ट्रेंडिंग:

>> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो
संस्मरण

ओ ! जङ्गल

२२ कार्तिक २०८२, शनिबार
२२ कार्तिक २०८२, शनिबार

म जन्मिएको समयमा मेरो घर वरिपरी भर्खरै जंगल फाँडेर खेतीपाती गर्न थालिएको थियो रे । तर, मेरो स्मृतिमा भने घर वरिपरि जंगलका अवशेष आउदैनन् । घरबाट १०० मिटर उत्तरमा दिपनगर कुलो पारि भने ठुलाठुला रुखहरु थिए । सर्लक्क परेका साझका रुख, टिकुलिका रुख, हर्रोका रुख अनि बांगाटिंगा अजंगका सालका रुखहरु थिए । गतिला सालका रुखहरु भने फँडानी भैसकेका थिए । खेतको पूर्वतिरको झाडीमा पनि ठुलाठुला सालका रुखहरु थिए । अलि पश्चिमा उत्तरतिर भने सिसौका रुखहरु थिए । करिब २०० मिटर उत्तर लाग्ने बित्तिकै बाक्लो झाडी थियो । ठुलाठुला रुखमा बाँदर उफ्रिएका देखिन्थे । रुखका टोड्कामा बचेराहरु चिहाएको देखिन्थे । सबैजसो रुखमा कुनै न कुनै चराहरु बसेका देखिन्थे ।

मेरो घर नजिकै जंगल जाने डहर थियो । त्यो डहर हुँदै गणेश नगरका वासिन्दाहरु दाउरा बेच्न, किनमेल गर्न नयाँमिल मणिग्रामतिर जाने गर्दथे । डहर हुदै जंगल पस्दा दिपनगर कुलो र ठुलो कुलो तर्नु पर्दथ्यो । दिपनगर र ठुलो (मद्रहानी )कुलोमा तेर्साइएका अजङ्गका मुडाहरुले पुलको काम गर्दथे । ठुलो कुलो तरेपछि केही पातलो तर अजङ्गका रुखहरु भएको वन सुरु हुन्थ्यो । त्यहाँबाट एउटा बाटो पूर्वतर्फ लागेर गणेशनगर पुग्थ्यो भने उत्तरतिर ३ वटा डहरहरु सुखौरा खोलातापÞर्m लाग्थे । ती ३ वटा डहर मध्ये देउरालीको बाटो भनिने पश्चिम तर्फको बाटो बढी प्रचलित थियो । त्यो बाटो चुरे पहाडमा पुगेर टुङ्गिन्थ्यो । लडिया लिएर दाउरा काट्न जानेहरुले त्यही बाटो नै प्रयोग गर्थे । देउरालीको बाटो सुखौरा पुग्दा एउटा अग्लो ढिस्कोमा मानिसहरुले पाती चढाउथे । त्यो क्षेत्रमा पुराना भग्नावशेषहरु प्रशस्तै थिए । दुई वटा पुराना इनारहरु पनि थिए । देउरालीको बाटोको छेउँछाउँ ठुलाठुला चौर थिए । ती मध्ये सानो खाला, ठुलो खाला र दुबी चौर वरिपरी वर्षा याममा प्रशस्तै फल्ने अर्चलेका झाडी थिए । सुखौरा किनारमा ठुलाठुला कुसुमका रुख, जामुनका रुख, फडिवरका रुख, बेलका रुख, बर्राका रुखहरु थिए । सुखौरा खोला उत्तरमा छिचोल्न नसकिने झाडी थियो । अजङ्गका रुखहरुमा भोर्लाका लहराहरू बेरिएका हुन्थे र रुखमा अनेकथरी सुनाखरी फुलेका देखिन्थे । ठुलोकुलोदेखि गणेशनगर जाने बाटोको दुवै किनारमा जामुन, बयरका रुखहरु थिए । गणेश नगरदेखि पश्चिमतर्फ २ वटा फायरलाइन थिए । एउटा फायर लाईन ठुलो कुलोको समानान्तर मगर टोल निस्कन्थ्यो भने अर्को फायर लाईन देउराली निस्केर फस्र्ट बोरिंग (बुटवल औद्योगिक क्षेत्रको पुर्व) जान्थ्यो । त्यो फायर लाइन पाल्पादेखि बुटवल हुँदै परासी र निचलौलं जाने पुरानो बाटो रहेछ भन्ने मैले धेरै पछि थाहा पाएको थिएँ । बाल्यकालमा मैले विचरण गर्ने वन त्यही थियो । मेरो घुमफिर सुखौरा दक्षिणको वनमा नै हुन्थ्यो । कहिलेकाही ग्याङ बनाएर सुखौरा उत्तरको वन घुम्दै महेन्द्र राजमार्ग सम्म पुगेर गाडी दौडिएको हेरेर रमाइन्थ्यो । गाडीका बेरिङ खसेका छन् कि भनेर खोज्दै वनलाई चिरेर गएको सफा सडकको टाढा टाढासम्म हेर्दै हिडिन्थ्यो । अलि पछि राजमार्गलाई समेत पार गर्दै लडियाले बनाएका डोबहरू पछ्याउँदै कमेरे खोलाको मुहान मुढाबास सम्म पुगियो ।

