© २०२३
सर्लाही, २० असार ।
जनता समाजवादी पार्टी (जसपा) का मधेस प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध जिल्ला अदालत सर्लाहीले शुक्रबार पक्राउ पुर्जी जारी गरेको छ। नेपाल प्रहरीका सर्लाही प्रहरी प्रमुख (एसपी) योगेन्द्रकुमार खड्कालाई धम्क्याएको आरोपमा उनीमाथि “आपराधिक उपद्रव” अन्तर्गतको मुद्दामा कारबाही प्रक्रिया अघि बढाइएको हो।
प्रहरीका अनुसार, यादवले एसपी खड्कालाई टेलिफोनमार्फत अपशब्द प्रयोग गर्दै तराईमा लुट्न आएको लुटेरा भन्दै धम्क्याएका थिए। सो अडिओ सामाजिक सञ्जालमार्फत सार्वजनिक भएसँगै घटनाले सार्वजनिक चासो बढाएको छ।
विवादको सुरुवात प्रहरीद्वारा राति सर्लाहीस्थित भौतिक पूर्वाधार कार्यालयमा सुरक्षा दिइएको विषयबाट भएको बताइएको छ। सार्वजनिक अडिओमा यादवले सो कार्यप्रति आक्रोश जनाउँदै गालीगलौज गर्दै धम्की दिएका छन्।
मधेस प्रदेशका एक प्रहरी अधिकारीले भने, “उहाँ सधैं लफडा गर्ने मान्छे हो। अहिले पनि फेरि प्रहरीलाई गाली गर्नु भएछ। सुरक्षा दिनु हाम्रो कर्तव्य हो। उहाँलाई के आपत्ति भयो, हामीलाई बुझ्न गाह्रो भएको छ।”
यसअघि पनि अध्यक्ष यादवले एक प्रदेश मन्त्रीलाई धम्क्याउने शैलीमा सन्देश पठाएको प्रमाण फेला परेको छ, जुन प्रहरीले अनुसन्धानको भागस्वरूप संकलन गरिरहेको जनाएको छ। पक्राउ पुर्जी जारी भएसँगै उनलाई चाँडै नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।