© २०२३
काठमाडौँ ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सरकारलाई जनविरोधी, असफल र कुशासनको पक्षपोषक ठहर गरेका छन्। शुक्रबार काठमाडौँमा आयोजित पार्टी निकट विद्यार्थी सङ्गठनको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले वर्तमान सरकारको आलोचना गर्दै यसको “पतन अनिवार्य” रहेको दाबी गरे।
नेपालले सरकार जनभावना र जनचाहना बुझ्न असफल भएको, सही नीति नअवलम्बन गरेको र जनताको पीडा सम्बोधन गर्न नसकेको आरोप लगाए। “सरकार जनताको विश्वास जित्न सक्दैन, परिणाम दिन सक्दैन,” भन्दै उनले सरकारसँग समर्थनको कुरा आउनै नसक्ने बताए।
उनले भने, “सरकार सुशासनको होइन, कुशासनको पक्षपोषक हो। यस्तो सरकारलाई हामीले साथ दिने कुरै आउँदैन। यसको पतन अनिवार्य छ, खाली समय पर्खनुपर्छ।”
नेपालले कार्यकर्तालाई निराश नहुन आग्रह गर्दै कम्युनिस्ट आन्दोलनको भविष्य अझै पनि सम्भावनायुक्त रहेको बताए। अन्तर्राष्ट्रिय रूपमा कम्युनिस्ट धारणा र आन्दोलन प्रगति गर्दै गएको उल्लेख गर्दै उनले नेकपा एमालेभित्र गम्भीर संकट रहेको समेत दाबी गरे।
उनको भनाइमा, एमालेमा अन्तर्विरोध गहिरिंदै गएको छ र पार्टी व्यक्तिवाद, अनुचित प्रवृत्ति, र दक्षिणपन्थी अवसरवादमा फसेको छ। “यस्ता प्रवृत्तिहरूलाई परास्त गरेर क्रान्तिकारी मार्क्सवादको दिशामा अघि बढ्नैपर्छ,” उनले जोड दिए।