© 2026
भैरहवा । रोजगारी, आकर्षक तलब र उज्ज्वल भविष्यको सपना देखाएर भारतका विभिन्न सीमावर्ती सहरमा पु¥याइएका ४५३ नेपाली नागरिकलाई एक विशेष उद्धार अभियानमार्फत नेपाल ल्याइएको छ । उद्धार गरिएकामध्ये १५० भन्दा बढी महिला रहेका छन् ।
भारतस्थित नेपाली दूतावास, उत्तर प्रदेश प्रहरी, नेपाल प्रहरी तथा सामाजिक संस्था किन इन्डियाको संयुक्त पहलमा सञ्चालन गरिएको अभियानले नेपालका बेरोजगार युवालाई लक्षित गरी फैलिएको ठुलो ‘नेटवर्किङ स्क्याम’को पर्दाफास गरेको छ ।
भारतस्थित नेपाली दूतावासका काउन्सेलर तथा वरिष्ठ प्रहरी उपरीक्षक प्रकाश मल्लका अनुसार पीडितहरूलाई सुरुमा राम्रो जागिर र उच्च आम्दानीको आश्वासन दिई भारत लगिन्थ्यो । त्यसपछि उनीहरूलाई गैर कानुनी रूपमा सञ्चालन भएका कम्पनी र होस्टेलहरूमा राखेर नयाँ मानिस भर्ती गर्न बाध्य पारिन्थ्यो ।
“उनीहरूलाई पैसा उठाउन, नयाँ सदस्य खोज्न र आफ्नो नेटवर्क विस्तार गर्न दबाब दिइन्थ्यो,” मल्लले भने, “त्यसो गर्न नसक्नेहरूलाई मानसिक र शारीरिक यातना दिइएको पाइयो ।”
दूतावासका अनुसार पछिल्लो ६–७ महिनादेखि भारतका विभिन्न स्थानबाट नेपाली नागरिक समस्यामा परेको गुनासो निरन्तर प्राप्त भइरहेको थियो । घटनाको वास्तविकता तब बाहिर आयो जब एक नेपाली पीडित उक्त सञ्जालबाट भागेर नेपाली दूतावासको सम्पर्कमा पुगे । त्यसपछि दूतावासले स्थलगत जानकारी सङ्कलन गरी भारतीय प्रहरीसँग समन्वय बढाएको थियो ।
मिनिष्टर काउन्सेलर अम्बिका घिमिरेका अनुसार नेपाल सरकारमार्फत परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय र नेपाल प्रहरीबाट प्राप्त जानकारीका आधारमा दूतावासले औपचारिक रूपमा उद्धार प्रक्रिया अगाडि बढाएको हो ।
“हामीलाई विभिन्न स्थानमा नेपालीहरू अलपत्र परेको, सम्पर्कविहीन भएको र शङ्कास्पद कम्पनीहरूमा राखिएको जानकारी आएको थियो,” घिमिरेले भने, “त्यसपछि भारत सरकारका सम्बन्धित निकाय र स्थानीय प्रहरीसँग समन्वय गरी उद्धार अभियान सञ्चालन गरियो ।”
मध्यरातमा पाँच टोलीको छापा
उत्तर प्रदेश प्रहरी मुख्यालयको निर्देशन तथा कुशीनगर प्रहरीको प्रत्यक्ष समन्वयमा मध्यरातपछि विशेष अपरेशन सञ्चालन गरिएको थियो । नेपाली भाषा बुझ्ने सदस्यहरू समेत समावेश गरी पाँच वटा टोली गठन गरिएको थियो ।
ती टोलीहरूले विभिन्न घर, होस्टेल र भाडाका भवनहरूमा छापा मारेर नेपाली नागरिकहरूको उद्धार गरेका थिए । अभियानमा सहभागी सामाजिक संस्था किन इन्डियाका प्रतिनिधि नवीन जोशीका अनुसार अनुसन्धानका क्रममा पीडितहरूलाई अत्यन्तै दयनीय अवस्थामा राखिएको भेटिएको थियो ।
“हामीले रेकी गर्दा एउटै कोठामा ८ देखि १५ जनासम्मलाई कोचेर राखिएको भेट्यौँ,” जोशीले भने, “उनीहरूलाई स्वतन्त्र रूपमा फोन गर्न, बाहिर निस्कन वा कसैसँग सम्पर्क गर्न दिइँदैनथ्यो ।”
कसरी चल्थ्यो ठगीको सञ्जाल ?
