© २०२३
बुटवल, २० असार । महिलाको प्रतिनिधित्व जनसंख्याका आधारमा जरुरी रहेको लुम्बिनी प्रदेशका पूर्ब मुख्यमन्त्री लिला गिरीले बताएका छन । शंकरनगर सामुदायिक वन उपभोक्ता समूह, तिलोत्तमा रुपन्देहीद्वारा आयोजित महिला सशक्तिकरण, उद्यमविकास तथा गरिवी न्यूनिकरण सम्बन्धी दुई दिने तालिमको शुक्रबार उद्घाटन गर्दै पूर्व मुख्यमन्त्री गिरीले आरक्षणका हिसावबाट राज्यका हरेक निकाय तथा अन्य संघसस्थामा एक तिहाई महिलाहरुको प्रतिनिधित्व सुनिश्चित गरिए पनि त्यो संख्या कम रहेको भन्दै अब जनसंख्याका आधारमा महिलाहरुको प्रतिनिधित्व हुनुपर्नेमा जोड दिए । ब्यवस्थामा परिवर्तन आएपनि नागरिकको अवस्थामा परिवर्तन नआएकाले सबै क्षेत्रबाट अवस्था परिवर्तनका लागि राज्यका सबै निकायमा दवाव सिर्जना गर्नुपर्नेमा पूर्व मुख्यमन्त्री गिरीले जोड दिए ।
सामुदायिक वनका अध्यक्ष रबिन्द्र बस्नेतले वन समूहको वार्षिक कार्ययोजना अनुसार समूहका उपभोक्ता तथा पार्षद सदस्यहरुको क्षमता अभिबुद्धि, नेतृत्व विकास, गरिवी न्यूनिकरण तथा उद्यमविकास गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको बताए । कार्यसमिति तथा पार्षदमा ५० प्रतिसत महिलाहरुको सहभागिता रहेको सामुदायिक वनमा विशेष गरी महिलाहरुको नेतृत्व र क्षमता विकास गरी उनीहरुलाई सशक्तिकरण गर्ने उद्देश्यले सामुदायिक वनले समयसमयमा यस्ता कार्यक्रलाई निरन्तरता दिदै आएको अध्यक्ष बस्नेतले बताए ।
कार्यक्रममा वन तथा वातावरण सुरक्षा विज्ञ दामोदर शर्मा तिवारी, सामुदायिक वनका वरिष्ठ सल्लाहाकार टेक बहादुर थापा, उपाध्यक्ष कमला ज्ञवाली, सचिव कालिका अधिकारीलगायतले बोल्दै दुई दिने तालिमले महिला सशक्तिकरण, गरिवी न्यूनिकरण, वन विकास तथा वनको सम्वद्र्धनमा महत्वपुर्ण टेवा पुग्ने विश्वास ब्यक्त गरे ।
तालिममा मूलुकी फौजदारी संहिता र ब्यवहारिक पक्ष, योजनाको अवधारणा र स्थानीय तहमा योजना तर्जुमा प्रकृया, मुलुकी देवानी संहिताका विशेषता र ब्यवहारिक पक्ष, लैंगिक न्याय, स्थानीय तहमा नेतृत्व विकास, महिला सशक्तिकरण र महिला हिंसा, सूचनाको हक र बोल्ने कला तथा सूचनाको हक र बोल्ने कलाका विषयमा सहजीकरण गरिने समूहका कोषाध्यक्ष भूवन आचार्यले जानकारी दिए ।
तालिममा प्रमुख प्रशिक्षक लुम्बिनी प्रदेशका पूर्व मूख्य न्यायाधिवक्ता खुमकान्त पौडेल, न्यायाधिश ईश्वर पराजुली, तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, अधिवक्ता हेमा न्यौपाने, पत्रकार खिमानन्द भट्टराई र वन तथा वातावरण सुरक्षा विज्ञ दामोदर शर्मा तिवारीले सहजीकरण गरेका थिए ।
दुई सत्रमा संचालन हुने तालिममा तिलोत्तमा १ देखि ४ वडाका महिला र पुरुष पार्षद, कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३२ जनाको सहभागिता रहेको छ ।