© 2026
रोल्पा, १२ फागुन ।
नेपाली काँग्रेसका महामन्त्री गगन थापाले हिंसा जहिल्यै पनि गलत हुने बताएका छन । हिंसा हिजो पनि गलत थियो, आज पनि गलत छ र भोलि पनि गलत नै हुनेछ महामन्त्री थापाले भने । विभिन्न समयमा नेपाली काँग्रेसले पनि बन्दुक उठाएको प्रसंग उल्लेख गर्दै काँग्रेसले उठाएको बन्दुक सर्वधारण मार्नका लागि प्रयोग नभएको बताए ।नेपाली काँग्रेस रोल्पाको दोश्रो जिल्ला सम्मेलनको अवसरमा सदरमुकाम लिवाङमा आयोजित आमसभामा बोल्दै महामन्त्री थापाले भने, काँग्रेसले व्यक्ति हत्या नगरेकाले बन्दुक उठाए पनि हिंसा गरेको थिएन । काँग्रेसले उठाएको बन्दुक केवल सेना प्रहरी संग लड्नको लागि प्रयोग भएपनि अहिले आएर समीक्षा गर्दा बन्दुक उठाउन पनि गलत भएको निश्कर्षमा काँग्रेस पुगेको छ महामन्त्री थापाले भने । काँग्रेसले बन्दुक उठाउँदा निरंकुश शासन थियो, सभा सम्मेलन गर्न मात्र हैन बोल्न समेत नपाइने व्यवस्थाको विरुद्ध काँग्रेसले उठाएको बन्दुक र २०४६ सालको राजनैतिक परिवर्तन पछि नेकपा माओवादीले उठाएको बन्दुकको तुलना हुन नसक्ने बताए ।
काँग्रेस यो देशको जिम्मेवार पार्टी भएकाले हिंसामा रहेका माओवादीलाई काँग्रेसकै अगुवाईमा शान्ति प्रकृयामा ल्याएको बताए । संसद पुनस्र्थापनासँगै एमाले सरहको हैसियत दिएर माओवादीलाई संसदीय मुलधारमा ल्याएको महामन्त्री थापाको भनाइ थियो । २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा माओवादी भन्दा धेरै सानो दल भएर पनि काँग्रेस नमात्तिएको बताउँदै उत्तेजनाको राजनीति र विवेकको राजनीतिमा धेरै अन्तर हुने बताए । काँग्रेस उत्तेजनाको हैन विवेकको राजनीति गर्न चाहान्छ महामन्त्री थापाले भने ।२०७९ को निर्वाचनमा गरिएको गठबन्धनले काँग्रेस, माओवादी, एकीकृत समाजवादीलाई २०८४ सम्म जान म्याण्डेट दिएको भएपनि प्रचण्डको चकचक गर्ने वानीका कारण उक्त सरकार ढलेको बताए । काँग्रेस संग गठबन्धन गरेर चुनाव जित्ने अनि एमालेसँग मिलेर सरकार बनाउने गरी प्रचण्डले गरेको उप्रदोका कारण सरकार ढलेको महामन्त्री थापाको भनाइ थियो ।
वर्तमान सरकार काँग्रेसको छनौटको सरकार नभएपनि निर्वाचन प्रणालीका कारण मुख्य प्रतिस्पर्धी दल नेकपा एमालेसँग मिलेर सरकार बनाउन वाध्य भएका छौं महामन्त्री थापाले भने । अब यो सरकार काँग्रेसको चकचकका कारण ढल्दैन, २०८४ सम्मै जान्छ थापाले भने । काँग्रेस जे भन्छ त्या गर्छ त्यसैले सरकार काँग्रेसका कारण तलमाथि हुदैन थापाले भने ।
काँग्रेस एमाले गठबन्धन सरकारको लागी अझै तीन वर्ष बाँकी रहेको बताउँदै काम गर्न चाहानेहरूका लागि यो यथेष्ट समय हो महामन्त्री थापाले भने । २०८४ सालको निर्वाचनमा काँग्रेसले घोषणा पत्र हैन रिपोर्ट कार्ड लिएर जानुपर्छ महामन्त्री थापाले भने । अहिले सम्म घोषणा पत्र लिएर जनतासँग मत माग्न गइयो, अब हामीले यति काम ग¥यौं भनेर रिपोर्ट कार्ड लिएर मतदाताकोमा जानुपर्छ महामन्त्री थापाले भने ।
आमसभामा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य उमेशजंग रायमाझीले रोल्पाका विभिन्न ठाउँहरूमा जनयुद्ध स्मृती भ्यूटावरहरू वनेको उल्लेख गर्दै ती भ्यूटावरहरूलाई शान्ति भ्यूटावरको रूपमा रूपान्तरण गर्न आग्रह गरे । युद्ध स्मरण गर्ने विषय हैन त्यसकारण युद्ध स्मृती भ्यूटावरको ठाउँमा शान्ति भ्यूटावर वनाउनुस रायमाझीले भने ।सभाको अर्का वक्ता नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सय दिने अभियानका लागि रोल्पा जिल्लामा खटिनु भएकी केन्द्रीय प्रतिनिधि राधा घलेले रोल्पा द्वन्द्वका क्रममा १२३ जना कार्यकर्ता गुमाएको बताईन । आफ्नो जीवन आहुति दिएर पनि रोल्पाली काँग्रेसले प्रजातन्त्र बचाई राखे, काँग्रेस हुनुको यो भन्दा ठूलो कुरा के हुन्छ घलेले प्रश्न गरिन ।
सभामा नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री तथा लुम्बिनी प्रदेश सभा सदस्य निमा गिरी, नेपाली काँग्रेस गण्डकी प्रदेश सभा सदस्य डिल्लीराम सुवेदी, नेपाली काँग्रेस सल्यानका सभापति केशवहादुर विष्ट र नेपाली काँग्रेस हुम्लाका सभापति मोहनविक्रम सिंहले मन्तव्य व्यक्त गरेका थिए । नेपाली काँग्रेस रोल्पाका सभापति किशोरकुमार आचार्य, उपसभापति हरिवहादुर पुन, काँग्रेस रोल्पाका सचिव शेरवहादुर थापा लगायतले बोलेका थिए ।