तिलोत्तमा, १२ चैत ।
सहिद यादबनाथ आलोकको ४१ औं स्मृति दिवसको अवसरमा तिलोत्तमा नगरपालिका भलवाडी स्थित सनराईज स्पोर्ट खेल मैदानमा तेस्रो वडा स्तरीय फुटसल प्रतियोगिता आयोजना हुने भएको छ। नेपाल तरूणदल तिलोत्तमा नगरसमितीका कार्यवाहक अध्यक्ष होम पौडेलले जानकारी दिए अनुसार, यो प्रतियोगिता सहिद आलोकको सम्झनामा विगतका वर्षहरू जस्तै यस वर्ष पनि आयोजना गर्न लागिएको हो।
सहिद आलोकको योगदानलाई स्मरण गर्दै, पञ्चायती व्यवस्थामा परिवर्तन ल्याउन उनका संघर्ष र योगदानलाई अतुलनीय बताउँदै, पौडेलले भने, “यस खेलकुद प्रतियोगिताले खेलाडीहरूको पहिचानसँगै आपसी मेलमिलापलाई पनि जोड्ने काम गर्नेछ।”
मंगलबार आयोजित पत्रकार सम्मेलनमा नेपाली काग्रेसकी केन्द्रीय सदस्य रमा साहीले सहिद आलोकको योगदानको महत्त्वको कुरा गर्दै भने, “सहिद आलोक जस्ता साहसी व्यक्तिहरूको रगतले नै आजको संविधान र लोकतन्त्रको स्थापना सम्भव बनाएको हो, त्यसैले उनीहरूको सम्झना गर्नु अति आवश्यक छ।” उनले थपे, “खेलकुदमार्फत नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन र देशको पहिचान बढाउन सहयोग पुग्ने छ।”
कार्यक्रममा सहिद आलोक स्मृति केन्द्रका अध्यक्ष हेमराज अर्यालले सहिद आलोकको योगदान सम्झन आवश्यक रहेको बताए र स्मृति दिवसको दिन शैक्षिक सामग्री वितरण र पुस्तकालय स्थापना गर्ने योजना सार्वजनिक गरे। सचिव अमृत भट्टराई र तरूणदलका पूर्व अध्यक्ष चिरन्जीबी पौडेलले पनि सहिद आलोकको योगदानको कदर गर्दै, उनका योगदानलाई भविष्यमा पनि सम्झिरहनुपर्ने महत्त्वपूर्ण कुरा राखेका छन्।
प्रतियोगितामा पहिलो स्थान हासिल गर्ने टोलीलाई नगद ३० हजार, कप, मेडल र प्रमाणपत्र दिइनेछ, भने दोस्रो स्थानका टोलीलाई १५ हजार नगद, कप, मेडल र प्रमाणपत्र प्राप्त हुनेछ। साथै, विदागत उत्कृष्ट खेलाडी, गोलरक्षक र उच्च गोल स्कोर गर्ने खेलाडीलाई नगद १५००, कप र मेडल प्रदान गरिनेछ। प्रतियोगितामा तिलोत्तमा नगरपालिकाका १७ वडाहरूको सहभागिता रहने आयोजकले जानकारी दिएका छन्।