Butwal Today

माघ महिनामा आगलागीमा २२ जनाको मृत्यु

९ फाल्गुन २०८१, शुक्रबार
अ+
अ-

काठमाडौं, ९ फागुन ।

नेपालमा माघ महिनामा आगलागीका कारण २२ जनाको ज्यान गएको छ। नेपाल प्रहरीको तथ्याङ्क अनुसार देशभर ४ सय ७८ वटा आगलागीका घटनामा ११ पुरुष, १० महिला र एक बालकको मृत्यु भएको हो।

माघ महिनामा आगलागीका कारण ८७ जना घाइते भएका छन्, जसमा २६ पुरुष, ५४ महिला, ४ बालक र ३ बालिका छन्। यसैगरी, आगलागीमा परी २४७ चौपाया मरेका छन्।

प्रदेशगत रूपमा कोशी प्रदेशमा सबैभन्दा धेरै १ सय २९ वटा आगलागीका घटना भएका छन्। त्यसपछि मधेशमा ८९, बाग्मतीमा ४२, गण्डकीमा ३९, लुम्बिनीमा ६३, कर्णालीमा ३२ र सुदूरपश्चिममा ४७ वटा आगलागीका घटना भएका छन्। काठमाण्डौ उपत्यकामा भने ३७ वटा आगलागीका घटनाहरू सार्वजनिक भएका छन्।

आगलागीबाट ६८ घर र ६६ गोठमा क्षति पुगेको र १७ जना विस्थापित भएको जानकारी पनि प्रहरीले दिएको छ। यसका कारण कुल १८ करोड ४८ लाख ८१ हजार रुपैयाँ बराबरको क्षति भएको छ।

यस वर्ष हिउँदको सुक्खा मौसमले डढेलो र आगलागीका घटनामा वृद्धि गरेको पाइन्छ। जलवायु परिवर्तनका कारण प्राकृतिक विपद्का घटनामा वृद्धि भएको र समयानुकूल कानून परिमार्जनको आवश्यकता रहेको विज्ञहरूले औंल्याएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?