काठमाडौँ ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) का उपकुलपति प्रा.डा. खड्ग केसीले चालु वर्षमा करिब ९० हजार विद्यार्थी ग्राजुएट हुने बताएका छन्। त्रिविको ६६औं वार्षिकोत्सवको अवसरमा बोल्दै उनले यो संख्या त्रिवि इतिहासकै सबैभन्दा ठूलो रहेको बताए।
‘ग्रेसलिस्ट तयार गरिरहेका छौं,’ उपकुलपति केसीले भने, ‘संसारका धेरै विश्वविद्यालयमा ९० हजार विद्यार्थी हुँदैनन्, हामीकहाँ यही संख्यामा ग्राजुएट हुन लागेका छन्, जुन ठूलो उपलब्धि हो।’



तर, उनले विद्यार्थी सेवामा त्रिवि अझै पनि धेरै पछाडि रहेको स्वीकार गरे। ‘पछिल्लो एक वर्षमा परीक्षाप्रणालीमा सुधार गरिएको छ,’ उनले बताए, ‘पहिले डेढ वर्षमा नतिजा आउँथ्यो, अब तीन महिनामै ल्याएका छौं। यिनै सुधारहरूले ग्राजुएट संख्या बढेको हो।’
कार्यक्रममा त्रिविका रजिस्ट्रार केदारप्रसाद रिजालले विश्वविद्यालयको भौतिक पूर्वाधार सुधार आवश्यक रहेको उल्लेख गरे। उनका अनुसार त्रिवि देशभरका ७७ वटै जिल्लामा फैलिएको छ र करिब ८० प्रतिशत विद्यार्थीलाई सेवा दिइरहेको छ। त्रिविमा अहिले ४ सयभन्दा बढी कार्यक्रम सञ्चालन भइरहेका छन्।
उपकुलपति केसीका अनुसार त्रिविसँग हाल १५७ इकाइ छन् — जसमा ६४ आंगिक क्याम्पस, ४४ केन्द्रीय विभाग, अनुसन्धान केन्द्र, डिन कार्यालय लगायत पर्दछन्। साथै, १ हजारभन्दा बढी निजी तथा सामुदायिक क्याम्पसहरूलाई त्रिविले सम्बन्धन दिएको छ।
वार्षिकोत्सव कार्यक्रममा सहकुलपति तथा शिक्षामन्त्री रघुजी पन्तको अध्यक्षता रहेको थियो। त्रिविले राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म उत्पादन गरेको र यसको स्नातकहरू विश्वभर पुगेको भन्दै विश्वविद्यालयको प्रभाव र योगदान पनि उल्लेख गरियो।