Butwal Today

सन्धिखर्क नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

४ जेष्ठ २०८३, सोमबार
अ+
अ-

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ ।

बालबालिकालाई नियमित खोप सेवाको पहुँचमा ल्याउँदै स्वास्थ्य सुरक्षालाई सुदृढ बनाउने उद्देश्यसहित नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पूर्ण पराजुलीले बताएका छन्  ।

नगरपालिकाले सबै बालबालिकालाई नियमित खोपको पहुँचमा ल्याउने लक्ष्यसहित विभिन्न चरणमा खोप कार्यक्रम सञ्चालन गर्दै आएको छ । स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि तथा अभिभावकहरूको सक्रिय सहकार्यका कारण पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्न सफल भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालले बताएका छन् ।

सन्धिखर्क नगरपालिकाको आयोजनामा सम्पन्न घोषणा कार्यक्रममा जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका प्रमुख जिवनारायण कोइरालाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको प्रमाणपत्र नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठलाई हस्तान्तरण गरेका थिए ।

जिल्ला समन्वय समितिका प्रमुख कोइरालाले पूर्ण खोप अभियानले बालबालिकाको स्वास्थ्य संरक्षणमा महत्त्वपूर्ण योगदान पु¥याएको बताएका थिए ।  उनले नियमित खोप कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै आगामी दिनमा पनि दिगोपनालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए ।

सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले स्वस्थ नागरिक निर्माणको आधार नै स्वस्थ बालबालिका रहेकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा सन्धिखर्क नगरपालिकाको स्वास्थ्य क्षेत्रमा हासिल गरेको महत्त्वपूर्ण उपलब्धि रहेको बताए  । उनले भने यसलाई निरन्तरता दिन नगरपालिका सदैव प्रतिबद्ध रहनेछ ।

नगर उपप्रमुख मिश्रा आचार्यले खोप अभियान सफल हुनुमा महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी र अभिभावकहरूको ठुलो योगदान रहेको बताइन् ।
प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालले “पूर्ण खोप सुनिश्चितता दिगोपना कायम राख्न नियमित अनुगमन, र स्वास्थ्य सेवाको प्रभावकारी सञ्चालन आवश्यक रहेको बताए ।  उनले स्वास्थ्यलाई प्राथमिकतामा राखेर नगरपालिकाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिए ।

कार्यक्रममा सहभागीहरूले खोप अभियानलाई व्यवहारिक कार्यान्वयनलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरेको स्वास्थ्य शाखाका जन स्वास्थ्य निरीक्षक प्रकाश परियारले बताएका छन् । बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि खोप सबैभन्दा प्रभावकारी माध्यम भएकाले आगामी दिनमा पनि खोप अभियानलाई थप प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?