© 2026
बुटवल । देउराली जनता प्राविधिक शिक्षालय प्राविधिक तथा व्यावसायिक शिक्षाको माध्यमबाट देशको शैक्षिक बेरोजगारी कम गरी सरकारी, अर्धसरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा देखिएको दक्ष जनशक्तिको अभाव परिपूर्ति गर्ने उद्देश्यले कम्पनी रजिस्ट्रारको कार्यालयमा वि.सं. २०६४ सालमा दर्ता भई सञ्चालन भएको प्रतिष्ठित शैक्षिक संस्था हो ।
यस संस्थाले श्रम बजारमा अधिकतम खपत हुने स्वास्थ्य, कृषि तथा औद्योगिक क्षेत्रका लागि दक्ष जनशक्ति उत्पादन गर्दै आएको छ ।
एक बिघा क्षेत्रफलमा आफ्नै सुविधा सम्पन्न भवनबाट शैक्षिक पठन–पाठन गराउँदै आएको यो शिक्षालय बुटवल उपमहानगरपालिका–१३, ऐतिहासिक जितगढी किल्लाको काखमा अवस्थित छ ।
विशेष गरी स्वास्थ्य तथा कृषि क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने यो शिक्षालय यस क्षेत्रको अग्रणी प्रतिष्ठित शैक्षिक संस्था हो ।
यहाँ उत्पादन भएका दक्ष जनशक्ति स्वदेश तथा विदेशमा कार्यरत छन् । यहाँ तयार भएका जनशक्ति कोही पनि बेरोजगार बस्नु नपरेको शिक्षालयका अध्यक्ष प्रकाश राना बताउँछन् ।
उनका अनुसार यस शिक्षालयबाट उत्पादित जनशक्ति स्वदेश तथा विदेशमा कार्यरत छन् भने कोही स्वरोजगारमा छन् । स्वास्थ्यतर्फ लोक सेवा आयोगमार्फत निजामती सेवामा प्रवेश गर्ने सफल हुने अधिकांश यसै शिक्षालयका छन् ।
देउराली जनता प्राविधिक शिक्षालयको भौतिक, मानवीय, व्यवस्थापकीय र आर्थिक पक्षको साथै शैक्षिक गुणस्तरमा सुधार ल्याई समग्रमा लैङ्गिक समानता र सामाजिक समावेशी मूलक विद्यार्थी भर्ना दर, उत्तीर्ण दर र रोजगारी दरलाई वृद्धि गर्न सफल भएको छ । जुन उद्देश्यमा यो शैक्षिक संस्था निरन्तर रूपमा अझै प्रतिबद्ध भएर लागेको छ ।
पछिल्लो समय नेपालमा गुणस्तरीय स्वास्थ्य सेवाको माग बढ्दै जाँदा यस्ता संस्थाहरूको भूमिका झन् महत्त्वपूर्ण बन्दै गएको छ र यस शिक्षालयले त्यही आवश्यकतालाई सम्बोधन गर्दै आएको छ । जसले प्राविधिक तथा व्यावसायिक शिक्षाको क्षेत्रमा महत्त्वपूर्ण योगदान पु¥याउँदै आएको छ । आवश्यकता अनुसार स्वास्थ्य तथा कृषि क्षेत्रका लागि दक्ष जनशक्ति उत्पादन गर्ने सक्षम यो शिक्षालय पछिल्लो समय विद्यार्थी र अभिभावकहरूको रोजाइमा पर्न सफल भएको छ ।
अनुभवी प्रशिक्षक, शतप्रतिशत नतिजा दिन सफल, भौतिक पूर्वाधार, शान्त वातावरण लगायतका शैक्षिक अनुकूलताले विद्यार्थी र अभिभावकको पहिलो रोजाइमा यो शिक्षालय पर्ने अध्यक्ष राना बताउँछन् ।
