© 2026
बुटवल । बुटवल–३, चिडियाखोला किनार, सहस्रपथको शान्त वातावरण । तिनाउ खोलाको नजिकै रहेको हरियाली र चिसो हावाबिच बिहानको घामसँगै बालबालिकाको हाँसो मिसिन्छ । घण्टी बज्नु अगावै बालबालिकाको चहलपहल सुरु भइसकेको हुन्छ ।
कोही मैदानमा दौडिरहेका छन्, कोही हाँस्दै खेलिरहेका छन्, त कोही कक्षाकोठामा उत्सुकतापूर्वक सिकाइमा डुबेका छन् । प्रयोगशालामा केही विद्यार्थी हातैले प्रयोग गर्दै नयाँ कुरा बुझिरहेका छन् भने कतिपय जिज्ञासु नजरले शिक्षकलाई प्रश्न गर्दै ज्ञानको ढोका खोलिरहेका छन् ।
वि.सं. २०५० मा सिद्धार्थ राजमार्ग (पाल्पा रोड) क्षेत्रमा स्थापना भएको यो विद्यालयले आज बुटवलको शैक्षिक क्षेत्रमा छुट्टै पहिचान बनाइसकेको छ । नर्सरीदेखि कक्षा १० सम्म सञ्चालन हुने विद्यालयमा सुरुवातका दिनमा करिब ३०० विद्यार्थी थिए ।
समयसँगै यसको यात्रा विस्तार हुँदै अहिले ६०० भन्दा बढी विद्यार्थीको रोजाइ बन्न पुगेको छ । २०६० सालदेखि आफ्नै भवनमा सञ्चालन हुँदै आएको यो विद्यालय २०६७ सालदेखि मणिमुकुन्द क्याम्पसको व्यवस्थापनमा अघि बढिरहेको छ ।
स्थापनाकालमा निजी विद्यालयहरू नीति, स्रोत र संरचनाको अभावबिच सङ्घर्षरत थिए । त्यसपछि आएको २०७२ सालको भूकम्प र २०७५ सालको कोभिड–१९ महामारीले शिक्षण प्रणालीमै ठुलो चुनौती ल्यायो । अनलाइन कक्षाको अभ्यासले अध्ययन संस्कारमा परिवर्तन ल्यायो, जहाँ “नपढे पनि पास भइन्छ” भन्ने गलत मानसिकता समेत विद्यार्थीमा देखा पर्न थाल्यो ।
तर लुम्बिनी बोर्डिङ स्कुलले यही अवस्थालाई परिवर्तनको अवसर बनायो । विद्यालयले स्पष्ट रूपमा बुझ्यो विद्यार्थीलाई केवल कक्षाकोठामा सीमित गरेर सिकाउन सकिँदैन । यही सोचका साथ ‘ह्याप्पी करिकुलम’ र मूल्यमा आधारित शिक्षालाई प्राथमिकता दिइयो । ‘ह्याप्पी करिकुलम’ कुनै निश्चित अन्तर्राष्ट्रिय पाठ्यक्रम होइन, बरु यस्तो शिक्षण दृष्टिकोण हो जसले विद्यार्थीलाई खुसी, सक्रिय र प्रेरित बनाएर सिक्न मद्दत गर्छ । यहाँ पढाइ दबाब होइन, अनुभव र आनन्दसँग जोडिन्छ ।
विद्यालयको अर्को महत्त्वपूर्ण अभ्यास भनेको हरेक दिनको सुरुवातमा हुने १० मिनेटको प्रेरणात्मक सत्र हो । यस सानो तर प्रभावकारी अभ्यासले विद्यार्थीमा सकारात्मक सोच, आत्मविश्वास र लक्ष्यप्रति केन्द्रित हुने बानी विकास गरेको विद्यालयको विश्वास छ ।
