© 2026
गुल्मी ।
गुल्मीमा चार वर्षको समय अवधिमा १४२ जना शिक्षकहरूले राजीनामा दिएका छन् । चालु आर्थिक वर्षको हालसम्म मात्रै १८ जना शिक्षकले राजीनामा दिएका छन् ।
शिक्षा विकास तथा समन्वय इकाई गुल्मीका शाखा अधिकृत पुष्पा रायमाझीका अनुसार चालु आर्थिक वर्षमा प्राथमिक तहका १४ जना, निम्न माध्यमिक तहका तीन जना र माध्यमिक तहका एक जना गरी कुल १८ जनाले राजीनामा दिएका छन् । पछिल्लो समय वैशाख १० गतेदेखि लागु हुने गरी इस्मा गाउँपालिका वडा नम्बर चारमा रहेको चन्द्र आधारभूत विद्यालयका प्राथमिक द्धितिय तहमा अध्यापन गराउने शिक्षक नारायणप्रसाद भण्डारीको राजीनामा स्वीकृत भएको हो ।
गुल्मीमा आर्थिक वर्ष २०७९/०८० देखि हालसम्म १४२ जना शिक्षकले राजीनामा दिएका छन् । जसमध्ये आर्थिक वर्ष २०७९/०८० मा प्राथमिक तहमा ३७ जना, निम्न माध्यमिक तहमा एक जनाको राजीनामा स्वीकृत भएको हो । आर्थिक वर्ष २०८०/०८१ मा प्राथमिक तहमा ४६ र निम्न माध्यमिक तहमा छ जना गरी ५२ जनाको राजीनामा स्वीकृत भएको छ । आर्थिक वर्ष २०८१/०८२ मा प्राथमिक तहमा २९ जना, निम्न माध्यमिक तहमा दुई जना र माध्यमिक तहमा तीन जना र आर्थिक वर्ष २०८२/०८३ को हालसम्म प्राथमिक तहमा १४ जना र निम्न माध्यमिक तहमा तीन जना र माध्यमिक तहमा एक जना गरी कुल १८ जनाको राजीनामा स्वीकृत भएको छ । यो सँगै चार वर्षमा कुल १४२ जनाको राजीनामा स्वीकृत भएको हो ।
गुल्मीमा सामुदायिक, संस्थागत र प्राविधिक धारतर्फ गरी ५६५ विद्यालय र ५९ हजार ५३० विद्यार्थी सङ्ख्या रहेको शिक्षा विकास तथा समन्वय एकाइ गुल्मीले जनाएको छ । जिल्लामा बालशिक्षादेखी कक्षा १२ सम्मका विद्यालयमा राहत र दरबन्दी गरी दुई हजार ९२६ जनाको दरबन्दी रहेको कार्यालयले जनाएको छ ।