Butwal Today

मानव बेचबिखनको नयाँ ‘ट्र्याक’: बुर्कामा लुकाएर ‘सीमा पार’

१ बैशाख २०८३, मंगलवार
अ+
अ-

चन्द्रौटा (कपिलवस्तु) । सामाजिक सञ्जालको पहुँच बढेसँगै मानव बेचबिखनका नयाँ रूपहरू देखिन थालेका छन् ।

आर्थिक अभाव, पारिवारिक विघटन लगायत भावनात्मक कमजोरीलाई प्रयोग गर्दै नाबालिग किशोरीहरूलाई विदेश लैजाने प्रयास बढ्दो क्रममा देखिएको छ ।

पछिल्लो घटनाले यस्तै जोखिमपूर्ण वास्तविकतालाई उजागर गरेको छ । बारा जिल्लामा जन्मिएकी १७ बर्षीया सुहाना (नाम परिवर्तन) अहिले कपिलवस्तुको शिवराज नगरपालिकाको एक सुकुम्वासी बस्तीमा आफ्नो परिवारसँग बस्दै आएकी थिइन् ।

७ जनाको परिवार, न घरजग्गा, न स्थायी आयस्रोत । दैनिक जीविकोपार्जन नै चुनौतीपूर्ण । उनका बुबा गाडीमा स्टिकर टाँस्ने काम गर्छन् भने आमा घर–पसल धाएर मागेर परिवार चलाउँछिन् ।

महिनामा मुस्किलले ५ हजार रुपैयाँ आम्दानी हुने यस्तो परिवारमा सुहानाको बाल्यकाल अभावमै बित्यो । विद्यालयको ढोका नदेखेकी उनी डिजिटल दुनियाँसँग भने अपरिचित थिइनन् ।

फेसबुकमार्फत उनले आफ्नो पुरानो चिनजानकी साथी सर्जिना खातुनसँग पुनः सम्पर्क जोडिन् । यही सम्पर्क बिस्तारै उनको जीवनको मोड बन्न पुग्यो । सर्जिनाले आफू मुम्बईमा काम गर्ने सहफान खानसँग विवाह गर्न लागेको र सुहानालाई पनि “घुम्न जाउँ, केही समयपछि फर्काउँछु” भन्दै प्रलोभन देखाइन् ।

नयाँ ठाउँ घुम्ने रहर, साथी माथिको विश्वास र आफ्नो वर्तमान अवस्थाबाट केही समय टाढा जाने चाहनाले सुहाना त्यस प्रस्तावमा सहमत भइन् । एक रात, करिब १२ः३० बजे, घरपरिवारलाई केही जानकारी नदिई उनी चुपचाप घरबाट निस्किइन् ।

बारा जिल्लाबाट सुरु भएको यात्रा कपिलवस्तुको चन्द्रौटा हुँदै रूपन्देहीको सुनौली नाका पार गरेर भारतको गोरखपुरसम्म पुग्यो । उनीसँगै सर्जिना, सहफान र उनका आफन्तहरू थिए । तर गन्तव्य मुम्बई पुग्नु अगाडि नै कथा बदलियो ।

गोरखपुर रेलवे स्टेसनमा टिकट काट्ने क्रममा रेल्वे प्रहरीले शंका गरी सोधपुछ गर्न थालेपछि सुहानासँग आएका सबै व्यक्ति उनलाई त्यत्तिकै छोडेर फरार भए ।

एक्कासी एक्लिएकी सुहाना, अपरिचित ठाउँ, अपरिचित भाषा–डर, अन्योल र असहाय अवस्थाबिच उनी प्रहरीको नियन्त्रणमा पुगिन् । प्रहरीले सोधपुछ गर्दा उनी नाबालिका भएको पुष्टि भएपछि उनलाई बाल संरक्षण समिति, गोरखपुरमा पठाइयो ।

त्यहाँबाट उनको नेपाली पहिचान खुलेपछि नेपालस्थित शान्ति पुनस्र्थापना गृहसँग समन्वय गरियो । त्यसपछि सुरु भयो उद्धारको प्रक्रिया । हेल्प किड्स ट्रस्ट, देहरादून र नयाँ दिल्लीस्थित नेपाली राजदूतावासको सहकार्यमा सवानालाई सुरक्षित रूपमा भारतबाट नेपाल ल्याइयो ।

नेपाल ल्याएपछि केही समय उनलाई आवधिक संरक्षण गृहमा राखियो । जहाँ उनले आफू सुरक्षित भएको महसुस गरेको शान्ति पुनस्र्थापना गृह कृष्णनगर कपिलवस्तुकी परामर्शदाता सन्तोषी चौधरी बताउँछिन् ।

