© २०२३
जन्मदेखि मृत्युसम्मको यात्रामा असङ्ख्य इच्छा, आकांक्षा र अपेक्षामा बाँधिन्छ मान्छे ।
जीवनको प्रत्येक पलमा ऊ कुनै न कुनै लक्ष्यको खोजीमा रहन्छ । जसरी मरुभूमिमा मिराजलाई पछ्याउँदै पानी भेट्न दौडिरहन्छ यात्री । भ्रमपूर्ण गन्तब्यमा । विभिन्न चरणहरूमा परिवर्तित हुँदै जान्छन् मानिसका चाहनाहरू । बाल्यकालमा एउटा सानो खेलौनाको क्षणिक मोह ।
किशोर अवस्थामा प्रेमको पहिलो स्पर्श वा शैक्षिक सफलताको उन्मादी खोजी । अनि वयस्क अवस्थामा भौतिक सम्पत्ति, सामाजिक प्रतिष्ठा र अटुट सम्बन्धको आकांक्षा । मानिसलाई यस्तै इच्छा, आकांक्षा र अपेक्षाले बाँधिरहन्छ । ज्यूँदो रहुन्जेल ।
मानिसका चाहना परिवर्तन हुँदै जान्छन् समयको नदीसँगै । अनि अवस्था, समाज र व्यक्तिगत चेतनाको विकाससँगै । आफूलाई अरूसँग तुलना गर्दा पनि बढ्छन् त्यस्ता चाहनाहरू । त्यसो त चाहनाहरू क्रमशः पूरा हुँदै जाँदा खुसी प्राप्त हुन्छ ।
तर, ती खुसीहरू क्षणभरका लागि मात्र अडिन्छन् । दुःखी हुने क्रम भने अनवरत रूपमा चलिरहन्छ । कुनै कुरा प्राप्त गर्ने, त्यसको आनन्द केही समयमै हराउने अनि फेरि नयाँ नयाँ चाहनाले स्थान लिने । यही हो ‘दुःख’ । बुद्धले यसैलाई दुःखचक्र भनेका छन् ।
जीवनका सबै अनुभवहरू अनित्य छन् । कुनैपनि कुरा स्थायी छैन । यही अनि त्यता बुझ्न नसक्दा मान्छे सधैँ असन्तुष्ट र दुःखी बन्दछ ।
मानिसले लिने चाहना र लक्ष्यहरू यत्तिकै कसैले आशिर्वादको रूपमा पूरा गरिदिन्न । तिनको प्राप्तिका लागि जीवनमा अथक यज्ञ जरुरी छ ।
यस्तो यज्ञमा त्यागको ज्वाला, मिहिनेतको आहुति र संघर्षको अग्निकुण्ड हुन्छ । यो मिहिनेतको प्रक्रियामा अनगिन्ती शारीरिक कष्ट र मानसिक दुःखहरूको वर्षामा निथु्रक्क भिज्नुपर्छ मान्छेलाई । त्यसैले मानव जीवन सदैव दुःखको चक्रव्यूहमा फस्दछ ।
अतः मानिस सधैँ खुसीको तिर्खा मेट्न चाहन्छ तर मिराजको भ्रममा उसले केही प्राप्त गर्न सक्दैन । प्राप्त गर्दछ, केवल दुःख । कुनै एक व्यक्ति दिनहुँ पैदल यात्रा गरिरहँदा अरू मानिसहरूले साइकल चढेको देख्छ । यसबाट उसमा साइकल किन्ने चाहना जाग्छ ।
कडा मिहिनेत र लामोसमयको सानोसानो बचतपछि ऊ साइकल किन्न सफल हुन्छ । साइकल पाउँदा ऊ खुसी पनि हुन्छ । तर, केही समयपछि ऊ अरूलाई मोटरसाइकलमा देख्छ । अनि सुरु हुन्छ दुःखको यात्रा । त्यही साइकल जसलाई उसले सुखको कारण मानेको थियो ।
