Butwal Today

नेपाल–जापानबीच आयात–निर्यातको सम्बन्ध विकसित हुन थालेको छ- प्रधानमन्त्री ओली

१६ फाल्गुन २०८१, शुक्रबार
अ+
अ-

काठमाडौँ।

प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो नेपाल–जापान फ्रेन्डसिप समिट–२०२५ को अवसरमा नेपाल र जापानबीचको सम्बन्ध अझ विस्तार गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गरेका छन्।

आज बालुवाटारमा जापानी टोली र नेपाली समन्वयकर्ताहरूसँग भएको भेटमा प्रधानमन्त्री ओलीले नेपाल र जापानबीचको सरकार–सरकार र जनता–जनताबीचको सम्बन्ध अहिले आयात–निर्यातको क्षेत्रमा पनि विकसित हुन थालेको बताएका छन्। उनले भने, “नेपालीहरू जापानमा राम्रो रोजगारीका लागि गएका छन्। नेपालको फापर जापान पुगेको छ र जापानबाट गोल्डन ट्राउड नेपाल भित्रिएको छ। जनस्तरमा यस्ता उत्कृष्ट सम्बन्धका अनेक आयाम छन्।”

प्रधानमन्त्री ओलीले नेपाल र जापानबीचको मित्रता साकुराको फूलजस्तै लटरम्म फुलेको उल्लेख गर्दै, यो सम्बन्ध अब विकास र साझेदारीको नयाँ उचाइमा पुर्याउन सूचना प्रविधिको सहयोगमा अघि बढाउनुपर्ने बताए।

साथै, उनले जापानको उदाहरण दिनु हुँदै युद्धले विनास र शान्तिले विकास ल्याउँछ भन्ने कुरा जोड्दै भने, “हामी सबैको चाहना शान्ति र समृद्धिको हो, र यसका लागि हामी सक्रिय प्रयासरत छौं।”

आयोजना आयोजकहरू अनुसार, नेपालमा १४ देखि १६ फागुनसम्म समिटको आयोजना लिडएक्स नेपाल र फोर्थ ल्भीएको सहयोगमा भएको हो।