© 2026
नेपालगञ्ज ।वर्क परमिटसम्बन्धी प्रशासनिक विवादले प्रतियोगिताले अप्रत्याशित मोड लिएको हो ।
जिल्ला प्रशासन कार्यालय बाँके ले वर्क परमिट नलिएका विदेशी खेलाडीलाई प्रतियोगितामा सहभागी नगराउन निर्देशन दिएपछि आयोजक रेसिङ साहारा क्लबले दोस्रो सेमिफाइनलको खेल तालिका परिवर्तन गरेको जनाएको छ ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले प्रशासनको निर्देशन पालना गर्दै नयाँ तालिका सार्वजनिक गरेको हो । यसअघि लिग चरणमा कर्णाली प्रदेशको रोयल फुटबल क्लबलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको जस्ट जोन एफसी अब प्रतियोगिताबाट बाहिरिएको आयोजकले पुष्टि गरेको छ ।
अब जस्ट जोन एफसीको स्थानमा रोयल फुटबल क्लबले नेपाल पुलिस क्लब सँग दोस्रो सेमिफाइनल खेल्नेछ । खेल भने पूर्वनिर्धारित समयमै सञ्चालन हुने प्रतियोगिता संयोजक कर्ण बस्नेतले जानकारी दिए । आयोजक पक्षले भने यस घटनाप्रति असन्तुष्टि जनाएको छ ।
संयोजक बस्नेतले देशभर आयोजना हुने विभिन्न गोल्डकपमा विदेशी खेलाडी सहभागी हुँदै आएको उल्लेख गर्दै कोहलपुर गोल्डकपलाई मात्रै यस्तो निर्णयले असर पार्नु दुःखद भएको बताए ।
क्लबका सचिव नवकिरण शाहले अखिल नेपाल फुटबल संघ (एन्फा) बाट अनुमति लिएर प्रतियोगिता सञ्चालन गरिएको र टोली सेमिफाइनलसम्म पुगिसकेको अवस्थामा अचानक रोक लगाइनु प्रतियोगिताको प्रतिष्ठामाथि नै प्रश्न उठ्ने अवस्था भएको टिप्पणी गरे ।
उनले हालै सम्पन्न खजुरा गोल्डकप मा पनि विदेशी खेलाडी सहभागी भएको स्मरण गराउँदै कोहलपुर गोल्डकपलाई मात्रै लक्षित गरिएको जस्तो देखिनु राम्रो सन्देश नभएको बताए । उल्लेखनीय रूपमा, खजुरा गोल्डकपको उपाधि पनि नाइजेरियाकै जस्ट जोन एफसीले जितेको थियो ।
क्लबका अध्यक्ष चक्र चिमला क्षेत्रीले प्रतियोगिताको तयारीका लागि एक महिनाअघि नै सम्बन्धित निकायबाट अनुमति लिइसकिएको अवस्थामा खेल सञ्चालन भइरहँदा आएको निर्णयले आयोजक टोली हतोत्साहित बनेको बताए । यद्यपि, आगामी दिनमा प्रतियोगितालाई अझ व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।