© २०२३
बुटवल ५ मंसिर ।
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि भएको मतदान कार्य सकिएपछि आईतबार रातीदेखि नै मतगणना सुरु हुने भनिएपनि रुपन्देहीमा अहिलेसम्म सुरु हुन सकेको छैन । मतगणना सुरु गर्ने तयारी गर्दै गर्दा केही राजनीतिक दल र दलका कार्यकर्ताले विवाद सिर्जना गरेका छन् । जसका कारण मतगणना सुरु हुन नसकेको हो ।
मतदान कार्य सकिएपछि आइतबार राति नै मतपेटिकालाई सुरक्षित रुपमा मतगणना स्थलमा पुर्याइएको थियो । जिल्ला निर्वाचन कार्यालयले आइतबार राति ९ बजेदेखि नै मतगणना सुरु गर्ने बताएको थियो । तर मतपेटिका पु¥याइसकेपछि दल र दलका प्रतिनिधिले विवाद सिर्जना गरेपछि मतगणना अगाडि बढ्न सकेको छैन ।
माओवादी केन्द्रका उम्मेदवार र प्रतिनिधिले विवाद सृजना गरेकाले रुपन्देही क्षेत्र नं. २ को मतपेटिकाहरु निर्वाचन अधिकृतको कार्यालय बुटवल ल्याईएपनि गणना सुरु हुन नसकेको एक उम्मेदवारले जानकारी दिए ।
उनका अनुसार सबै मतदान केन्द्रबाट मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ल्याएपछि सर्वदलीय छलफलमा निर्वाचन अधिकृत परिवर्तन गर्नुपर्ने माओवादी केन्द्रका उम्मेदवारले माग राखेपछि सहमति जुट्न नसकेको हो ।
जिल्लाका अरु निर्वाचन क्षेत्रको पनि मतगणना कार्य सुरु हुन सकेको छैन । जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्या भण्डारीले राति कुनैपनि क्षेत्रको मतगणना कार्य सुरु नभएको बताए । रुपन्देहीका पांच वटा प्रतिनिधि सभा र १० वटा प्रदेश सभा निर्वाचन क्षेत्रको मत गणना ५ वटा निर्वाचन क्षेत्रमा अलग अलग हुने छ ।
यसअघिका आम निर्वाचनमा जिल्लाका सबै निर्वाचन क्षेत्रको मतगणना जिल्ला सदरमुकाममा हुंदै आएको थियो । निर्वाचन कार्यालय रुपन्देहीका अनुसार क्षेत्र नं १ को मतगणना देवदह क्याम्पस शितलनगरमा, २ को बुटवल उपमहानगरपालिकाको पुरानो प्रशासनिक भवनमा, ३ को भैरहवा नमूना माविमा,४ को मझगावा मावि मर्चवारमा र ५ को गंैडहवा गाउपालिकाको नयां प्रशासनिक भवनमा हुने छ ।