अब दुःखको कारण बन्न पुग्छ । ऊ साइकल यत्राप्रति असन्तुष्ट हुन्छ । निराश हुन्छ । पुनः संघर्ष गर्छ र मोटरसाइकल किन्छ । तर, केही दिनपछि त्यो पनि प¥याप्त लाग्दैन । अब उसमा कारको चाहना जागृत हुन्छ । यही चक्र जीवनभर दोहोरिरहन्छ । यो चक्र मानवीय सम्बन्ध, सम्मान र अपेक्षामा पनि देखिन्छ । यस्तो आसक्तिको चक्रले सधैँ दुःख सिर्जना गर्दछ ।
भौतिक सुख अर्थात क्षणिक सुखमा हराउने हो भने जीवनको उत्तरार्धतिर पछुतो मात्र हुन्छ । यसलाई बिवेकपूर्ण जीवन मान्न सकिन्न । यस क्रममा प्रश्न उठ्न सक्छ, त्यसो भए बुद्धिमानी के हो त? बुद्धका अनुसार बबुद्धिमानी भनेको भौतिक आसक्ति र क्षणिक सुखबाट टाडा रहनु हो ।
समग्र जीवनको लक्ष्य पहिचान गरेर त्यसको प्राप्तीको लागि सत्यको बाटोमा हिँड्नु हो । जीवनमा केवल टुक्रे वा क्षणिक लक्ष्यहरूको पछि लाग्दा मानिस दुःखको चक्रमा फस्दछ । त्यसैले समग्र जीवनको परम उद्देश्य अर्थात् दीगो खुसी प्राप्त गर्ने मार्गलाई पहिचान गरी त्यसमा हिँड्नु बुद्धिमानी हुन्छ ।
विवेकी मानिसका लागि खुसी भनेको दुःखबाट पूर्ण मुक्तिको अवस्था हो । दुःखबाट मुक्तिका लागि हामीले सर्वप्रथम दुःखको स्वरूप र यसका कारणहरूबारे जान्नु जरुरी छ । त्यसपछि दुःख निरोध गर्ने उपाय । बुद्धले आफ्ना चार आर्य सत्यमा यी सबै मूलभूत कुराहरूको व्याख्या गरेका छन् ।
उनले दुःख निरोधका लागि आर्य अष्टाङ्गिक मार्ग अर्थात् मध्यम मार्ग पत्ता लगाएका छन् । तर, विडम्बना धेरै मानिसहरूलाई दुःख दूर गर्ने उपाय (आर्य अष्टाङ्गिक मार्ग) बारे थाहा त छ, तर उनीहरूलाई यो ज्ञानले मात्र दुःख दूर हुन सक्दैन भन्ने महत्वपूर्ण कुराको बोध छैन ।
जसरी डाक्टरले रोग पत्ता लगाउँछन् । त्यसपछि औषधि दिन्छन् । हामीले औषधि सेवन नगरेसम्म रोग निको हुँदैन । ठिक त्यसैगरी बुद्धको दुःख निरोधको मार्ग पनि केवल जान्ने विषय मात्र होइन । व्यवहारमा लागू गर्ने विषय हो । आर्य अष्टाङगिक मार्गलाई जीवनमा अभ्यास नगरेसम्म दुःख निरोध हुन सक्दैन । दुःख निरोध नभएसम्म मुक्ति अर्थात् निर्वाण लाभ प्राप्त हुन सक्दैन ।
बौद्ध धर्मले दुःख निरोधका लागि “अनासक्ति” को सिद्धान्त सिकाउँछ । यसलाई आर्य अष्टाङ्गिक मार्ग वा मध्यम मार्गमा पनि समावेश गरिएको छ । “अनासक्ति”को अर्थ हो, भौतिक वस्तुप्रतिको लगाब वा मोह शून्य बनाउनु ।
संसारसँगको सम्बन्ध नतोडी, संसारिक जीवनमा रहँदा पनि त्यसबाट अलग रहन सकिन्छ । अर्थात् अनासक्त रहन सकिन्छ । त्यसको लागि उपयुक्त उपाय भनेको ध्यान हो । ध्यानले चित्तलाई केन्द्रित गर्न सिकाउँछ । सन्तुष्ट रहन र पूर्णरूपमा वर्तमानमा रहन पनि मद्दत गर्दछ ।
