Butwal Today

चेसमा काशी नोबलका रिशनको अन्तर्राष्ट्रिय सफलता: जिते २ पदक

५ जेष्ठ २०८३, मंगलवार
अ+
अ-
सिद्धार्थनगर । विगत ५ वर्षदेखि बुद्धिचाल (चेस) खेललाई विशेष प्राथमिकता दिँदै आएको काशी नोबल एकेडेमी भैरहवाका छात्र रिशन थापा मगरले अन्तर्राष्ट्रिय स्तरको बुद्धिचाल प्रतियोगितामा उत्कृष्ट सफलता हासिल गरेका छन्।
 दोलखाको चरिकोटमा हालै सम्पन्न ‘लेट एफएम सुजेन्द्र प्रसाद मेमोरियल चेस प्रतियोगिता’ मा कक्षा ८ मा अध्ययनरत रिशनले दुई वटा पदक जित्न सफल भएका हुन्।
 विद्यालयका कोर्डिनेटर निर्मल हुमागाइले विद्यार्थीको यो अन्तर्राष्ट्रिय सफलताले विद्यालय परिवार निकै हर्षित र गौरवान्वित भएको बताए। “रिशनले छोटो समयमै देखाएको यो प्रतिभा अद्भुत छ। विद्यार्थीहरूको चौतर्फी विकास र यस्ता खेल गतिविधिमा विद्यालयले आगामी दिनमा पनि आवश्यक सहयोग र प्रोत्साहनलाई निरन्तरता दिनेछ।“ उनले भने ।
नेपाल, भारत, अमेरिका र बंगलादेशसहित ७ देशका १५० भन्दा बढी खेलाडी सहभागी उक्त प्रतिष्ठित प्रतियोगितामा रिशनले क्लासिकल विधाको अन्डर–१४ उमेर समूहमा प्रथम स्थान (स्वर्ण पदक) हासिल गरेका छन।  विद्यालयबाटै चेस खेल्न सुरु गरेको २ वर्षमै यो सफलता पाएका रिशनले यसअघि पनि लुम्बिनी युनिभर्सिटीको प्रतियोगिता, प्रदेश र जिल्ला स्तरका खेलहरूमा उत्कृष्ट स्थान हासिल गरिसकेका छन्। आफ्नो सफलताको लागि उनले विद्यालय, गुरु र अभिभावकलाई धन्यवाद समेत दिएका छन्।
रिशनको यो ऐतिहासिक सफलताबाट खुसी हुँदै काशी नोबल एकेडेमीका चेस प्रशिक्षक एवं ‘द नेक्स्ट मुभ चेस एकेडेमी’ बुटवलका उपाध्यक्ष शिवम विश्वकर्माले उनलाई आगामी १ वर्षका लागि निःशुल्क छात्रवृत्ति दिने घोषणा गरेका छन।
उपाध्यक्ष विश्वकर्माका अनुसार चेस खेलले विद्यार्थीको पढाइ र खेल भावना दुवैमा सहयोग पु¥याउने भएकाले विद्यालयले दाङ, बुटवल लगायत विभिन्न स्थानका प्रतियोगिताहरूमा निरन्तर सहभागिता जनाउँदै आएको छ। अनवरत प्रयास र प्रशिक्षणकै कारण विद्यालयले लगातार सफलता प्राप्त गरिरहेको उनले बताए।
त्यसैगरी, र्यापिड विधाको १६०० बिलो रेटिङ समूहमा उनले दोस्रो स्थान प्राप्त गरे। चेस खेलमा प्रत्येक खेलाडीलाई १/१ घण्टा समय दिइने खेललाई क्लासिकल र १० देखि ३० मिनेटको समय हुने खेललाई र्यापिड भनिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?