“यहाँ उत्पादन भएका प्राविधिकहरू बेरोजगार बस्नु पर्दैन, अभ्यास शिक्षाबाट तयार भएका सीपयुक्त जनशक्ति सरकारी सेवामा सहजै प्रवेश गर्नु भएको छ,” उनले भने, “स्टाफ नर्सिङमा १५ औँ ब्याच उत्तीर्ण भए सबै रोजगारीमा हुनुहुन्छ ।” पास आउट भएका ल्याब टेक्निसियन, फार्मासिस्ट, जेटिए, भेटेनरी सबै रोजगारी तथा स्वरोजगारीमा रहेको उनले बताए ।
यसै शिक्षालयसँगै पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानले सिटिइभिटीसँग सम्बन्धन लिई डिप्लोमा इन मेडिकल ल्याब टेक्निसियन कक्षा सञ्चालन गरेको छ । त्यसै गरी शिक्षालयले रोजगारमूलक (गरिखाने) शिक्षा जस्तै सामुदायिक कृषि सहायक, सामुदायिक पशु सहायक, केयर गिभर, जुनियर कम्प्युटर हार्डवेयर टेक्निसियन, पूर्वबाल विकास सहजकर्ता, कुकिङ तालिम, वेल्डिङ, इलेक्ट्रेसियन, आल्मुनियम फेब्रिकेटर, मेसन, जुनियर प्लम्बर लगायतका विभिन्न शीर्षकमा पढाइ तथा तालिम सञ्चालन गर्दै आएको छ ।
अहिलेसम्म १० हजारभन्दा बढी युवाहरूलाई छोटो अवधिको आधारभूत स्तरको सीप तालिम प्रदान गरिएको शिक्षालयले जनाएको छ ।
यो शिक्षालयमा सिटिइभिटीबाट सम्बन्धन लिई पिसिएल नर्सिङ, मेडिकल ल्याब टेक्नोलोजी, डिप्लोमा इन फार्मेसी अध्ययन–अध्यापन हुँदै आएको छ । त्यसै गरी प्री–डिप्लोमा इन एग्रीकल्चर (कृषि) साइन्स र प्री–डिप्लोमा इन भेटेनरी साइन्सको कक्षा सञ्चालन भएको छ ।
यो शिक्षालय शैक्षिक वातावरण, पहुँच र पूर्वाधारका हिसाबले पनि निकै अनुकूल मानिन्छ । १०० बेडको आफ्नै अस्पताल (एडमन्ड सिटी हस्पिटल) रहेको छ । काम गर्दै पढ्दै गर्नका लागि आफ्नै कृषि फार्म तथा अनुसन्धान केन्द्र रहेको छ । अनुभवी दक्ष प्रशिक्षकबाट पढाइ हुने भएकाले यो शिक्षालय अग्रणी संस्थाको रूपमा परिचित छ ।
ग्रामीण क्षेत्रका विद्यार्थीहरूले पनि गुणस्तरीय प्राविधिक शिक्षा पाउन सकून् भन्ने उद्देश्यले यस संस्थाको सुरुवात गरिएको थियो । शैक्षिक कार्यक्रमको कुरा गर्दा, यस शिक्षालयमा तीन वर्षे पिसिएल नर्सिङ, मेडिकल ल्याब टेक्नोलोजी, फार्मेसी, एग्रीकल्चर, भेटेनरी कक्षा सञ्चालनमा छन् । यी कार्यक्रमहरू प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गत स्वीकृत पाठ्यक्रममा आधारित छन् ।
विद्यार्थीहरूले यहाँ सैद्धान्तिकसँगै प्रयोगशालामा अभ्यासलाई प्राथमिकता दिइँदै आएको छ, जसले विद्यार्थीहरूलाई सजिलै रोजगारीमा प्रवेश गर्न योग्य बनाएको छ ।
