Butwal Today

बुढेसकालमा ढाड सेक्दै आइटवारी थारु

१० बैशाख २०८३, बिहीबार
अ+
अ-

बर्दिया । बर्दियाको बाँसगढी नगरपालिका–२ अछरिया बिहानैदेखि एउटा सानो घर अगाडि मानिसहरूको भीड देखिन्छ ।

कोही ढाड दुखाइको पीडा बोकेर आएका हुन्छन्, कोही जोर्नी मर्किएको समस्याले थलिएका हुन्छन्, त कोही लामो समयदेखि नसा च्यापिएको पीडामा राहत खोज्दै आइपुग्छन् । ती सबैका लागि आशाको केन्द्र बनेका छन् ६४ वर्षीय आइटवारी थारु ।

उमेरले बुढेसकाल नजिक पुगे पनि आइटवारीको दैनिकी भने बिहान करिब ६ बजेदेखि सुरु हुन्छ । शरीर दुखाइका बिरामीहरूको लामो लाइन उनको घर अगाडि लाग्छ ।

बिना कुनै आधुनिक उपकरण, केवल हातको स्पर्श र अनुभवका भरमा उनी धेरैलाई राहत दिने काम गरिरहेका छन् । स्थानीयहरू उनलाई ‘वैद्य’ अर्थात् हाड जोर्नी मिलाउने अनुभवी व्यक्तिका रूपमा चिन्छन् ।

नेपालगन्जका रहमान खान पनि आइटवारीको सेवा लिएकामध्ये एक हुन् । लामो समयदेखि ढाडको समस्याले सताइरहेका उनलाई केही पटकको मालिसपछि राहत महसुस भएको उनी बताउँछन् । “डाक्टर कहाँ जाँदा पनि निको भएन, यहाँ आएपछि केही आराम मिल्यो,” उनले भने ।

आइटवारीको जीवन भने सहज थिएन । गरिब परिवारमा जन्मिएका उनले बाल्यकालमै पढाइ छोड्नुप¥यो । जीविकोपार्जनका लागि उनले लामो समय अर्काको घरमा कमैया जीवन बिताए ।

त्यहीँ काम गर्ने क्रममा उनले मानिसहरूको शरीर दुख्दा मालिस गर्ने बानी विकास गरे । सुरुमा यो केवल सहयोगको भावना थियो, तर समयसँगै यही सीप उनको पहिचान बन्यो ।

कमैया जीवनले उनलाई श्रम, धैर्य र जीवन सङ्घर्ष सिकायो । अरूको दुखाइ नजिकबाट देख्ने अवसरले उनले शरीरको नस, मांसपेशी र जोर्नीसम्बन्धी अनुभवजन्य ज्ञान हासिल गरे । यही ज्ञान पछि उनको मुख्य सीप बन्यो ।

समयसँगै कमैया प्रथा अन्त्य भएपछि आइटवारीले आफ्नो सीपलाई पेसाको रूपमा अघि बढाए । सुरुमा सीमित मानिसहरू मात्र आउने गरे पनि बिस्तारै उनको नाम गाउँदेखि टाढासम्म फैलियो । अहिले बर्दिया मात्र होइन, आसपासका जिल्लाबाट पनि बिरामीहरू उनीकहाँ आउने गर्छन् ।

“मैले कुनै औपचारिक तालिम लिएको छैन,” आइटवारी भन्छन्, “अनुभवले सिकाएको हो, सेवा भावले चलिरहेको छु ।” उनी आधुनिक उपकरण बिना नै बिरामीको अवस्था हेरेर कुन ठाउँमा कति दबाब दिनुपर्छ भन्ने कुरा सहजै अनुमान गर्न सक्छन् ।

उनको सेवाको विशेषता भनेको आर्थिक अवस्थाअनुसार व्यवहार गर्नु पनि हो । धेरैजसो श्रमिक वर्गका बिरामीहरू आउने भएकाले उनी कहिलेकाहीँ निःशुल्क सेवा पनि दिन्छन् । “सबैको अवस्था एउटै हुँदैन, सकेको सहयोग गर्छु,” उनी भन्छन् ।

परिवार अहिले आर्थिक रूपमा सहज भए पनि आइटवारीले आफ्नो काम छोडेका छैनन् । उनका छोराहरू पनि सक्षम भइसकेका छन्, तर उनी अझै बिहानदेखि बिरामी सेवा दिनमै व्यस्त हुन्छन् । “यो मेरो बानी मात्र होइन, सेवा हो,” उनी भन्छन् ।

स्थानीयवासी रामकुमार थारुका अनुसार आइटवारीको कामप्रति गाउँमा ठुलो विश्वास छ । “उनले कहिल्यै पैसालाई प्राथमिकता दिएनन्, सेवा भावलाई नै अगाडि राखे,” उनी भन्छन् । धेरै बिरामीले उनलाई निको भएपछि पुनः धन्यवाद दिन आउने गरेको पनि उनले बताए ।

यद्यपि स्वास्थ्य विशेषज्ञहरू यस्ता परम्परागत उपचारलाई सावधानीपूर्वक लिनुपर्ने बताउँछन्, तर ग्रामीण क्षेत्रमा यस्ता सीपयुक्त व्यक्तिहरूले ठुलो सहयोग पु¥याइरहेका छन् ।

गरिबीबाट सुरु भएको आइटवारी थारुको यात्रा आज सम्मान र विश्वासको प्रतीक बनेको छ । उमेर ढल्किँदै गए पनि उनको सेवा भावना भने अझै ताजा छ । उनी भन्छन्, “शरीरले साथ दिएसम्म सेवा गरिरहन्छु ।”

आफ्नो जीवनका धेरै वर्ष संघर्षमा बिताएका आइटवारी अहिले पनि सक्रिय छन् । उमेरले बुढो भएपनि उनको उत्साह र जाँगर युवाहरूभन्दा कम छैन । उनीजस्ता व्यक्तिहरूले समाजमा सकारात्मक ऊर्जा फैलाउने काम गरिरहेका छन् ।

आइटवारी थारुको जीवनले देखाउँछ कि सिप, मेहनत र सेवा भाव भएमा मानिसले कुनै पनि परिस्थितिमा आफूलाई स्थापित गर्न सक्छ । बुढेसकालमा पनि सक्रिय रहनु र अरूको सेवा गर्नु उनको जीवनको सबैभन्दा ठुलो उपलब्धि बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?