यस्तै अर्की पोखराबाट हराएकी १५ वर्षीया एक किशोरीको कथा अहिले समाजका लागि गम्भीर चेतावनी बनेको छ । सामान्य परिवारमा हुर्किएकी उनी पारिवारिक विघटनको पीडामा थिइन् ।

बाबुले दोस्रो विवाह गरेपछि परिवार अलग्गिएको थियो भने घरमा निरन्तर तनाव, गाली–गलौज र कुटपिटको अवस्था सिर्जना भएको थियो ।

आर्थिक रूपमा सक्षम परिवार हुँदाहुँदै पनि भावनात्मक सहारा नपाउँदा उनी बिस्तारै एक्लिँदै गएकी थिइन् । त्यही बिचमा सामाजिक सञ्जाल फेसबुकमार्फत एक महिलासँग चिनजान भयो ।

ती महिलाले भारतको दिल्लीमा राम्रो रोजगारीको आश्वासन दिँदै उनलाई आकर्षित गरिन् । “यहाँ आउँदा राम्रो कमाइ हुन्छ, बस्ने–खाने व्यवस्था पनि मिल्छ,” भन्ने प्रस्तावले उनी प्रभावित भइन् ।

परिवारलाई जानकारी नदिई उनी सीमाना पार गर्न खोज्दा रूपन्देहीको सुनौली नाकामा एक संस्थाले शंकास्पद गतिविधि देखेर उनलाई उद्वार ग¥यो । तर कथा त्यतिमा सकिएन ।

केही समयपछि घर फर्के पनि पारिवारिक वातावरण फेरिएन । उल्टै हिंसा र उपेक्षा बढ्दै गयो । यसले उनलाई पुनः जोखिमपूर्ण निर्णयतर्फ धकेल्यो । यस पटक सामाजिक सञ्जालमार्फत चिनिएका अर्का व्यक्तिले उनलाई फेरि दिल्ली लैजाने प्रस्ताव राखे । “तिमीलाई राम्रो काम र सुरक्षित बसोबास दिन्छु,” भन्ने प्रलोभनमा उनी फेरि फसिन् ।

पोखरादेखि भैरहवा हुँदै भारत प्रवेश गर्ने योजनासहित उनी अघि बढिन् । उनलाई लुकाउन बुर्का लगाइयो, मोबाइल समेत नियन्त्रणमा लिइयो । सीमा पार गरेपछि भने अवस्था नाटकीय रूपमा बदलियो ।

भारतको गोरखपुर रेलवे स्टेसनमा प्रहरीले शंका गरी सोधपुछ गर्दा उनीसँग आएका व्यक्तिहरू भागेर फरार भए । त्यसपछि मात्र वास्तविकता बाहिर आयो ।

नाबालिग भएकी उनलाई भारतीय बाल संरक्षण निकायले संरक्षणमा लियो । नेपाल–भारतबिचको समन्वयमा उनलाई उद्वार गरी नेपाल ल्याइयो र हाल सुरक्षित आवासमा राखिएको गृहका राष्ट्रिय उद्वार संयोजक भुमिराज भट्टराईले बताए ।

केही समय यता मानव तस्करका घटना क्रमको रूप फेरिएको बताउँदै सामाजिकले आफ्ना नजिकका आफन्त साथीभाइहरूले सोझासाझा नागरिकहरूलाई विभिन्न प्रलोभनामा पारी हुने गरेको उनले बताए । यो घटना एउटा प्रतिनिधि उदाहरण मात्र हो ।

पछिल्ला वर्षहरूमा सामाजिक सञ्जालमार्फत नाबालिगलाई लक्षित गरी रोजगारी, विवाहलगायत रोजगारी जस्ता प्रलोभन देखाएर सीमा पार लैजाने क्रममा बढिरहेको गृह कपिलवस्तुका सुपरभाइजर डिल्लीराज तिमिल्सिनाले जनाए ।

उनका अनुसार यस्तो अवस्थामा किशोरीहरूलाई भावनात्मक रूपमा नियन्त्रण गरेर उनीहरूलाई जोखिमपूर्ण जालमा फसाइन्छ । परिवारको साथ, सचेतना र निगरानी अभाव हुँदा यस्ता घटना झन् बढ्ने खतरा रहने उनको भनाइ छ ।

आफूहरूले सोधपुछ र उद्वारका घटनालाई मध्यनजर गर्दै कार्यक्रम अघि सारेको उनले जनाउँदै सजग रहन आग्रह समेत गरे । यता बालबालिकासँग खुला संवाद, डिजिटल साक्षरता र समुदायस्तरमा सचेतना अत्यावश्यक रहेको बताउँदै मानव अधिकारकर्मी विष्णु प्रसाद खटिवडाले भनेः “उक्त किशोरीको जस्तै अन्य धेरै घटना अझै सतहमा आउन बाँकी रहेको अनुमान छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?