोर फाल्नेलाई सन्धिखर्कले  १५ हजार सम्म जरिवाना गर्ने 

७ जेष्ठ २०८३, बिहीबार
अ+
अ-

अर्घाखाँची । सन्धिखर्क नगरपालिकाले सार्वजनिक स्थल तथा खोला किनारमा जथाभाबी फोहोर फाल्ने कार्य नियन्त्रण गर्न कडा कदम अघि बढाएको छ ।

नगरपालिकाले सूचना जारी गर्दै सडक, खेलमैदान, सार्वजनिक स्थल तथा विशेष गरी खोला र खोला किनारमा अनधिकृत रूपमा फोहोर फाल्ने, थुपार्ने तथा विसर्जन गर्ने कार्य बढ्दै गएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालले एक सार्वजनिक सूचना जारी गर्दै फोहोर मैला व्यवस्थापन ऐन, २०६८ तथा नगरपालिकाको आर्थिक ऐनको अनुसूची–१७ अनुसार जथाभाबी फोहोर फाल्नेलाई कडा जरिवाना गरिने स्पष्ट पारेको छ ।

जारी सूचना अनुसार तोकिएको स्थान बाहेक अन्यत्र, विशेष गरी खोला, खोला किनार, सडक वा सार्वजनिक स्थलमा फोहोर निष्कासन गरेमा पहिलो पटक पाँच हजार रुपैयाँसम्म जरिवाना गरिनेछ । दोस्रो पटक यस्तो कार्य दोहोरिएमा पाँच हजारदेखि दश हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्नेछ भने तेस्रो वा सोभन्दा बढी पटक फोहोर फालेको पाइएमा प्रत्येक पटक थप १५ हजार रुपैयाँका दरले जरिवाना गरिने व्यवस्था गरिएको छ ।

नगरपालिकाले सम्पूर्ण नगरबासीलाई सरसफाइ अभियानमा सहभागी हुन आग्रह गरेको छ । नगरलाई स्वच्छ र पर्यावरणमैत्री बनाउने दायित्व सबै नगरबासीको साझा जिम्मेवारी भएको उल्लेख गर्दै नगरपालिकाले नागरिकलाई सचेत र जिम्मेवार बन्न अपिल गरेको हो ।

विशेष गरी खोला किनार तथा सार्वजनिक स्थलमा लुकिछिपी फोहोर फाल्ने गतिविधि नियन्त्रण गर्न नगरपालिकाले नागरिक सहभागितालाई पनि प्राथमिकता दिएको छ । कसैले फोहोर फालेको देखिएमा त्यसको स्पष्ट फोटो वा भिडियो प्रमाण सङ्कलन गरी नगरपालिका कार्यालय वा सम्बन्धित वडा कार्यालयमा उपलब्ध गराउन आग्रह गरिएको छ ।

नगरपालिकाले प्रमाणसहित सूचना दिने व्यक्तिको नाम र पहिचान पूर्ण रूपमा गोप्य राखिने समेत जनाएको छ । प्राप्त प्रमाणका आधारमा फोहोर फाल्ने व्यक्ति वा संस्थाको तत्काल पहिचान गरी कानुनबमोजिम कडा जरिवाना असुलउपर गरिने चेतावनी दिइएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनाल द्वारा जारी सूचनामा वातावरण संरक्षण, सार्वजनिक स्वास्थ्य र नगरको सौन्दर्य कायम राख्न सबै पक्षको सहयोग अपरिहार्य रहेको उल्लेख गरिएको छ ।

स्थानीय वासीहरूले पनि नगरपालिकाको यो कदमलाई सकारात्मक रूपमा लिएका छन् । पछिल्लो समय सार्वजनिक स्थलहरूमा फोहोर बढ्दै जाँदा दुर्गन्ध फैलिने, पानी प्रदूषित हुने तथा विभिन्न रोगको जोखिम बढ्ने समस्या देखिएको भन्दै नागरिकहरूले कडाइका साथ नियम कार्यान्वयन गर्न माग गर्दै आएका थिए ।

नगरपालिकाले अब सरसफाइलाई अभियानकै रूपमा अघि बढाउने तयारी गरेको जनाएको छ । जनचेतना, निगरानी र कानुनी कारबाहीलाई एकसाथ अघि बढाएर नगरलाई स्वच्छ, हराभरा र व्यवस्थित बनाउने लक्ष्य राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?