© २०२३
बुटवल, २८ कात्तिक ।
निर्वाचनको मिति एक हप्ता बाँकी रहदा रुपन्देहीमा नमुना मतदान तथा अभिमुखीकरण कार्यक्रम गरिएको छ । जिल्ला निर्वाचन कार्यालय, रुपन्देहीको आयोजनामा रुपन्देही क्षेत्र नं. २ का मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई लक्षित गरी कान्ति माविमा एक दिने नमुना मतदान तथा अभिमुखिकरण कार्यक्रम गरिएको हो ।
जिल्ला निर्वाचन अधिकारी अयोध्याप्रसाद भण्डारीले निष्पक्ष, भयरहित र ब्यवस्थित तरिकाले निर्वाचन सम्पन्न गराउने कर्मचारीहरुलाई अभिमुखिकरण गरिएको बताए । अभिमुखिकरणमा १ सय ३३ मतदान अधिकृत र १ सय ३३ सहायक मतदान अधिकृतहरु सहभागी रहेको उनले बताए ।
मतदान केन्द्रमा मतदान सुरुवात गर्दा मतपेटिकाको ब्यवस्थापन, मतपत्रबारे जानकारी, स्वस्तिक छापको प्रयोग, सुरक्षा समन्वयका कुराहरु जानकारी गराईएको उनले बताए । निर्वाचन सम्पन्न भएपछि निर्वाचन अधिकृतको कार्यालयसम्म मतपेटिका ल्याउदासम्मका तयारीसमेत भएको उनले बताए । क्षेत्र नं २ मा रामनगर ब्यारेक र सैन्य तालिम गण सैनामैनामा गरि २ वटा अस्थायीसहित १ सय ३३ मतदान केन्द्रहरु छन् ।