 स्कुलपछि बाल्यकालमा सबैभन्दा बढी समय जिताएको ठाउँ थियो घर नजिकको जंगल । गाईवस्तु चराउने, दाउरा लिन जाने, थरिथरिका फलफुल खोज्न जाने, किताब कापी बोकेर गर्मीमा शितलमा बसेर पढ्न जाने, बा आमाको आँखा छलेर गुच्चा र भुरुंग खेल्न जाने ठाउँ जंगल नै थियो । बाल्यकालमा सबैभन्दा रमाउने थलो नै जंगल थियो । चैत्रको मध्यदेखि जेठसम्म डढेलो लाग्ने समय भएकोले वनमा कम गइन्थ्यो । त्यो बेलामा पनि पौडी खेल्नको लागि वनको बिच हुँदै बग्ने सुखौरा खोलामा जाने गर्दथ्यौं । असार साउनमा गाई भैसी लिएर जंगलका कुना काप्चा चाहारिन्थ्यो । जताततै जामुन फलेको हुन्थ्यो । रुखमा चढेर टिप्न झमेला हुने भएकोले अलि ठुला दाइहरुले रुखमा चढेर हाँगा काट्थे र साना केटाकेटीहरुले भुइँमा झरेका तिनै जामुन टिप्दथे । कसले राम्रो जामुन बटुल्ने भनेर हाँगा काट्दा काट्दै रुखमुनी दगुर्ने गर्दा एकपटक रुखबाट काटेको हाँगो भुइमा जामुन खोजिरहेको साथीको ढाडमा बज्रिएको थियो । साथी केहीबेर बेहोस जस्तै भएकोले भागाभाग भएको थियो । त्यो सम्झदा अहिलेपनि डर लाग्छ । ३÷४ कक्षामा पढ्दाताका भने गणेशनगर जाने बाटो छेउँछाउँमा जामुनका रुखहरु प्रशस्तै थिए । रुखमुनी भैसी लगेर भैसिमाथि उभिएरै जामुन टिप्ने गरिन्थ्यो ।

जंगलमा सबै याममा कुनै न कुनै खानेकुरा पाइन्थ्यो । बैशाख जेठमा सुखौरा खोला क्षेत्रमा डुलेर काँचो आँप खान्थ्यौ । असार साउनमा वनमा राताम्पे फलेका अर्चलका बोटहरु हुन्थे । नुन खुर्सानी लिएर जंगलमा गएर अर्चल सोरतेर ल्याएर रुखमुनी बसेर खान्थ्यौँ । असोज कार्तिकमा कागती अमिलो र वन तरुल खोजिन्थ्यो । मङ्सिरदेखि फाल्गुनसम्म बयर, भलायो, थाकल ( काण्ड चिरेर) खोज्दै खान्थ्यौ । केटाहरुले चरा र खरायो मारेर पोलेर पनि खान्थे, तर मलाई भने त्यो कहिल्यै मन परेन ।