लुम्बिनी बोर्डिङ स्कुलमा शिक्षा केवल पाठ्यपुस्तकमा सीमित छैन । विद्यार्थीले हेरेर, खेल्दै, प्रयोग गरेर र अभ्यासमार्फत सिक्ने अवसर पाउँछन् । साहित्य, सङ्गीत, नृत्य र खेलकुदका लागि छुट्टै प्रशिक्षकको व्यवस्था गरिएको छ । बास्केटबल, टेबल टेनिस र क्रिकेटका लागि विद्यालयले करिब ३ रोपनी क्षेत्रफलमा आफ्नै खेलमैदान समेत निर्माण गरेको छ, जसले विद्यार्थीको शारीरिक र मानसिक विकासमा महत्त्वपूर्ण भूमिका खेलेको छ ।
विद्यालयले हरेक वर्ष एसइई परीक्षामा शतप्रतिशत नतिजा हासिल गर्दै आएको छ । हालसम्म करिब ३.९६ जिपिएसम्मको उत्कृष्ट उपलब्धि हासिल गरिसकेको विद्यालय अब ४ जिपिए लक्ष्यतर्फ अघि बढिरहेको छ । तर यहाँ सफलताको अर्थ केवल अङ्क होइन विद्यार्थीको चरित्र, व्यवहार र जीवन उपयोगी क्षमता हो ।
हाल विद्यालयमा ३४ जना शिक्षक र ९ जना कर्मचारी कार्यरत छन् । शिक्षकहरूको शैक्षिक योग्यता कक्षा १२ पास देखि मास्टर्स तहसम्म रहेको छ । चिसो र शान्त वातावरणमा अवस्थित विद्यालयले फराकिलो परिसरमा अध्ययनका लागि सहज वातावरण प्रदान गरेको छ ।
विद्यालयमा पुस्तकालय (लाइब्रेरी), विज्ञान प्रयोगशाला (साइन्स ल्याब) र २४ वटा कम्प्युटरयुक्त कम्प्युटर ल्याब सञ्चालनमा छ, जहाँ अधिकतम दुई विद्यार्थीले एक कम्प्युटर प्रयोग गर्छन् । यसले प्रविधिमैत्री सिकाइलाई अझ प्रभावकारी बनाएको छ ।
प्रधानाध्यापक लालहरी पाण्डेका अनुसार निजी विद्यालयलाई अझै पनि शिक्षाको सहयात्रीका रूपमा पूर्ण रूपमा स्वीकार गर्न नसकिएको अवस्था छ । उनले सरकारबाट थप सहयोग र नीतिगत सहजताको अपेक्षा गरेका छन् ।
त्यसै गरी विद्यालय व्यवस्थापन समिति उपाध्यक्ष तथा सहप्राचार्य कोशल प्रसाद बस्यालका अनुसार लुम्बिनी बोर्डिङ स्कुल बुटवलकै उत्कृष्ट पहिचान बनाएको विद्यालय हो, जसले स्थापनादेखि निरन्तर शतप्रतिशत नतिजा दिँदै आएको छ ।
विद्यालयले भविष्यमा प्राविधिक शिक्षा सञ्चालन गर्ने योजना बनाएको छ । जसमा सरकारको आवश्यक अनुमति र सहयोग प्राप्त भएमा विद्यार्थीलाई अझ व्यवहारिक, सीपमूलक र रोजगारमुखी शिक्षा प्रदान गर्ने लक्ष्य लिइएको छ ।
लुम्बिनी बोर्डिङ स्कुलका लागि गुणस्तरीय शिक्षा भनेको केवल परीक्षामा राम्रो अङ्क ल्याउनु मात्र होइन । विद्यार्थीले अभिभावकको लगानीको मूल्य बुझ्नु, जीवनका चुनौतीहरू पार गर्न सक्नु, र व्यवहार, ज्ञान तथा सीपमा सशक्त हुनु नै साँचो गुणस्तरीय शिक्षा रहेको प्रधानाध्यापक लालहरी पाण्डेको भनाइ छ ।
बुटवलको शान्त वातावरणमा उभिएको यो विद्यालय केवल एक शैक्षिक संस्था मात्र होइन । विद्यार्थीको जीवन निर्माण गर्ने एउटा जीवित अभ्यास शाला हो । जहाँ शिक्षा साँच्चै जीवनसँग जोडिन्छ ।