प्रहरी अनुसन्धान अनुसार यो ‘पिरामिड नेटवर्किङ स्किम’मा आधारित ठगी थियो । पीडितहरूलाई सुरुमा १० देखि १५ हजार रुपैयाँ बुझाएर सदस्य बनाइन्थ्यो । त्यसपछि थप सदस्य भर्ती गरेबापत बोनस, पदोन्नति र लाखौँ रुपैयाँ आम्दानी हुने सपना देखाइन्थ्यो ।
पाँच जना सदस्य थपे ५० हजार रुपैयाँ, १० जना थपे उच्च पद, २० जना थपे विशेष सुविधा र सय जना सदस्य भर्ती गरे लाखौँ रुपैयाँ तलब पाइने प्रचार गरिन्थ्यो ।
एसएसपी प्रकाश मल्लका अनुसार कतिपय पीडितहरूले दुई लाख रुपैयाँसम्म तिरेका थिए । “कतिपयले आफ्ना गाउँका ८–१० जनासम्मलाई ल्याइसकेका रहेछन्,” उनले भने, “त्यसैले आफू ठगिएको स्वीकार गर्नसमेत उनीहरू हिचकिचाइरहेका थिए ।”
परिवारमाथि समेत मानसिक दबाब
उद्धार गरिएका व्यक्तिहरूका अनुसार नयाँ सदस्य भर्ती गर्न नसक्नेहरूलाई घरमा फोन गरेर पैसा माग्न बाध्य बनाइन्थ्यो । उनीहरूलाई ‘म आत्महत्या गर्छु, पैसा पठाइदेऊ’ भन्न लगाइने वा ‘म यहाँ राम्रो अवस्थामा छु, तर थप लगानी गरेपछि धेरै कमाइ हुन्छ’ भनेर परिवारलाई भ्रममा पार्न लगाइने गरेको खुलेको छ ।
यसरी पीडित र उनीहरूका परिवार दुवै आर्थिक तथा मानसिक शोषणको चक्रमा फस्ने गरेका थिए ।
सुदूरपश्चिमका युवा बढी प्रभावित
प्रारम्भिक विवरणअनुसार उद्धार गरिएकामध्ये अधिकांश सुदूरपश्चिम प्रदेशका छन् । त्यसपछि कर्णाली र लुम्बिनी प्रदेशका नागरिकहरूको सङ्ख्या उल्लेख्य रहेको छ । रोजगारीको अवसर कम भएका क्षेत्रका युवा, न्यून आय भएका परिवार तथा सीमित शैक्षिक पहुँच भएका नागरिकहरू यस्तो ठगीको मुख्य निशाना बनेको देखिएको छ ।
मुख्य नाइके खोज्दै प्रहरी
उद्धार गरिएका ४५३ नेपालीलाई बेलहिया नाका हुँदै ८ वटा बसमा भैरहवा ल्याएर जिल्ला प्रहरी कार्यालय रुपन्देहीको जिम्मा लगाइएको छ । हाल उनीहरूको विवरण सङ्कलन, बयान र आवश्यक कानुनी प्रक्रिया चलिरहेको छ । यसैबिच ठगी सञ्जालका मुख्य सञ्चालक, लगानीकर्ता र नेपालभित्र रहेका एजेन्टहरूको पहिचान गर्ने काम तीव्र बनाइएको प्रहरीले जनाएको छ ।
दूतावासका अधिकारीहरूले आकर्षक तलब, छोटो समयमा धनी बन्ने सपना तथा सदस्य थपेपछि ठुलो आम्दानी हुने दाबी गर्ने यस्ता नेटवर्किङ कम्पनीहरूबाट सजग रहन सर्वसाधारणलाई आग्रह गरेका छन् ।
अधिकारीहरूका अनुसार बेरोजगारी, गरिबी र वैदेशिक रोजगारीप्रतिको आकर्षणलाई प्रयोग गरेर सञ्चालन गरिने यस्ता ठगी सञ्जालविरुद्ध नेपाल र भारतका सुरक्षा निकायबिच थप समन्वय गरी अनुसन्धान अगाडि बढाइएको छ ।