ठुलो जाँच दिएपछि वर्षभरिको लागि दाउरा काट्न जंगलमा जाने चलन थियो । धान स्याहारेपछि गाउँलेहरु केही फुर्सदमा हुने भएकोले त्यो बेलामा धेरै टाढा टाढाका गाउँबाट दाउरा काट्न मेरो घर नजिकैको जंगलमा सयौ मानिसहरु आउँथे । गाउँको बाटोमा मेला लागेजस्तै हुन्थ्यो । कसले धेरै भारी दाउरा काटेर घर लैजाने भन्ने प्रतिष्पर्धा नै चल्थ्यो । घर नजिकै जंगल भएको फाइदा उठाएर हामीहरुले दिनमा ७ भारीसम्म दाउरा काटेर कड्कुरो भर्ने गर्दथ्यौ । ठुला रुख नकाटी पोथ्रा काट्ने गरिन्थ्यो । कहिलेकाही सुकेका दाउरा खोज्ने बहानामा सुखौरा खोला उत्तरको जंगल र चरंगे गाउँसम्म पुगेपनि हामी केटाकेटीहरुले दाउरा काट्ने जंगल सुखौरा दक्षिण नै थियो । २०४५÷४६ सालतिर भने चुरेको घेंचसम्म पुगेर सुकेका दाउरा ल्याएका थियौं ।

२०४१÷४२ सालतिर अचम्म लाग्नेगरी कताकताका मान्छेहरु साईकल लिएर जंगल पसे । उनीहरुले घर नजिकैका जंगलका सालका रुखहरु काटेर गुल्ली बनाएर साईकलको फ्रेमको बिचमा राखेर दक्षिणतिर लाग्थे । त्यो क्रम २ सातासम्म निरन्तर चलिरह्यो । ठुला सालका रुखहरु निकै काटिए । सुखौरा खोलासम्मका गतिला र सोझा रुखहरु छानीछानी काटिए । गाउँका मानिसहरु डराएर केही बोल्न सकेनन् । दुइ सातापछि वनपाले आएर केही साइकल समात्यो । साइकलावालाहरु भागे । त्यसपछि रुख काट्न रोकियो । तर त्यसबेलासम्म घर नजिकैको जंगलबाट ठुला सालका रुखहरु कुलेलाम ठोकिसकेका थिए । ठुला रुखहरु काटिएपछि बस्ती नजिकैको जंगलमा तारबार गर्ने कुरा सुनियो । मगर टोलदेखि पुर्व ज्योति नगरसम्मको गाउँ उत्तरमा ५०० मिटर चौडाईको क्षेत्र समावेश गरेर तारबार गरियो । गाई वस्तुलाई जंगल पस्नको लागि एउटा मात्र बाटो राखियो । दर्जन भन्दा बढी गाउँका हजारौ गाईवस्तुहरुलाई साँघुरो बाटोबाट दिनहँु जंगल लैजादा ल्याउदा त्यो बाटो एकै वर्षका खिइएर खाल्टो परेर खोला जस्तै भएको थियो । त्यो तारबार भन्दा उत्तरतिरको जंगल भने खुला नै थियो ।

तारबार गरेको क्षेत्र भित्रको खाली ठाउँमा वृक्षारोपण गर्न थालियो । बिरुवा रोप्ने खाडल खनेको २० पैसा र एउटा विरुवा रोपेको १० पैसा पाइन्थ्यो । मलाई चिमचिमे घडी लगाउने ठुलो रहर थियो । त्यही भएर बिदाको दिन र अरु दिन स्कुल जानुअघि र पछिको समय मैले खाडल खन्ने र विरुवा लगाउने काम गरें । मैले त्यो कामबाट करिब ८५ रुपिया कमाएँ । यसो हिसाब गर्नुस् त मैले कति खाडल खने ? कति विरुवा रोपें ? त्यही पैसा लिएर मामासंग बुटवल गएर फिल्म हेरें, मिरिन्डा खाएँ । हातमा लगाउने घडी किन्न पैसा पुगेन । ४५ रुपिया खर्च गरेर चिमचिमे घडी भएको पेन किनें । मैले विरुवा रोपेको तारबार गरिएको वनमा प्रवेश गर्ने स्थानमा पंचायत संरक्षित वन भन्ने बोर्ड राखिएको थियो । तारबार गरेपछि लुकिछिपी साइकल लिएर मुढा बोक्न जंगल जाने क्रम लगभग रोकियो । तर घास दाउरा लिन जंगल जाने क्रम भने उस्तै चलिरह्यो । २०४६ पछिका ३ वर्षमा त्यो तारबार विस्तारै हरायो । फेरि वन फँडानी हुन थाल्यो । सुकुम्बासीहरुले रातारात कटेरो पनि ठडाए, तर गाउँले र वनपालेले उनीहरुलाई लखेटे । केही वर्षपछि मैले घुमफिर गर्ने र घाँस दाउरा गर्ने जंगल करहिया र शंकरनगर सामुदायिक वनमा विभाजित भए । जंगलमा कडाई हुन थालेपछि पहिलेजस्तो दक्षिणका गाउँहरु रामनागर, जहदा, सुस्पुरा, सेमरा, हरैया, करैया, महुवारी, दक्षिण टोला, केवलानी, तुलसीपुरतिरका थारुहरु जंगल आउने क्रम निकै घट्यो । गोरुगाँडा र साइकलमा दाउरा बोक्ने क्रम पनि टुट्यो । ती गाउँहरुमा पशुपालन घटेपछि गाइवस्तु चराउन जंगलमा आउने गोठालाहरु पनि घटे । पहिले मट्टितेल स्टोभ र पछि ग्यासको प्रचलन बढेपछि नयामिल. मणिग्रामतिर दाउरा बिक्री हुन छाड्यो, जसले गर्दा एकाबिहानै दाउराको भारी बोकेर बजार जाने गणेश नगरेहरु पनि आउन छोडे । झिसमिसे उज्यालोदेखि झमक्क रात पर्दासम्म व्यस्त रहने मेरो गाउँको बाटोको चहलपहल पनि ह्वात्तै घट्यो ।

