© २०२३
चन्द्रौटा (कपिलवस्तु), ८ फागुन ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले पछिल्लो समयको शिक्षाको पाठ्यक्रम परिमार्जनको आवश्यकता रहेको बताएका छन् । कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नम्बर–१, गुगौलीमा रहेको दुधाधारी नमुना माध्यमिक विद्यालयको १५ कोठे भवन उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
नेपालको शिक्षालाई व्यवहारिक र व्यवसायिक बनाउनुपर्ने आवश्यकता रहेको बताउँदै पछिल्लो समय नकारात्मक भ्रम फैलाइएको दाबी गर्दै वास्तविकता बुझ्न सबैलाई आग्रह गरे । शिक्षा प्रणालीलाई साधारणबाट व्यवसायिक बनाउनु पर्ने पोखरेलले बताए । “युवाहरूलाई आत्मनिर्भर बनाउन व्यवसायिक शिक्षा नै प्रमुख उपाय हो,“ उनले भने । त्यसैले अब हाम्रो ध्यान व्यवहारिक सीप सिकाउने शिक्षामा जानुपर्ने बताउँदै देशको अवस्थाबारे भ्रम सिर्जना गर्न खोजिएको उनले बताए ।
“नेपालमा केही छैन भन्ने सोच्नुहोस्, यहाँ थुप्रै अवसरहरू छन् । तर त्यसलाई पहिचान गरेर सदुपयोग गर्नुपर्छ” उनले भने । मुलुक विकास र समृद्धिको यात्रामा अघि बढिसकेको उल्लेख गर्दै निरन्तर सकारात्मक सोच राखेर लाग्नुपर्ने उनले बताए । आफ्नो कार्यकालमा कपिलवस्तु जिल्लाका विभिन्न पूर्वाधार योजनाहरू अघि बढाएको उनले उल्लेख गरे । हुलाकी मार्ग, चन्द्रौटा–कृष्णनगर सडक, बुटवल–गोरुसिंगे सडक लगायतका विकास आयोजहरूमा आफूले विशेष पहल गरेको उनले जिकिर गरे ।
परियोजनाहरूले कपिलवस्तुको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्याउने उनको भनाइ छ । शिक्षा, पूर्वाधार र रोजगारीका अवसरहरू सिर्जना गर्न निरन्तर लागिरहनुपर्ने उनले बताए । कपिलवस्तु शिक्षाको दृष्टिले केही पछाडि रहे पनि अहिले सबै पक्षबाट सुधार भइरहेको महासचिव पोख्रेलले बताए । शैक्षिक संस्थाहरूको शिक्षालाई नवीनतम प्रविधिसँग जोडेर अघि बढाउनुपर्नेमा उनले जोड दिए ।