© २०२३
गुल्मी, १६ वैशाख ।
गुल्मीको चन्द्रकोट गाउँपालिकाले आयोजना गरेको तेस्रो अध्यक्ष कप अन्तरपालिका खुला वडा स्तरीय पुरुष भलिबल खेल प्रतियोगिताको उपाधि चन्द्रकोट–८ तुराङले हात पारेको छ । प्रतियोगितामा चन्द्रकोट–८ तुराङले चन्द्रकोट–५ ग्वाघालाई पराजित गर्दै उपाधि आफ्नो पक्षमा पार्न सफल भएको हो । प्रतियोगितामा उपविजेता चन्द्रकोट–५ ग्वाघा दोस्रो र बरेङ्–३ बाग्लुङ तेस्रो बनेका छन । प्रतियोगिाताको समापन कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री सुदर्शन बरालले चन्द्रकोटले खेल क्षेत्रमा महत्वपूर्ण विकास गर्दै गएको भन्दै खुसि व्यक्त गरेका थिए ।
उनले यस्ता प्रतियोगिताले युवामा सकारात्मक सोंचको विकास गर्नुका साथै समाजमा एकता र गतिशीलता ल्याउने बताएका थिए । जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण खत्रीद्वारा उद्घाटन गरिएको उक्त प्रतियोगिताको समापन बरालले गरेका हुन । तेस्रो अध्यक्ष कप भलिबल प्रतियोगितामा चन्द्रकोट गाउँपालिका भित्रका १० वटा टोली सहित मुसिकोट नगरपालिकाका, कालीगण्डकी गाउँपालिका, बरेङ गाउँपालिका र बडिगाड गाउँपालिकाका गरी १६ टोलीहरूको सहभागिता रहेको थियो ।
चन्द्रकोट गाउँपालिकाले अध्यक्ष कप भलिबल प्रतियोगितालाई खेल महोत्सवको रूपमा स्थापना गर्ने लक्ष्य लिएको गाउँपालिका अध्यक्ष युवराज केसीले बताएका छन । उनले आगामी वर्षहरूमा यसलाई अझ व्यवस्थित रूपमा भव्य र प्रतिस्पर्धात्मक बनाउने बताए । प्रतियोगितामा पहिलोहुने समूहलाई ७० हजार, दोश्रोलाई ५० र तेश्रोहुने समूहलाई ३० हजार नगद सहित मेडल, ट्रफी र प्रमाण पत्र प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्ध पौडेलले जानकारी दिएका छन । कार्यक्रममा बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा र उपाध्यक्ष भीमसेन वन लगायत स्थानीय जनप्रतिनिधि, स्थानीय राजनैतिक दलहरू, विभिन्न संघ संस्थाका प्रतिनिधि एवं सर्वसाधारणको सहभागिता रहेको थियो । पछिल्लो समयमा चन्द्रकोट गाउँपालिकाले खेल क्षेत्रको विकास थप सहयोग पुराउँदै जान थालेको छ ।