© 2026
चन्द्रौटा । कपिलवस्तुको शिवराज नगरपालिकामा कृषकलाई वितरण गर्न ल्याइएको स्प्रे टङ्कीको मूल्यलाई लिएर विवाद भएको छ ।
बजार मूल्यभन्दा बढी रकम कृषकबाट असुल गर्न खोजिएको आरोप लागे पछि किसानहरूले विरोध जनाएका छन् भने वितरण प्रक्रिया रोकिएको छ ।
वडा नम्बर–६ मा ५० प्रतिशत अनुदानमा १ सय ६६ जना कृषकलाई स्प्रे टङ्की वितरण गर्ने तयारी गरिएको थियो । तर बजारमा करिब ३ हजार ५ सय रुपैयाँमा पाइने स्प्रे टङ्किका लागि कृषकबाट ४ हजार ६ सय रुपैयाँका दरले रकम असुल गर्न खोजिएको भन्दै स्थानीय कृषकहरूले विरोध जनाएका हुन् । उनीहरूका अनुसार विवाद बढेपछि २५ जना कृषकबाट प्रतिव्यक्ति २ हजार ३ सय रुपैयाँका दरले उठाइएको रकम फिर्ता गरिएको बताइएको छ ।
स्थानीय कृषक रामपाल यादवले बजार मूल्यभन्दा बढी रकम उठाएर अनियमितता गर्न खोजिएको आरोप लगाउँदै घटनाको छानबिन र दोषीमाथि कारबाहीको माग गरे । यस्तै अर्का कृषक दयाशंकर चौधरीले किसानलाई आर्थिक रूपमा मार पर्ने गरी सामग्री वितरण गर्न खोजिएको भन्दै सम्पूर्ण खरिद प्रक्रियाको निष्पक्ष छानबिन हुनुपर्ने बताए ।
यता कृषि शाखा प्रमुख शान्तिमाया अधिकारीले भने खरिद प्रक्रिया जिल्ला दररेटभन्दा कम मूल्यमा गरिएको दाबी गरिन् । उनका अनुसार जेठ ११ गते सामग्री आइपुगे पनि रुजु प्रक्रिया पूरा हुनुअघि नै विवाद सिर्जना भएकाले वितरण रोकिएको हो ।
नगरपालिकाका अनुसार वडा कार्यालय र कृषकको साझेदारीमा करिब ८ लाख रुपैयाँ लागतको कार्यक्रमअन्तर्गत कपिलवस्तु सप्लायर्सले स्प्रे टङ्की आपूर्ति गरेको हो । वडा अध्यक्ष मेहताव आलम खाँले खरिद प्रक्रिया नगरपालिकामार्फत भएको र वडाको प्रत्यक्ष संलग्नता नरहेको बताए । उनले बजार मूल्य र खरिद मूल्यबिच अन्तर देखिएपछि वितरण रोकिएको बताए ।
नगरप्रमुख अजय थापाले खरिद प्रक्रिया र बजार मूल्यबिच देखिएको फरकबारे अध्ययन सुरु गरिएको बताउँदै आवश्यक परे छानबिन गरी सत्य तथ्य सार्वजनिक गरिने बताए ।
स्थानीयका अनुसार अधिकांश स्प्रे टङ्कीमा मूल्य उल्लेख गर्ने स्टिकर नहुनु, रुजु प्रक्रिया पूरा नहुँदै कृषकबाट रकम उठाइनु लगायतका विषयले खरिद प्रक्रियामाथि थप प्रश्न उठाएको छ । सत्य तथ्य बाहिर आउनुपर्ने मागसमेत गरेका छन् ।