जब हामी सचेत बन्छौँ, तब हाम्रो ध्यान परिणामभन्दा कार्य वा प्रक्रियामा केन्द्रित हुन्छ । यसो गर्न सकियो भने मात्र दुःखका कारणहरूबाट टाढा हुन सकिन्छ । जित वा हारको अनुभूतिले मनमा अनावश्यक क्रोध, स्वार्थ वा अहंकारको विजारोपण गर्दछ ।
यसको विपरीत, काममै आनन्द मान्ने हो भने, दुःखबाट अलग रहने बाटो भेटिन सक्दछ । वास्तवमा, परिणाम कहिल्यै पनि हाम्रो नियन्त्रणमा हुँदैन । यसलाई असङ्ख्य बाह्य कारकहरूले समेत प्रभाव पार्दछ । तर, कामको प्रक्रियामा हामी नियन्त्रित र केन्द्रित हुन सक्यौँ भने, कामप्रतिको हाम्रो प्रयासले हामीलाई आन्तरिक रूपमा अझ सक्षम र सामथ्र्यवान् बनाउन मद्दत गर्दछ ।
झट्ट हेर्दा अनासक्ति र वैराग्य दुबै उस्तैजस्तो लाग्छ । वास्तवमा यी दुबै अवधारणा एउटै होइनन् । साधुहरूले भौतिक सुख र सांसारिक सम्बन्धहरूलाई त्यागेर एकान्त जीवन बिताउँछन् । अर्थात् वैराग्य जीवन विताउँछन् ।
उनीहरूमा अनासक्तिको भावना पनि हुन्छ । यस्तो भावना पारिवारिक जीवनमा रहेका व्यक्तिहरूसँग समेत हुन सक्दछन् । यस्ता मानिसहरू परिणामसँग नजोडीई आफ्नो कर्तव्य पूरा गर्न लागिरहन्छन् । हाम्रो जीवन इच्छाहरूको पुञ्ज बनेको छ, जुन दुःखको कारण हो ।
वैराग्यले यी इच्छाबाट मुक्त हुन मद्दत गर्छ, तर यसले हामीलाई आमाबाबु, सन्तान, साथी र समाजप्रतिको जिम्मेवारीबाट पनि टाढा लैजान्छ । यसको विपरीत, अनासक्ति भनेको एउटा सन्तुलित जीवनदर्शन हो । यसले हामीलाई परिणामको चिन्ता नगरी वर्तमानका कार्यहरूमा केन्द्रित हुन सिकाउँछ ।
इच्छा मानवीय स्वभाव हो । यही इच्छामाथि नियन्त्रण गर्न नसक्दा मानिस तृष्णाको जालोमा जकडिन पुग्छ । परिणाम मिल्छ त केवल दुःख । वास्तवमा, तृष्णा र आसक्ति सून्य भए मात्र खुसीको गणित सुध्रिन सक्छ । जसै अनासक्तिको भाव जाग्छ, तृष्णा कमजोर बन्दै जान्छ ।
यसले अनावश्यक इच्छालाई दबाउँदै जान्छ । सुख ठानिएका वस्तुहरू नै दुःखका कारण हुन् भन्ने जान्नु चानचुने अभ्यास होइन । जे कुरालाई हामी प्राथमिकता दिइरहेका छौँ, त्यही कुरा नित्य छैन ।
यो अनित्यताको सत्य बुझेर मनमा अनासक्तिको भावना विकास गर्नु नै बुद्धले बताएको मध्यम मार्ग हो। यही नै वास्तविक मुक्तिको बाटो हो । यसलाई दैनिक जीवनमा लागू गर्न सकेमा प्रत्येक व्यक्ति आफैंले मोक्षको यात्रा सुरु गर्न सक्छ ।