© 2026
दाङ, १५ फागुन ।
महाशिवरात्रि पर्वको अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दाङको पवित्र धार्मिक तीर्थस्थल पाण्डवश्वर धाम धारपानीको मूल मन्दिरमा पूजा–अर्चना गरेका छन्।
घोराही उपमहानगरपालिका – ५ स्थित धारपानी मन्दिरमा आयोजित विशेष पूजामा मुख्यमन्त्री आचार्यले सहभागिता जनाए थिए। सो अवसरमा नेपाली सेनाको एक टुकडीले त्रिशूललाई सलामी अर्पण गरेको थियो। कार्यक्रममा लुम्बिनी प्रदेशका ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री सिता शर्मा, प्रदेशसभा सदस्य लोका विश्वकर्मा, घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरी, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल लगायतको विशेष उपस्थिति रहेको थियो।
धार्मिक तथा ऐतिहासिक रूपमा महत्वपूर्ण मानिने पाण्डवश्वर धाम महाभारतकालमा पाण्डवहरूले वनवासका क्रममा तपस्या गरेको स्थल भनेर प्रसिद्ध छ। यही धार्मिक मान्यताका कारण यस स्थानलाई ‘पाण्डवश्वर धाम’ नामकरण गरिएको हो।
विशेषगरी महाशिवरात्रि, हरितालिका तीज, बालाचतुर्दशी लगायतका हिन्दू पर्वहरूमा यहाँ भक्तजनको ठूलो घुइँचो लाग्ने गर्छ। धार्मिक आस्थाको केन्द्र मात्र नभई प्राकृतिक रूपमा समेत आकर्षक गन्तव्य रहेको यस धामको प्राचीन गुफा, जलस्रोत र हरियाली वातावरण पर्यटकहरूलाई लोभ्याउने प्रमुख विशेषता हुन्।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले घोराही उपमहानगरपालिका–१३ स्थित विपश्यना ध्यान केन्द्रको अवलोकन गरेका छन्। उनले विपश्यना ध्यानले मानसिक तथा शारीरिक स्वास्थ्य प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने बताए।
केन्द्रमा प्रत्येक महिनामा १० दिवसीय शिविर, पुराना साधकहरूका लागि एकदिवसीय शिविर, र बालबालिकाका लागि छुट्टै एकदिवसीय शिविर सञ्चालन हुँदै आएका छन्। अध्यक्ष रामबहादुर खड्काका अनुसार आगामी वर्षमा थप शिविर सञ्चालन गर्ने योजना छ।
हालसम्म केन्द्रले विभिन्न शिविरहरू सञ्चालन गरी एक हजारभन्दा बढी व्यक्तिलाई लाभान्वित गरिसकेको छ।