राष्ट्रको आर्थिक, सामाजिक, शैक्षिक रूपान्तरण तथा दिगो विकास लक्ष्य प्राप्तिमा टेवा पु¥याउनका लागि दक्ष, सीपयुक्त जनशक्ति उत्पादन गर्ने एक उत्कृष्ट शिक्षालयको रूपमा विकास गर्नु नै यस शिक्षालयको दूरदृष्टि भएकाले सोही अनुसार अध्ययन–अध्यापन हुँदै आएको छ ।
पूर्वाधारका हिसाबले पनि शिक्षालय मजबुत रहेको छ । आफ्नै सुविधा सम्पन्न भवन, आफ्नै अस्पताल रहेको छ भने आधुनिक कक्षाकोठा, प्रयोगशाला, ल्याब, पुस्तकालय तथा खेलकुदका लागि आवश्यक संरचना छ ।
विशेष गरी प्राविधिक शिक्षामा प्रयोगशालाको भूमिका महत्त्वपूर्ण हुने भएकाले संस्थाले यस क्षेत्रमा निरन्तर लगानी गर्दै आएको छ । साथै योग्य र अनुभवी शिक्षकहरूबाट विद्यार्थीलाई मार्गदर्शन प्रदान गर्दै आएकोले विद्यार्थीहरूको पहिलो रोजाइ देउराली जनता प्राविधिक शिक्षालय हुने गरेको छ ।
यस शिक्षालयको अर्को महत्त्वपूर्ण पक्ष भनेको स्वास्थ्य प्रतिष्ठान तथा बजारसँगको सम्बन्ध हो । विद्यार्थीहरूले अध्ययन अवधिमा नै स्वास्थ्य संस्थाहरूमा इण्टर्नशिप गर्ने अवसर पाउँछन् । यसले उनीहरूको व्यावहारिक अनुभव बढाउनुका साथै भविष्यमा रोजगारी पाउन सहज बनाउँछ । यहाँ अध्ययन सकिए लगत्तै नेपालभित्र तथा वैदेशिक रोजगारीमा समेत राम्रो अवसर प्राप्त गरेका छन् ।
विद्यार्थी विकासका लागि शिक्षालयले अतिरिक्त क्रियाकलापहरू पनि सञ्चालन गर्दै आएको छ । विभिन्न तालिम, सेमिनार, कार्यशाला तथा प्रतिस्पर्धात्मक कार्यक्रमहरू आयोजना गरी विद्यार्थीको नेतृत्व क्षमता, आत्मविश्वास र व्यक्तित्व विकासमा जोड दिइन्छ ।
सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षालयले विभिन्न सचेतनामूलक कार्यक्रमहरू, स्वास्थ्य शिविर, सरसफाइ अभियान तथा सामुदायिक सेवामा समेत सहभागिता जनाउँदै आएको छ ।
प्रशासनिक संरचनाको दृष्टिले हेर्दा शिक्षालय कुशल व्यवस्थापन, समन्वयात्मक कार्यशैली अपनाइने भएकाले शिक्षण–सिकाइ प्रक्रिया प्रभावकारी रहेको पाइन्छ । पारदर्शिता र उत्तरदायित्वलाई विशेष प्राथमिकता दिइने भएकाले अभिभावकहरूको विश्वास पनि बढ्दै गएको छ ।
समग्रमा हेर्दा, देउराली जनता प्राविधिक शिक्षालय केवल एक शैक्षिक संस्था मात्र नभई दक्ष, सक्षम र आत्मनिर्भर जनशक्ति उत्पादन गर्ने केन्द्रका रूपमा विकसित हुँदै गएको छ । यसले स्थानीय स्तरमा मात्र नभई राष्ट्रिय स्तरमै प्राविधिक शिक्षाको विकासमा टेवा पु¥याउँदै आएको छ ।
प्राविधिक शिक्षा मार्फत भविष्य सुनिश्चित गर्ने शिक्षा खोजिरहेकाहरूका लागि यो शिक्षालय एक उत्कृष्ट विकल्पको रूपमा स्थापित भइसकेको छ ।