Butwal Today

आगामी वर्षदेखि काठमाडौँ उपत्यकालगायत प्रमुख सहर धुलोमुक्त बनाइने

१५ जेष्ठ २०८३, शुक्रबार
अ+
अ-

काठमाडौँ ।  सरकारले आगामी आर्थिक वर्षदेखि काठमाडौँ उपत्यकालगायत प्रमुख सहर धुलोमुक्त तथा खाल्डाखुल्डीमुक्त बनाइने लक्ष्य राखेको छ ।

आज आगामी आर्थिक वर्ष २०८३र८४ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै आगामी वर्षदेखि काठमाडौँ उपत्यकालगायत प्रमुख सहरी सडकको नियमित मर्मत सम्भार गरी धुलोमुक्त तथा खाल्डाखुल्डीमुक्त बनाइने जानकारी दिएका हुन ।

उनका अनुसार सडक मर्मत सम्भारलाई राष्ट्रव्यापी अभियानका रूपमा सञ्चालन गर्न रु २८ अर्ब ५२ करोड विनियोजन गरिएको छ । “राजमार्गका उच्च जोखिमयुक्त क्षेत्रमा जलवायु अनुकूलित संरचना निर्माण गरिनेछ ।

पहिरोका कारण राजमार्गमा हुने अवरोध तत्काल हटाई यातायात सेवा सुचारु गर्न रु तीन अर्ब १७ करोड विनियोजन गरिएको छ,” मन्त्री वाग्लेले भने, “प्रमुख सडक चोकमा ट्राफिक सङ्केत, चोक सुधार, सडक रेखाङ्कन, क्र्यास ब्यारेयर तथा डिभाइडर जडान एवं मर्मत कार्यलाई निरन्तरता दिँदै सडक सुरक्षाका लागि रु दुई अर्ब ४६ करोड विनियोजन गरिएको छ ।”

उनका अनुसार बर्दिबासदेखि काठमाडौँ–तराई–मधेस द्रुतमार्गको प्रारम्भ विन्दुसम्म रेलमार्ग निर्माण कार्य अगाडि बढाइनेछ । निर्माणाधीन बथनाहा–विराटनगर तथा जनकपुर–जयनगर–बर्दिबास रेलमार्गको बाँकी कार्य सम्पन्न गर्न आवश्यक बजेट विनियोजन गरिएको छ ।

महिलाको सुरक्षित आवागमन सुनिश्चित गर्न सिसी क्यामेरासहितको आधुनिक ‘ब्लू बस सेवा’ सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाइने बजेट वक्तव्यमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?