मैले हिंड्न सक्ने भएदेखि ९ कक्षामा पढ्दासम्म रमाइलोको लागि, घुम्नको लागि र दाउरा काट्नको लागि सुखौरा क्षेत्रको जंगलको कुना कुनासम्म डुलें । त्यसपछि आईएस्सी पढ्ने बेलामा गाईवस्तु चराउन र घाँस काट्न जंगल गएँ । बिएस्सी पढ्न थालेपछि जागिर गर्न समेत थालेकोले वनसंगको सम्बन्ध पातलिदै गयो । वनस्पतिहरुको अभिलेखीकरण गर्न, वनस्पति चिन्नको लागि भने त्यही वन मैले धेरैपटक चाहारें । पछिल्लो २५ वर्षमा भने जंगल जाने क्रम लगभग बन्द भएको छ । तैपनि कहिलेकाही बाख्रालाई स्याउला लिने बहानामा जंगल डुल्दै सुखौरा खोलासम्म पुग्छु । वन व्यवस्थापनको नाममा अहिले जंगलका कुकाठका बिरुवाहरु हटाइएको छ । हर्लक्क बढ्दै गरेका सालका पोथ्रा बाहेक अरु रुख विरुवाहरु विरलै देखिन्छन् । २०४० को दशकमा निकै झाडी भएको जंगल अहिले पातलो छ । टाढासम्म छर्लंग देखिन्छ । हरेक वर्ष दोहोरिने डढेलोले गर्दा भुइँमा घाँसपात उम्रन नपाउदा भूक्षय भैरहेको छ । अचेल जंगल जाँदा बाघ, हरिण, खरायो, निलगाई, गिद्ध, स्यालसंग जम्काभेट हँुदैन । ठुला रुखहरु मासिएकाले टोड्काबाट चिहाउने चराका बचेराहरु देखिदैनन् । ग्रृष्मयामका ’काफल पाक्यो’ र ’को हो ? कोहो ?’ भन्दै बेलाबेलामा कराउने आवाज बाहेक चराहरुको कल्यांग कुलुंग अचेल कमै सुनिन्छ । जंगलमा फलफूलका रुखहरु छैनन् अनि केटाकेटीहरु फलफूल खोज्न जंगल पनि जाँदैनन् । कहिलेकाही च्याउ खोज्न जानेहरु, बाख्रालाई स्याउला ल्याउन जानेहरु, पात टिप्न जानेहरु जंगलतिर गएको देखिन्छ । महुवारी र सुस्पुरातिरका केही थारुहरु फुर्सदको बेलामा दाउरा लिन जंगल जाने परम्परा अलिकता भएपनि जीवित छ । मेरो गाउँबाट उत्तरमा हेर्दा जंगल पहिलेको जस्तै देखिन्छ । त्यो जंगलको कुना कुनामा दगुर्दै जान मन लाग्छ । तर दगुर्ने फुर्सद छैन, साथ दिने साथी छैनन्, जंगलमा मुख मिठो बनाउने कुरा छैनन् । तर्साउने लोखर्के, स्याल र हरिण छैनन् । खासमा मेरो बाल्यकालको जंगल नै छैन ।
ओ जङ्गल ! मेरो याद आउँछ तँलाई ?
मेरो स्पर्शको कमी महसुुस हँुदैन तँलाई ?

[email protected]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?